नानुको समस्या

नानुको समस्या

गोविन्द सञ्जेल

 

नानु सात वर्षमा भर्खरै लागेकी छन् । उनी कक्षा एकमा पढ्छिन् । नियमित स्कुल जाने, कक्षाकार्य र गृहकार्य मन लगाएर गर्ने उनको बानी छ । उनको बानी बेहोराको प्रशंसा स्कुलका सबै सर मिसहरूले गर्नुहुन्छ । घर परिवार र आफन्तहरूले पनि उनलाई औधी मन पराउँछन् । सधैं स्कुलबाट फर्किएपछि हातगोडा धोएर खाजा खाने उनको बानी छ । खाजा खाएपछि उनी पहिला आफ्नो गृहकार्य सक्छिन् अनि मात्रै खेल्ने र टिभी हेर्ने गर्छिन् । बिहान पनि उनी आमासँगै सबेरै उठ्छिन् । हातमुख धोई चिया नास्ता गरेपछि पढ्न बस्छिन् । हरेक दिन ९ बजे उनी स्कुल जान तयार भइसक्छिन् । आमाको साथ लागेर स्कुल जाने त उनको बानी नै भइसकेको छ । बिदाको दिनमा स्कुल जान पाए हुन्थ्यो भन्ने लाग्छ उनलाई ।

स्कुलको ढोकाबाट हाँसीहाँसी आमालाई हात हल्लाएर घर फर्काउने उनको बानी नै छ । उनी स्कुल छुट्टी भएपछि पनि सर मिसहरूसँग हात हल्लाउँदै बिदा माग्छिन् । हरेक दिन उनलाई लिन आमा पनि सही समयमा स्कुल पुग्नुहुन्छ । दिनभरि स्कुलमा सिकेका र गरेका कामको विवरण आमालाई सुनाउँदै उनको घर फर्कने बानी छ । आमा सधैं भन्नुहुन्छ हाँसीहाँसी स्कुल जाने र पढ्नमा मन लगाउने तिम्रो साह्रै राम्रो बानी छ ।

तर, हिजो स्कुलबाट फर्किंदा नानु सधैंझैं खुसी थिइनन् । आमाले उनको हात समाउँदै सोध्नुभयो, ‘सधैं हासीखुसी स्कुलको ढोकाबाट बाहिर आउने मेरी छोरीलाई आज के भयो नि ?’ उनले आमालाई केही पनि भएको छैन मात्र भनिन् । घर नपुगेसम्म बाटोभरि दिनभरिको कुरा सुनाउने उनी आज चुपचाप हिँडी मात्र रहिन् । आमाले नानुलाई बिसन्चो हुन लागेको हो कि भनेर शंका गर्नुभयो । उहाँलाई लाग्यो, ‘मौसम परिवर्तन हुने बेलामा केटाकेटीहरू अक्सर बिरामी पर्छन्, नानु पनि यो जाडोको सिकार हुने भइन् ।’ अनि आमाले छोरीको निधार छाम्नुभयो । आमालाई चित्त बुझेन र फेरि सोध्नुभयो, ‘आज मेरी छोरीलाई के भएको छ ? सन्चो छैन, हो ?’ नानुले भनिन्, ‘आमा † मलाई केही पनि भएको छैन ।’ किन हो, आमाको मनले मान्दै मानेन ।

घर पुगेपछि पनि नानु आमासँग धेरै बोलिनन् । आमाको मनमा अनेक प्रश्न उब्जिए । तर के गर्नु ? आमाले छोरीलाई के भएको हो भन्ने भेउ नै पाउनुभएन ।

सधैं ९ बजे नै स्कुल जान तयार भएर हतारिने नानुले आज हतार नगरेको देखेर आमा पनि छक्क पर्नुभयो । आमाले भन्नुभयो, ‘छोरी आज किन तयार हुन ढिला गरेकी, घडी हेर त  †’ नानु नबोलीकन सर्ट र स्कर्ट हातमा लिएर उभिई मात्र रहिन् । आमाले फेरि सम्झाउनुभयो, ‘छोरी, ९ बजिसकेको छ, स्कुल जान ढिलो हुन्छ, छिटो तयार हौ न ।’ नानु निन्याउरो अनुहार लगाएर उभिइरहिन् । आमाले बिस्तारै सोध्नुभयो, ‘मेरी प्यारी छोरीलाई आज के भयो ?’ नानुले रुन्चे स्वरमा भनिन्, ‘आमा, म त्यो स्कुल जान्नँ नि है †’

आमा त एक छिन अक्क न बक्क पर्नुभयो । सधैं हासीहासी स्कुल जाने छोरीले भनेको कुरा आमाले पत्याउनै सक्नुभएन । अनि आमाले छोरीलाई काखमा राख्दै सोध्नुभयो, ‘के भयो र छोरी ?’ नानु बोल्दै बोलिनन् । आमाले माया गरेर भन्नुभयो, ‘मेरी प्यारी ज्ञानी छोरी † आफ्नी आमालाई भन त, तिमीलाई के भएको छ ?’ बल्ल अनकनाउँदै नानुले मुख खोलिन्, ‘मेरो साथी रोसु मलाई सधैं कुट्न मात्रै आउँछ । मेरो खाजा पनि खोस्न आउँछ । हिजो त मलाई एक मुड्की हिर्कायो नै । मेरो खाजाको एउटा सुन्तला पनि खोसेर खाइदियो । त्यही भएर मलाई त्यो स्कुल जान मनै छैन आमा । म त अर्कै स्कुल जाने हो ।’

आमाले कुरा बुझिहाल्नुभयो । अनि सम्झाउँदै नानुलाई सोध्नुभयो, ‘अनि यो सबै कुरा तिमीले मिसलाई भनिनौ त ?’ नानुले टाउको हल्लाउँदै नभनेको संकेत गरिन् । आमाले फकाउँदै भन्नुभयो, ‘यस्तो कुरा त तिमीले हिजो नै मिसलाई स्कुलमा भन्नुपर्ने नि † समस्यासँग भागेर, अर्को स्कुल गएर मात्र तिम्रो समस्याको समाधन त हुँदैन नि नानु † अर्को स्कुलमा पनि त तिम्रो स्कुलको रोसु जस्तै साथी हुन सक्छ नि । त्यसैले आफूले समाधान गर्न नसक्ने समस्या आयो भने आफूभन्दा ठूलाको सहयोगले त्यसको समाधान गर्नुपर्छ । तिम्रो अहिलेको समस्याको समाधान भनेको तिम्रो साथी रोसुको बानीमा सुधार गर्ने मात्रै हो । त्यसका लागि तिमीले मिसहरूलाई भन्नुपर्छ । उहाँहरूले तिमीलाई अवश्य सहयोग गर्नु हुनेछ ।’ नानुले बुझेझैं सहमति जनाउँदै टाउको हल्लाइन् ।

आज आमा आफैंले छोरीलाई लुगा लगाई स्कुलका लागि तयार गराउनुभयो । नानुको अनुहारमा अझै चमक थिएन । तर, पनि आमासँगै स्कुल जान भने तयार भइन् । अघिपछि भन्दा आज अलि ढिलो भइसकेको थियो । आज आमा छोरी दुवै जना स्कुलभित्र सँगसँगै पसे । आमाले नानुलाई सरासर हेडसरको कोठा भएतिर लिएर जानुभयो । हेडसरले अभिभावदन गर्दै भन्नुभयो, ‘नमस्कार, स्वागत छ है । अनि आज छोरीलाई अफिसमै लिएर आउनुभयो त ?’ आमाले पनि अभिवादन फर्काउनुभयो र नानुको समस्याबारे सबै कुरा सुनाउनुभयो ।

हेडसरले आया दिदीलाई बोलाएर रोसुलाई लिएर आउनुहोस् भनी अह्राउनुभयो । आया दिदीले पनि रोसुलाई तुरुन्तै लिएर आउनुभयो । हेडसरले रोसुलाई नजिकै बोलाएर सबै कुरा सोध्नुभयो । रोसुले पनि नानुले भनेझैं आफूले गरेको हो भनेर स्वीकार ग¥यो ।

 हेडसरले अन्त्यमा मायालु तरिकाले रोसुलाई खराब व्यहार गर्न नहुने, साथीहरूसँग मिलेर खेल्नुपर्ने, साथीहरूको खाजा कहिल्यै पनि खोसेर खान नहुने जस्ता कुराहरू सम्झाउनुभयो । रोसुले पनि अबदेखि कहिल्यै त्यस्तो नगर्ने वाचा ग¥यो । अनि हेडसरले नानु र रोसु दुवैलाई सँगै राखेर हात मिलाउन लगाउनुभयो । अबदेखि दुवैलाई मिलेर पढ्ने र खेल्ने वाचा गराउनुभयो । नानुले पनि अबदेखि खुसीसाथ स्कुल आउने बताइन् । उनको खुसीको सीमा रहेन ।

अन्त्यमा, नानु र रोसु दुवैजना एक अर्काको हात समाउँदै, हेडसर र आमालाई बाई बाई गर्दै हँसिलो अनुहार लिएर आफ्नो कक्षा कोठातिर गए । आमा र हेडसरले पनि हात हल्लाउँदै उनीहरूलाई बाई बाई गर्नुभयो ।