वाम एकता सरकार गठनबारे छलफल

टेनिस रोका / काठमाडौं

नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले सरकार गठन र पार्टी एकताको प्रक्रिया अघि  बढाएका छन् । वाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचन, प्रदेशसभा र प्रादेशिक सरकार गठनको तयारीका लागि ६ सदस्यीय कार्यदलसमेत गठन गरेका छन् । पार्टी एकताको वैचारिक र सैद्धान्तिक खाका तय गर्न अब बस्ने अर्को बैठकबाट कार्यदल गठन गर्ने समझदारीसमेत भएको छ ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दुई दलबाट तीन–तीन जना नेता सम्मिलित कार्यदल गठन गरेको बताए । कार्यदलमा एमालेबाट सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन् ।

एमाले महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सभा, प्रदेशसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्ने बताए । राष्ट्रिय सभाको निर्वाचन आगामी २४ माघका लागि तोकिएको छ । यस्तै, सरकारले प्रदेश प्रमुख तोकेसँगै प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

कार्यदलले राष्ट्रिय सभाको उम्मेदवार र प्रदेश सरकार बाँडफाँटलगायतका विषयमा समितिलाई सुझाव दिने बताइएको छ । एमाले र माओवादी केन्द्रले गत १० र २१ मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६०–४० मा सिट बाँडफाँट गरेका थिए । राष्ट्रिय सभाको निर्वाचन र प्रदेश सरकारको विषय कसरी टुंग्याउने भन्ने विषय कार्यदलले छलफल गरी एकता संयोजन समितिलाई सुझाव पेस गर्नेछ । राष्ट्रिय सभामा सात प्रदेशबाट ५६ जना उम्मेदवार निर्वाचित हुनेछन् भने सरकारको सिफारिसमा तीन जना राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

यस्तै, सात प्रदेशमध्ये ६ वटामा वाम गठबन्धनको बहुमत आएको छ । कार्यदलले ६ प्रदेशका मुख्यमन्त्रीको विषयबारे पनि छलफल गरेर सुझाव पेस गर्ने बताइएको छ ।

राष्ट्रिय सभा निर्वाचन र सरकार गठनका लागि कार्यदल

कार्यदलमार्फत सांगठनिक र वैचारिक निर्णय

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एकता संयोजन समितिको बैठकमा एकताको खाकासम्बन्धी गृहकार्य गर्न कार्यदल बनाउनेबारे छलफल भए पनि आवश्यक तयारी गरेर अर्को बैठकमा कार्यदल गठन गर्ने समझदारी जुटेको हो । ‘वैचारिक र सांगठनिक विषयमा गृहकार्य गर्न कार्यदल गठन गर्ने कुरो भएको थियो, तर आज (मंगलबार) हुन सकेन,’ श्रेष्ठले राजधानीसँग भने, ‘अब अर्को बैठकमा कार्यदल बनाएर एकता प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।’

एमाले महासचिव पोखरेलले पार्टी अध्यक्ष ओली थाइल्यान्डबाट फर्कनासाथ एकता संयोजन समितिको बैठक बस्ने र त्यसले वैचारिक एवं सांगठनिक विषयमा कार्यदल बनाएर एकता प्रक्रिया अघि बढाइने बताए । एमाले अध्यक्ष ओली आज (बुधबार) स्वास्थ्य जाँचका लागि थाइल्यान्ड प्रस्थान गरेर २ माघमा स्वदेश फर्कने कार्यक्रम छ ।

गत असोजमा एमाले र माओवादी केन्द्रले निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमति गरेर निर्वाचनमा गठबन्धन बनाएर उत्रिएका थिए । निर्वाचनपछि दुई दलबीच एकताको विषयमा छलफल गर्ने प्रयास गरे पनि सोमबार मात्र समितिको बैठक बसेको हो । दुई पार्टीबीच नेतृत्व र नीतिका विषयमा सहमति जुट्न बाँकी छ ।यसअघि, दुई अध्यक्षबीच १२ पुस र २३ पुसमा दुईपटक ‘वान टु वान’ वार्ता भएको थियो । दुई दलले पार्टी एकताको विषयमा ढुक्क हुन आग्रह गर्दै एकतामा कुनै शंका र समस्या नरहेको र चाँडै एकता हुने प्रतिबद्धता जनाउँदै आएका छन् ।