श्रमको सम्मान होस्

श्रमको सम्मान होस्

बैतडीकी कुश्मा चन्दाको संघर्षको प्रसंगले जोसुकैलाई केही गर्ने प्रेरणा जाग्न सक्छ । किन कि अवसर जोसुकैका लागि आउन सक्छ तर त्यसका लागि संघर्ष भने गर्नैपर्छ भन्ने सन्देश चन्दाले दिएकी छन् । उनले बाँच्नका लागि चरम संघर्ष गर्नुप¥यो । घर परिवार र समाजले अपमान गर्दा पनि संघर्ष गर्नबाट थाकिनन् । ढिलै किन नहोस्, उनले अहिले सफलता पनि हात पारेकी छन् । जस्तै आपतविपद्मा पर्दा पनि जीवनलाई सम्हाल्दै अगाडि बढ्ने क्रममा अहिले उनी बैतडीको शिवनाथ गाउँपालिकाको उपाध्यक्षको कुर्सीमा पुगेकी छन् । जीवनमा केही गर्न सकिएन वा नेपालमा अवसरै छैन भन्नेहरूका लागि चन्दा वास्तवमै उदहारण हुन् । चन्दा मात्रै हैन, यस्ता साहसी पात्रहरू धेरै छन् हाम्रो गाउँ समाजमा, जो आफ्नै स्वाभिमानले ढुक्कका साथ बाँचेका छन् ।

बाख्रा, गाई, भैंसी, कुखुरा वा तरकारी खेती गरेर राम्रै आम्दानी गर्न सकिन्छ भन्दै गरेरै देखाउनेहरू धेरै छन् । परम्परागत शैलीमा थोरै आधुनिकता अपनाउने हो भने राम्रै आय आर्जन गर्न सकिने कौशलता धेरै महिलाहरूले देखाइसकेका छन् । विशेष गरी गाउँघरमा महिलाहरूमा पछिल्लो समय पौरख गर्ने संस्कारको विकास भएको छ । सामान्य पौरखकै भरमा पनि घर उज्यालो बनाउने र समाजलाई केही दिने अभियानमा लागेका महिलाहरू धेरै छन् । हाम्रा युवा पुस्तामा अझै पनि समस्या छ । ‘मुलुकमा केही गर्न सकिएन वा काम गर्ने वातावरण नै भएन’ त्यसरी केही गर्न सकिएन भन्दै विदेश पलायन हुन चाहनेको ताँती लामै छ । यही भीडमा उभिएर आफ्नै देशमा केही गर्ने सन्देश दिन सफल प्रतिनिधि पात्र हुन्, चन्दा । चन्दाकै शैली अपनाउने हो भने आफ्नो परिवार धान्नका लागि खास गाह्रो पर्दैन भनेर दोहो¥याइरहनु जरुरी छैन । चन्दा मात्रै हैन आफ्नै पौखरमा रमाउने दुर–दराजमा रहेका महिला एवं पुरुषका कृतिलाई प्रचार गर्ने क्रममा सञ्चारमाध्यमले पनि कन्जुस्याँइ गरेका छन् भन्न धक मान्नु पर्दैन ।

कुनै पनि व्यक्ति सफल भएपछि उसको कथा लेख्न सजिलो छ । तर जोकोहीलाई सफल हुन प्रेरणा दिने भनेको समाजले हो । तर हाम्रो समाज अझै पनि पौरखीमैत्री भइसकेको छैन । आफ्नो खुट्टामा आफैं उभिन चाहनेलाई सकारात्मक रूपले हेर्न नसक्नेहरू धेरै छन् । अर्को कुरा कुनै पनि व्यक्तिलाई पौखरी बनाउनका लागि राज्यले न्यूनतम पूर्वाधारको व्यवस्था गर्नै पर्छ । खेती गर्न चाहने किसानलाई उन्नत बीउ, मल र आवश्यक औजारहरूको सर्वसुलभता अझै छैन । तरकारीलगायत अन्य उत्पादन बिक्रीका लागि बजार पनि सहज छैन, सबै ठाउँमा । हरेक दलका नेताहरूले भाषणको क्रममा श्रमसँग जोडिन सर्वसाधारणलाई आग्रह गरे पनि श्रमसँग सर्वसाधारणलाई जोड्ने संस्कार अभाव हुँदा अहिले पनि हाम्रो समाजमा पौरख गर्नेहरू अझै घुम्टोभित्रै रहन बाध्य छन् ।