अबको चुनौती

अबको चुनौती

डा. अमर गिरी

(कवि एवं समालोचक डा. अमर गिरी माक्र्सवादी चिन्तक पनि हुन् । हाल उनी नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं काव्य विभाग प्रमुख छन् । प्रस्तुत छ, उनीसँग साहित्य, संस्कृति, समकालीन राजनीतिलगायत विविध विषयमा प्रतिरोध कार्कीले गरेको संवाद उनकै भाषामा ।)

फेरिएको परिस्थिति

परिस्थिति फेरिएको छ । संविधान नै निर्माण हुन्न कि भन्ने थियो, भयो । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि हुन्छ कि हुन्न भन्ने आशंका थियो । विविध अप्ठ्याराहरूलाई चिर्दै तीनै तहको निर्वाचन सम्पन्न भएको छ । कठिन र बलिदानपूर्ण सङ्घर्षको परिणामस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको थियो । संविधान निर्माणको यात्रा पनि सहज रहेन । छिमेकीको कठोर नाकावन्दीको समेत सामना गर्नुप¥यो । बाह्य र आन्तरिक चुनौतीहरू अहिले पनि छन् । अलिकति भोलि पनि रहनेछन् । राजनीतिक स्थायित्व, परिवर्तन र समृद्धिको यात्रा एवं नयाँ नेपाल निर्माणका निम्ति साहसपूर्वक यस्ता चुनौतीहरूको  सामना गर्नुपर्नेछ ।
०६२–०६३ सालको महान् जनआन्दोलनबाट ऐतिहासिक परिवर्तन भएको छ । आधारभूत रूपमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको छ । संविधानसभाबाट निर्मित संविधानको अन्तर्वस्तुले नै यस यथार्थलाई स्पष्ट गर्छ । संविधान निर्माणमा वामपन्थीहरूको केन्द्रीय भूमिका नरहेको भए यस्तो संविधानको निर्माण सम्भव थिएन । संविधानको मर्मअनुसार नेपाली समाजलाई अग्रदिशा प्रदान गर्नु र परिवर्तनका बाँकी कार्यभारलाई पूरा गर्नु यतिबेलाको दायित्व हो । संविधानले हामीलाई नेपाली समाजको आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक परिवर्तन गर्दै समाजवादतर्फ अघि बढ्न बाटो खोलेको छ । वामपन्थीहरूले नै यस ऐतिहासिक कार्यभारलाई पूरा गर्न सक्छन् ।

वामपन्थी गठबन्धन र पार्टी एकता

वामपन्थी गठबन्धन र पार्टी एकताको सहमति नेपाली राजनीतिको एक महŒवपूर्ण घटना हो । वामपन्थी राजनीतिमा त यसको धेरै महŒव रहेको छ । वामपन्थी गठबन्धनले निर्वाचनमा प्राप्त गरेको ऐतिहासिक विजय यसकै परिणाम हो । जहाँसम्म पार्टी एकताको कुरा छ, यो सोचे जति सजिलो छैन । दुवै पार्टीका बीचमा वैचारिक, राजनीतिक मतभेदहरू छन् । आ–आफ्ना राजनीतिक र सांगठनिक इतिहास एवं अनुभवहरू छन् । दुवै पार्टीबीच तिक्ततापूर्ण सम्बन्धको इतिहास पनि छ । एकीकृत पार्टी निर्माण गर्दा नेता, कार्यकर्ताहरूको व्यवस्थापनमा आउने अनेकांै जटिलताहरू पनि छन् । गठबन्धनको अभ्यासबाट पार्टी एकताका निम्ति वातावरण निर्माण गर्दै अघि बढ्न सकेको भए एकताका निम्ति सहज परिस्थिति बन्थ्यो । यो त मेरो कुरा भयो । एकीकृत पार्टी निर्माणको सहमतिबाट पछि हट्नु अब एमाले र माओवादी केन्द्रका निम्ति प्रत्युत्पादक हुनेछ । पार्टी एकतालाई जसरी भए पनि टुंगोमा पु¥याउनुपर्छ । पार्टी एकता व्यापक एवं गहिरो वैचारिक विमर्श र आम कार्यकर्ताहरूबाट अनुमोदित भएर हुन जरुरी छ । यसरी हुने एकता नै बलियो हुन्छ । हामीलाई चाहिएको टिकाउ एकता हो । जनवादी विधि र पद्दतिसहित व्यापक विमर्शका माध्यमबाट पार्टी एकता हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

राजनीतिक विसंगति र विकृतिविरुद्ध संघर्ष

केही समयपछि वामपन्थी गठबन्धनको सरकार बन्नेछ । यस सरकारका दायिŒव र चुनौती धेरै हुनेछन् । नेपालको राजनीति विसंगति र विकृतिमुक्त छैन । नेपाली राजनीतिभित्र वामपन्थी राजनीति पनि पर्छ । गठबन्धन र गठबन्धन सरकारसँग एकातिर मुलुकको समग्र परिवर्तन र समृद्धिका सम्बन्धमा स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम हुन जरुरी छ, अर्कातिर उसले आफू, आफ्नो आन्दोलन र समग्र नेपाली राजनीतिमा विद्यमान विसंगति र विकृतिका विरुद्ध संघर्ष गर्न पनि जरुरी छ । विसंगति र विकृतिविरुद्धको संघर्ष सिधै परिवर्तनको ऐजेन्डाको कार्यान्वयन र समृद्धिको यात्रासँग गाँसिएको छ ।


सामन्तवादका अवशेष एवं नवउदारका विरुद्ध संघर्ष नगरी सामाजिक न्याय, समानता एवं राष्ट्रिय चरित्रसहितको आर्थिक समृद्धि सम्भव हुनेछैन । ‘क्रोनि क्याप्टालिज्म’का विरुद्ध संघर्ष गर्न सजिलो छैन । खस्कँदै गरेको कम्युनिस्ट आदर्श, कमजोर प्रतिबद्धता, अतिशय व्यवहारवाद र अन्य अनेकन विसंगति र विकृतिहरू यसविरुद्धको संघर्षमा अडचन बन्नेछन् । नेपालमा दलाल पुँजीवादले गहिरो गरी जरा गाडेको छ र यसको अन्तर्राष्ट्रिय आयाम पनि छ । नेपाल ०४६ सालपछि अहिलेसम्म नवउदारवादको बाटो हिडेको छ । वामपन्थी गठबन्धनको सरकारले यसलाई तोड्नुपर्छ र आफ्नो चुनावी घोषणापत्रमा गरिएको प्रतिबद्धताअनुसार अघि बढ्न सक्नुपर्छ ।

विसंगति र विकृतिविरुद्धको संघर्ष सिधै परिवर्तनको ऐजेन्डाको कार्यान्वयन र समृद्धिको यात्रासँग गाँसिएको छ । सामन्तवादका अवशेष एवं नवउदारविरुद्ध संघर्ष नगरी सामाजिक न्याय, समानता एवं राष्ट्रिय  चरित्रसहितको आर्थिक समृद्धि सम्भव हुनेछैन

सांस्कृतिक रूपान्तरण

विसंगति र विकृतिविरुद्धको संघर्ष सांस्कृतिक रूपान्तरणसँग जोडिन्छ । सांस्कृतिक रूपान्तरण सांस्कृतिक रूपमा समाज र आफूलाई फेर्ने कुरासँग सम्बन्धित छ । नेपाली संस्कृतिका उज्याला पक्षहरू पनि छन्, अँध्यारा पक्षहरू पनि छन् । अँध्यारा पक्षहरू नेपाली समाजको परिवर्तनको प्रक्रियाका विरुद्ध उभिन्छन् । अँध्यारा पक्षहरूलाई हटाउँदै समाज अघि बढ्न सक्नुपर्छ । हामी कहाँ बलियो गरी जरा गाडेर बसेको सामन्तवादी संस्कृति त छ नै, उपभोक्तावादी संस्कृतिको प्रभाव पनि परेको छ । परिवर्तनको अगुवाइ गर्नेहरू पनि सांस्कृतिक रूपमा त्यति फेरिन
सकेको पाइँदैन ।
नैतिक मूल्यमा आएको ह्रास र आदर्शमा देखिएको स्खलन सांस्कृतिक रूपमा फेरिन नसक्नुको परिणाम हो । हरेक ऐतिहासिक परिवर्तन, अघिल्तिर प्रस्थान र नयाँ समाज निर्माणको ध्येयले त्यस अनुकूलको संस्कृति खोज्छन् । उदाहरणको निम्ति धर्म निरपेक्ष राष्ट्रले ‘सेक्युलर संस्कृति’को निर्माण खोज्छ र खोज्नुपर्छ । ‘सेक्युलर संस्कृति’को निर्माण नगर्ने हो भने धर्म निरपेक्षताको खास अर्थ रहँदैन । वामपन्थीहरूको सरकारले नयाँ नेपाल निर्माणको ध्येयलाई साकार पार्ने हो भने उनीहरूले सांस्कृतिक रूपान्तरणलाई महŒव प्रदान गर्नुपर्नेछ । ‘जस जसले बनाए नयाँ दुनियाँ ती सबै नयाँ थिए’, यो मेरो कविताको एउटा पंक्ति हो । नयाँ दुनियाँ निर्माणका निम्ति नयाँ हुन जरुरी छ । पुरानै रहेर नयाँको निर्माण कसरी गर्न सकिन्छ र ? यो सामान्य सत्यलाई अघिल्तिर प्रस्थान गर्न चाहनेहरूले हेक्का राख्न जरुरी छ ।

स्रष्टाहरूको अपेक्षा

नेपालको लोकतान्त्रिक एवं वामपन्थी आन्दोलनमा स्रष्टाहरूको पनि महŒवपूर्ण योगदान रहेको छ । भौतिक एवं सिर्जनात्मक दुवै रूपमा उनीहरूले आन्दोलनलाई सहयोग पु¥याएका छन् । आन्दोलनमा सहभागी हुँदा स्रष्टाहरूले अनेकौं दुखकष्ट खपेका छन् । कतिपय स्रष्टाहरूले त सहादत समेत प्राप्त गरेका छन् । स्रष्टाहरूको अपेक्षा नयाँ नेपालको निर्माण हो । नयाँ नेपालको तात्पर्य सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य, समानता एवं सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिसहितको नेपाल हो । यस्तो समाजको निर्माण अन्ततः पुँजीवादभन्दा अघि बढेर मात्र सम्भव छ ।
पुँजीवादभन्दा अघि बढ्ने भनेको समाजवादतर्फ जाने भनेको हो । यसको संकेत मैले माथि पनि गरेको छु । पुँजीवादको अतिक्रमण सहज छैन । लोकतान्त्रिक प्रक्रियाबाट शान्तिपूर्ण ढंगले समाजवादतर्फ बढ्न चाहने कम्युनिस्ट पार्टीहरू पुँजीवादको बृहत् र बलियो संरचनाभित्र हराएका दृष्टान्तहरू पनि छन् । यो सम्भावना नेपालमा पनि छ । जेहोस्, परिवर्तनकारी स्रष्टाहरूको स्वप्न सबै दृष्टिले परिवर्तित नेपाल हो । वामपन्थीहरूको सरकारले यो दायित्वलाई पूरा गर्न सक्नुपर्छ ।

वाङ्मयको विकास

आउँदा दिनहरूमा भाषा, साहित्य, कला, संस्कृतिलगायत समग्र वाङ्मयको विकासमा राज्यले समुचित ध्यान दिनुपर्छ । राज्यले अझै पनि यस क्षेत्रलाई अनुत्पादक ठान्छ । यस क्षेत्रमा राज्यले गरेको लगानीबाटै यो कुरा स्पष्ट हुन्छ । राज्यले आफ्नो धारणालाई बदल्न जरुरी छ । मुलुकको आर्थिक, भौतिक विकास महŒवपूर्ण छ तर आत्मिक विकास पनि कम्ती महŒवपूर्ण छैन । साहित्य, कलालगायत समग्र वाङ्मयको विकासले यसमा महŒवपूर्ण योगदान दिन्छ । अहिलेसम्म पनि राज्यले यस क्षेत्रका सम्बन्धमा सुस्पष्ट दृष्टिकोण र नीति निर्माण गर्न सकेको पाइन्न । राज्य अहिले पनि यस सन्दर्भमा मूलतः यथास्थितिवादी छ ।
कयौं सन्दर्भमा त उसमा पुरातन दृष्टिकोण नै जीवित रहेको पाइन्छ । यो स्थितिलाई फेर्न सकिएन भने परिवर्तनको प्रक्रियामा अवरोध खडा हुनेछ । यस क्षेत्रको विकासको अगुवाइ परिवर्तनधर्मी चेतनासहित गरिनुपर्छ । यस चेतनालाई आत्मसात् गरेकाहरूले नै परिवर्तनको मर्मअनुसार यस क्षेत्रको विकासको अगुवाइ गर्न सक्छन् ।

आलोचनात्मक चेतनाको निर्माण

परिवर्तित सन्दर्भमा रचनात्मक दृष्टिसहितको आलोचनात्मक चेतनाको विकास आवश्यक छ । हामीकहाँ आलोचनात्मक चेतना कमजोर छ । लामो समयदेखि हामी समान्तवादी समाजमा रह्यौं र छौं । आलोचनात्मक चेतनाको विकास यस समाजको विशेषता होइन । शक्तिपूजा र चाकरी यस्तो समाजको चारित्रिक अभिलक्षणका  रूपमा रहन्छ ।
एक स्वस्थ, समुन्नत र रचनात्मक समाजको निर्माणका निम्ति यस्तो चरित्रले वाधकका रूपमा भूमिका सम्पादन गर्छ । राजनीतिक पार्टी एवं नेतृत्वमा पाइने अलोकतान्त्रिक चरित्र आलोचनात्मक चेतनाको अभावसँग पनि सम्बन्धित छ । राजनीतिलगायत अन्य क्षेत्रहरूमा पाइने विसंगति र विकृतिहरूलाई छिमल्न पनि आलोचनात्मक चेतना र नैतिक साहस चाहिन्छ । नेपालको लोकतान्त्रिक एवं वामपन्थी आन्दोलनमा अहिले जे जस्ता कमजोरीहरू छन्, यिनलाई नहटाई नयाँ नेपालको कुरा गर्नु गफ मात्रै हुनेछ । प्रशंसा मात्र होइन आफ्ना सीमा र कमजोरीहरूबारे सुन्न, आफूलाई बदल्न र रचनात्मक दृष्टिसहितको आलोचनात्मक चेतनालाई सलाम गर्न परिवर्तनको नेतृत्व गर्नेहरू तयार हुनुपर्छ ।

प्रज्ञा–प्रतिष्ठानको भूमिका

हाम्रो कार्यकाल सकिन नौ महिना जति बाँकी छ । यस अवधिमा भाषा, साहित्य लगायत वाङ्मयका क्षेत्रमा महŒवपूर्ण कामहरू भएका छन् । गोष्ठीहरू मात्र पर्याप्त भएका छैनन्, अध्ययन अनुसन्धानमूलक ग्रन्थहरूको प्रकाशन पनि निकै भएको छ । यी सबै प्रतिष्ठानका परियोजनाभित्रका कामहरू हुन् । एउटा जीवन्त संस्थालाई उसका सबल र दुर्बल पक्षहरूको योगमा नै हेर्नुपर्छ । मैले नेतृत्व गरेको काव्य विभागले नै यस अवधिमा महŒवपूर्ण कार्यहरू गरेको छ । एकातिर कवितासम्बन्धी महŒवपूर्ण विमर्श एवं कविगोष्ठीहरू भएका छन्, अर्कातिर कवितासम्बन्धी महŒवपूर्ण कृतिहरू प्रकाशित भएका छन् ।
‘काव्य विमर्श’, ‘समकालीन नेपाली कविता विमर्श’, ‘समकालीन प्रतिनिधि नेपाली छन्द कविता’, ‘समकालीन प्रतिनिधि नेपाली नारी कविता’ लगायतका कृतिहरू यसभित्र पर्छन् । आधुनिक नेपाली कविताको एन्थोलोजी पनि तयार भएको छ । अरू कृतिहरू पनि प्रकाशनको तयारीमा छन् । प्रज्ञाले गत वर्ष हीरक जयन्ती मनायो । यस अवसरमा महŒवपूर्ण कार्यक्रमहरूको आयोजना गरियो र महŒवपूर्ण ग्रन्थहरू प्रकाशित भए । प्रज्ञा–प्रतिष्ठानले गरेका कामहरू महŒवपूर्ण छन् भन्ने लाग्छ । यसको भूमिकालाई अझ सबल बनाउन र परिवर्तनको मर्मअनुसार अघि बढाउन आउँदा दिनहरूमा अझ बढी  ध्यान दिनुपर्नेछ ।

आफ्नैबारे

आफ्नैबारेमा मेरो त्यस्तो खास कुरा केही छैन । केही कृतिहरू प्रकाशनको तयारीमा छन् । फागुन चैत्रसम्ममा प्रकाशनमा आउँछन् । अध्ययन लेखनमा नै बढी एकोहोरिएको छु । प्रज्ञा–प्रतिष्ठानको विभागीय कामले पनि निकै समय खाइदिन्छ । भदौमा प्रज्ञा–प्रतिष्ठानको जिम्मेवारीबाट मुक्त भइन्छ । त्यसपछि के गर्ने ? अहिले केही सोचाइ बनाएको छैन । लेखन त छँदै छ । तपाईंलाई थाहै छ, म निष्क्रिय बस्न रुचाउने मानिस होइन । आफ्ना कुराहरू राख्ने अवसर प्रदान गर्नुभयो । यसका निम्ति धेरै धन्यवाद ।