बहुमुखी प्रतिभा डा. भोला रिजाल

बहुमुखी प्रतिभा डा. भोला रिजाल

दुर्गानाथ शर्मा

डा. भोला रिजाल । एक सिद्धहस्त स्त्री रोग विशेषज्ञ । एक कुशल गीतकार । एक कुशल गायक । कुशल कथाकार । चलचित्र निर्माता । यस्ता धेरै क्षेत्रमा नाम कमाइसकेका डा. भोला रिजाल अत्यन्तै सहयोगी, कहिल्यै नरिसाउने, सदा हँसिलो रहने गुणहरूबाट पनि सुशोभित हुनुहुन्छ ।

                डा. भोला रिजालसित मेरो भेट भएको दिनको मलाई सम्झना छैन । उहाँ र मेरो साइलो दाइ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले वनारसको आदर्श कलेजमा सँगै आईएससी अध्ययन गर्नुभएको हो । मैले डा. रिजाललाई मेरो दाइमार्फत नै चिनेको हुँ । सन् १९६३ तिर हो–उहाँहरू दुवै वनारसमा दुई वर्ष अध्ययनमा हुनुहुन्थ्यो । मेरा दाइ लक्ष्मीनाथ शर्मा बेलाबेलामा छुट्टीमा घर आउँदा उहाँले आफ्ना मित्र रिजालका प्रसंग कोट्याउनुहुन्थ्यो । उहाँहरू कलेजका कार्यक्रममा सँगै गीत गाउने पनि गर्नुहुन्थ्यो रे, पछि काठमाडौं आएपछि भोला रिजालले, लक्ष्मीनाथ शर्मालाई सँगै गीत रेकर्ड गरौं पनि भनेको हो रे । तर उहाँले गीत गाउन रुचाउनुभएन । भोला रिजाल पढाइकासाथ गीत गाउने, गीत लेख्ने जस्ता काम पनि गर्नु हुँदो रहेछ त्यसै बेलादेखि । उहाँका यिनै स्वभाव क्रमशः विकसित हुँदै गएर उहाँ एक कुशल गायक, गीतकार बन्नुभयो । तर मेरो दाइ चाहिँ ‘विज्ञान’को पढाइ छाडेर चलचित्र निर्देशनको क्षेत्रतिर लाग्नुभयो । शायद उहाँले पनि आईएससी राम्रो गर्न सकेर फर्कनुभएको भए, शायद हुन सक्थ्यो–उहाँ पनि एक चिकित्सक भएर आज डा. रिजालसँगै सेवा गर्नेहरूको समूहमा संलग्न हुनुहुन्थ्यो । तर डाक्टर हुन नसके पनि दुवैजनाको चलचित्र चाहिँ साझा क्षेत्र हुन सकेको छ ।

उहाँ गीतकार र गायकका रूपमा अत्यन्त लोकप्रिय हुनुहन्छ । उहाँको पहिलो गीत ‘मेरो पौवा पाटीलाई……’ नेपाली संगीतका क्षेत्रमा निकै लोकप्रिय मानिन्छ । उहाँले बंगलादेशको ढाकाबाट डाक्टरी गरेर आउने बित्तिकै रेकर्ड गर्नुभएको यो गीतले उहाँको राष्ट्र प्रेम मात्र झल्कँदैन, नेपालका ग्रामीण परिवेशप्रतिको उहाँको माया पनि झल्किन्छ । सगरमाथा रोइरहेछ गीतले नेपालको वर्तमान अवस्थाको यथार्थ चित्रण गरेको छ ।

उहाँले मन मिलेका साथीहरूसित मिलेर चलचित्रको एउटा निर्माण कम्पनी मानसरोवर चलचित्र निर्माण कम्पनी गठन गर्नुभयो । यो चलचित्र उत्पादन कम्पनीले लक्ष्मी पूजा, छोरी बुहारी, साथीजस्ता आठवटा चलचित्र निर्माण गरेको छ ।

यी चलचित्रमध्ये सबैभन्दा बढी व्यावसायिक सफलता चाहिँ ‘साथी’ले ६ महिनाभित्र डेढ करोड रुपैयाँ कमाइदियो संयोगवश ‘साथी’को निर्देशन चाहिँ डा. रिजालको वनारस पढ्दाका मित्र लक्ष्मीनाथ शर्माले नै गर्नुभयो । शर्मा वनारसबाट फर्के पनि भारतको पूना गएर चलचित्र निर्देशनमा ‘डिग्री’ लिएर फर्कनुभएको थियो र उहाँले पहिलो निर्देशन गरेको चलचित्र ‘बदलिँदो आकाश’सित नेपाली दर्शक परिचित भइसकेका थिए । साथीको कथा र गीत पनि डा. रिजालले नै लेख्नुभएको हो ।

कथानक चलचित्रका अतिरिक्त उहाँले गीति चलचित्र ‘गौथली’ निर्माण गर्नुभयो । जसमा बाल विवाह, कलिलै उमेरमा बच्चा जन्माउँदा नारीले झेल्नुपर्ने पीडा र वेदनालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । ‘गौथली’ मा डा. रिजालको कलाकारितासँगै एक चिकित्सकको दृष्टिकोण पनि राम्ररी प्रस्तुत भएको छ ।

डा. रिजालसँग मेरो व्यावसायिक सम्बन्ध पनि छ । उहाँ एकताका ढाकामा अध्ययन गर्नु हुँदा बंगलादेश रेडियोमा नेपाली समाचार पढ्नु हुन्थ्यो । म पनि त्यसबेला रेडियो नेपालमा समाचार पढ्थें । मैले उहाँको समाचार वाचन ढाका गएको बेला सुनेको हुँ । यसरी हामीले एक अर्कालाई समाचार ‘प्रसारक’ का रूपमा पनि चिनेका हौं ।

उहाँ छात्रवृत्ति (कोलम्बो योजना) पाएर ढाकामा एमबीबीएस पढ्न जानुभएको थियो । त्यसबेला बंगलादेशको जन्म भइसकेको थिएन (पूर्वी पाकिस्तान नै थियो । पूर्वी पाकिस्तान जब बंगलादेश भयो, त्यसपछि उहाँ केही समय कराँची जानुभयो । तर फेरि उहाँलाई पहिले आफूले सुरु गरेकै ढाका कलेजमा चिकित्साशास्त्र नै पढ्न पठाइयो ।

ढाकाबाट डाक्टर भएर फर्केपछि उहाँले काठमाडौं वीर अस्पतालमा केही समय काम सिक्नुभयो । सरकारी डाक्टर भएकाले उहाँले नेपालका विभिन्न भागमा गएर पनि आफ्नो सेवा प्रदान गर्ने अवसर पाउनुभएको छ । यसरी देशका अन्य भागमा आफ्नो सेवा प्रदान गरेर काठमाडौं फर्केपछि उहाँले विभिन्न क्लिनिकमा पनि काम गर्नुभएको छ ।

उहाँले शिक्षण अस्पताल, महाराजगञ्जमा पनि स्त्री रोग विशेषज्ञ’का रूपमा काम गर्नुभयो । काम गर्दागर्दै उहाँ त्यहाँको निर्देशक पनि हुनुभयो । त्यसबेला शिक्षण अस्पतालमा काम गर्ने डाक्टरहरूले अन्यत्र निजी क्लिनिकहरूमा काम गर्न नपाउने गरी ‘भत्ता’को व्यवस्था पनि गरियो ।

यो निर्णयले उहाँमा एउटा अर्कै विचार आयो । उहाँले त्यसैबेला आफ्ना मन मिलेको केही मित्रहरूसित मिलेर कमलपोखरीमा ‘ओम नरसिङ होम’ निजी क्लिनिक स्थापना गरेर सरकारी जागिर छाडिदिनुभयो ।

मिहिनेतको फल राम्रै हुन्छ भन्ने उखानलाई ‘ओम नरसिङ होम’ले चरितार्थ ग¥यो । कुशल चिकित्सकहरूको समूह, हरेकको इमानदारी र परिश्रमको नतिजा थियो –दिनहुँ ओमको लोकप्रियता बढ्दै गयो । राजधानीमा निजी क्लिनिकहरूको भीडमा यो टड्कारो देखियो । शायद यही सफलताबाट होला अहिले चावहिलमा एउटा भव्य ‘ओम नरसिङ’ अस्पताल तथा रिसर्च सेन्टरका रूपमा खडा छ । कमलपोखरीमा सुरुमा छँदा डा. रिजालका सहयोगीहरू डा. आनन्द श्रेष्ठ, डा. मुडभरी आदि अझै एक ढिक्का छन् । दुई जना नेपाली मिलेर काम गर्न सक्तैनन् भन्ने भनाइलाई ‘ओम नरसिङ’ अस्पतालले गलत साबित गरिदिएको छ ।

उहा“ गीतकार र गायकका रुपमा अत्यन्त लोकप्रिय हुनुहन्छ । उहा“को पहिलो गीत मेरो पौवा पार्टी नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चित छ  

पछिल्लो समयमा आएर ओम नरसिङ अस्पताल तथा अनुसन्धान केन्द्रले ठूल्ठूला सफलता हासिल गरेर चिकित्साका क्षेत्रमा नाम पनि कमाउन थालेको छ । टेस्टट्युब बेबी यी सफलताको क्रममा एउटा कोसेढुंगा साबित भएको छ । डा. रिजालको सक्रियतामा नेपालमा टेस्टट्युब बेबीको प्रक्रिया

ओम’ अस्पतालबाटै सुरु भएको हो । अहिलेसम्म सयौंको संख्या नाघिसकेको टेस्टट्युब बेबीको पद्धतिबाट नेपालका कयौं सन्तानविहीन महिलाले सन्तानको सुख भोग्न पाएका छन् । नेपाली परम्परामा सन्तान अनिवार्य मानिन्छ । नेपालमा कयौं आमा र बाबु छन् जो सामान्य कारणबाट निसन्तान रहेका छन् । सामाजिक मान्यता, परम्परागत रुढीवादीका कारण अस्पताल जान नसकेका तर सन्तानोत्पादनको क्षमता भएका कयांै जोडीलाई सन्तान दिलाउने सफलता पाएपछि आज ‘ओम’ अस्पताल र डा. रिजाल ती जोडीका भगवान् मात्र साबित भएका छैनन् राष्ट्रले नै गर्व गर्न सक्ने अवस्थाको सिर्जना भएको छ ।

उहाँहरू अर्थात् ओम अस्पताल अब टेस्टट्युब बेबीको सफलतापछि क्यान्सर अस्पतालको स्थापनामा लागेको छ । निश्चय पनि यो उहाँहरूको अर्को इमानदार कदमले पनि सफलता पाउनेछ । ओमको विशेषता एकपछि अर्को कार्यक्रम ल्याउने र सफल पार्ने हो । नर्सहरूको आवश्यकता र जनशक्तिलाई ध्यानमा राखेर नर्सिङ अध्ययनको अवसर पनि प्रदान गरिएको छ । नर्स बनेर ‘नाइटिंगेल’ हुने सपना पालेका हजारौं हाम्रा चेलीहरूलाई ओम अस्पतालले यो अवसर पनि दिएको छ । डा. भोला रिजालसँग मेरो भेट धेरै हुन्छ । एक त आफ्नो परिवारका बिरामी लिएर उहाँसामु गइरहनुपर्छ, त्यसै भेट हुन्छ ।

उहाँका गीतहरू प्रसारण गर्ने क्रममा म नेपाल टेलिभिजनमा काम गर्दाका दिनहरूमा पनि भेट हुन्थ्यो । उहाँले आफ्ना हरेक कार्यक्रममा मलाई निम्तो गर्न छुटाउनुहुन्न । यिनै कारणले मेरो उहाँसित भेट भइ नै रहन्छ । हामी परिवारका एकै सदस्य जस्ता भएका छौं । तर जब म कुनै काम विशेषले उहाँलाई भेट्न अस्पताल जान्छु, मलाई एउटै प्रश्नले सधैं घच्घच्याइरहन्छ । त्यो के भने उहाँ झन्डै बिहान ५ बजे अस्पताल पुगिसक्नुहुन्छ । बिहान ११÷१२ बजेसम्म उहाँ शल्यक्रियामा र बिरामीहरू हेर्ने काममा व्यस्त हुनुहुन्छ । त्यसपछि उहाँ ओपीडीमा भेटिनु हुन्छ । उहाँको कोठा अगाडिको भीड देख्ता कुनबेला सिद्धिन्छ होला यो भीड जस्तो लाग्छ । उहाँ राति ८÷९ बजेतिर घर फर्कनुहुन्छ । यो उहाँको प्रायः दैनिक क्रियाकलाप हो । अब यस्तो स्थितिमा उहाँले गीत, गायन र चलचित्रलगायत अन्य कार्य कुनबेला गर्नुहुन्छ ? उहाँलाई यी अतिरिक्त कामको समय कुनबेला मिल्छ ? राति ? होइन । यही प्रश्नले सधैं मलाई सोधिरहेको हुन्छ । तर झन् उहाँ अहिले त भजनतिर पनि लाग्नुभएछ । उहाँका भजनका क्यासेटसमेत बजारमा आउन थालेका छन् । बरु चलचित्रबाट चाहिँ उहाँले विश्राम लिनु भए जस्तो छ । अहिले मानसरोवर चल्मलाएको छैन, त्यसैले तरंग पनि छैन । उहाँ अहिले धार्मिक हुनुभएछ । मुक्तिनाथका कुरा गर्नुहुन्छ । भजन गाउनुहुन्छ । सफलताहरूका चुलिमा पुगेपछि मानिस आध्यात्मिक हुन्छ भन्थे, सायद त्यही होला ।

कोहीकोही बेला मलाई अचम्म लाग्छ, डा. रिजाललाई सम्झँदा † एउटा डाक्टर जसको धेरैजसो समय बिरामीहरूसित पीडा र यातना बाँडेर बित्छ, जसलाई जसो समय रगतसित खेल्नुपर्छ, जसले दुःख, पीडा र घाउ हेरेर बस्नुपर्छ, दुःखका कथा सुन्नुपर्छ । वेदनामा छटपटाइरहेकाहरूलाई बाँच्ने हुटहुटी दिइरहनुपर्छ, जीवनका लागि प्रोत्साहित गरिरहनुपर्छ । त्यस्तो डाक्टर जो लाशहरूसित खेल्छ, मृत्युलाई जसले नजिकबाट देखेको छ । जो प्रत्यक्षदर्शी हुन्छ, त्यस्तो व्यक्तिको मुटु कति दरो हुन्छ होला र यस्ता अथाह दुःखमा पौडने व्यक्ति निष्ठुरी त

हुँदैन ? तर होइन, यस्तो व्यक्तिसँग पनि भावुक मुटु हुन्छ र त्यो मुटुमा माया र स्नेहको आफ्नोपनको रगत पनि बगिरहेको हुन्छ त्यस्तो व्यक्तिमा पनि राष्ट्रियता र देशलाई केही हुँदा दुख्ने हृदय हुन्छ । कसैको दुःखमा ऊ पनि रुन्छ, देशमा अशान्ति देख्ता ऊ शान्तिलाई बोलाउँछ । यस्तो विपरीत चरित्र पनि सँगालेका डा. भोला रिजालका प्रतिभालाई मूल्यांकन गर्ने जो कोही पनि उहाँको जीवनबाट प्रभावित हुन्छन्, आकर्षित हुन्छन् ।

नेपालका लागि यस्ता प्रतिभाशाली व्यक्तिहरूको आवश्यकता छ । डा. रिजालबाट अरू आउँदा कयौं वर्ष यस्तै प्रतिभा प्रदर्शनबाट रोगीहरूले सेवा मात्र होइन संगीत, गीत र चलचित्रका फाँट पनि लाभान्वित हुँदै जाऊन् भन्ने कामना गर्छु । डा. रिजालको उत्तरोत्तर प्रगतिको शुभकामना †