नमुना बालविकास केन्द्र

नमुना  बालविकास केन्द्र

टेक शाही / डोल्पा

डोल्पाका बालविकास केन्द्रहरू नमुना बन्दै गएका छन् । त्रिपूरा सुन्दरी नगरपालिका–२ मा रहेको ज्योति आधारभूत विद्यालयको बालविकास केन्द्र नमुना बनेको छ । यो बालविकास केन्द्र डोल्पाको मात्र नभएर नेपालकै नमुना र उत्कृष्ट बालविकास केन्द्रमा पर्ने शिक्षा विभागका महानिर्देशक बाबुराम पौडे्लले बताए ।

डोल्पा जस्तो उच्च हिमाली र दुर्गम जिल्लामा देशकै नमुना बालविकास केन्द्र सञ्चालन गर्न सहयोग गरेकोमा बीउ भुटेर खानेलाई होइन, रोपेर फलाउनेलाई दिने हो भन्दै प्लान इन्टरनेसनल नेपाललाई महानिर्देशक पौड्ेलले धन्यवाद दिए । उनले साना बालबालिकालाई बालविकास केन्द्रमा आर्कषित गर्दै शिक्षा दिने वातावरण बनाएकोमा अभिभावकप्रति आभार पनि प्रकट गरे ।

ज्योति बालविकास केन्द्रमा ५४ जना बालबालिका अध्यनरत रहेका छन् । प्लान इन्टरनेसनल नेपालले करिब १५ लाखबराबरको आर्थिक सहयोगमा बनाएको एक कोठे ईसीडी भवनमा ५४ जना बालबालिका खचाखच भरिएका हुन्छन् । एक जना ईसीडी सहजकर्ताले ती बालबालिकाहरूलाई पढाउँछन् । त्यसै गरी, एकै जना सहजकर्ताले पढाउन कठिन हुने भएकाले अब तत्काल एक जना सहजकर्ता थप गर्न जिल्ला शिक्षा अधिकारीलाई महानिर्देशक पौड्ेलले निर्देशन दिएका छन् । उनले यदि जिल्लाबाट सम्भव नभए केन्द्रले नै थप गर्ने बताए ।

किर्डाक नेपालसँग सहकार्य गरी जिल्लाका २३ वटा बालविकास केन्द्रमा प्लान इन्टरनेसनल नेपालले सहयोग गर्दै आएको छ । दुई दर्जनभन्दा धेरै गैरसरकारी निकायले शिक्षा क्षेत्रमा लगानी गरे पनि देशभरमा डोल्पामा मात्र प्लान इन्टरनेसनल नेपालले सफलताको काम गरेको शिक्षा विभागको दाबी छ ।

 शिक्षामा लगानी गरेको देखाउने तर प्रतिफल शून्यतामा राख्ने गरेकाले प्रतिफलविहीन गैरसरकारी नियकाको सम्झौता खारेजी हुनुपर्ने शिक्षा विभागका महानिर्देशक बाबुराम पौडे्लको दाबी छ ।

दुर्गम डोल्पामा शिक्षा जस्तो क्षेत्रमा प्लान इन्टरनेसनलले सहयोग गरेपछि बालविकास केन्द्र नमुना बन्दै गएकोमा खुसी व्यक्त गर्दै जिल्ला समन्यव समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले जनप्रतिनिधिलाई शिक्षामा गैरसरकारी निकायलाई पनि सहयोग गर्न आग्रह गरे । उनले कटाक्ष गर्दै जनप्रतिनिधिलाई भने घाँस खाने कि पानी खाने ? आफैं सोच्नुपर्ने बताए ।

डोल्पामा आएर पहिलोपटक शिक्षा विभागका उच्चपदस्थ पदाधिकारीहरूले विद्यालयको भ्रमण गरेका छन् । राजधानीका तारे होटेलमा बसेर डोल्पाको पहरामा रहेका विद्यालयको शिक्षाका खाका बनाउन गलत भएको महानिर्देशक पौड्ले स्विकारे । उनका अनुसार हरेक भूगोल र भौगोलिक अवस्थाको अध्ययन गरी शिक्षालाई विस्तार तथा अभिवृद्धि गर्नुपर्ने बताए ।

चिल्ला सहरमा रहेका बालविकास केन्द्रको अवस्था चिन्ताजनक रहेको बेला डोल्पाको धुलैधुलोमा चिल्ला र सुकिला बालविकास केन्द्रका कक्षा कोठा भएको देख्दा तिनछक परेको शिक्षा विभागको अनुगमन टोलीले बतायो ।

 ज्योति बाल विकास केन्द्र नेपालकै नमुना बालविकास केन्द्रका रूपमा परिचत हुनेमा विश्वस्त रहेको शिक्षा विभागको दाबी रहेको छ । पछिल्लो समय बालविकास केन्द्र कुम्ली, बाल मन्दिर बालविकास केन्द्र दुनै, बिडिथान बालविकास केन्द्र जुफाल, हिमज्योति बालविकास केन्द्र त्रिपुराकोट र ज्योति आधारभूत बालविकास केन्द्र त्रिपुराकोट जिल्लाकै नमुना बालविकास केन्द्र रहेको जिल्ला शिक्षा अधिकारी डोलराज काफ्लेले बताए । उनका अनुसार अन्य सबै आधारभूत विद्यालयमा बाल विकास केन्द्र भए पनि सरकारी लगानी मात्र भएको र त्यति प्रभावकारी नभएको बताए ।

शिक्षा विभागबाट आएका अतिथिहरूलाई बालबालिकाले नृत्य प्रदर्शन गरी स्वागत गरेका थिए । बालविकास केन्द्रको कक्षाकोठामा चारैतिर खेलौनाले सजिसजाउ गरिएको छ । बालमैत्री शौचालय, धारा, बाथरुम र बालबालिकालाई सुत्नका लागि आरामदायी खाट पनि राखिएको छ । बाहिर खेल मैदान चिल्लो पारिएको छ, जहाँ पिङ, चिप्लेटी, रोटेपिङ र चाकाचुली राखिएको छ ।