वाम कार्यदल बैठक , मुख्यमन्त्री र राष्ट्रिय सभामा भागबन्डा गौण

राजधानी समाचारदाता / काठमाडौं

नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा गठित कार्यदलले प्रदेश मुख्यमन्त्री तथा राष्ट्रिय सभा उम्मेदवार छनोटमा पार्टी एकताको गति र भावलाई मुख्य आधार बनाउने भएको छ ।

कार्यदलले प्रदेश मुख्यमन्त्री, तथा मन्त्रालयहरूको बाँडफाँटका साथै राष्ट्रिय सभाका उम्मेदवारहरू छनोट गर्दा पार्टी एकतामा बाधा उत्पन्न हुने गरी कुनै कार्य नगर्ने भएको हो ।

दुवै पार्टीका दोस्रो तहका तीन÷तीन सदस्य सम्मिलित कार्यदलले पार्टी एकताको गतिलाई सहयोग पुग्ने गरी आगामी २४ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका उम्मेदवार छनोट गर्ने भएको छ ।

 आगामी २४ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रत्येक प्रदेशबाट आठ जनाको दरले ५६ जना निर्वाचित हुनेछन् । तीन जना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले चुन्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष मतदाता रहनेछन् ।

कार्यदलले सात प्रदेशका मुख्यमन्त्री छनोटमा पनि पार्टी एकताको गतिलाई सहयोग पुग्ने गरी गृहकार्य गरिने जनाएको छ । सात प्रदेशमध्ये प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा वाम गठबन्धनको स्पष्ट बहुमत छ ।

बहुमत प्राप्त ६ वटा प्रदेशमा मुख्यमन्त्री कसरी बाँडफाँट गर्ने र बहुमत नरहेको प्रदेश दुईमा सरकार गठन कसरी गर्ने भन्ने सुझावसमेत कार्यदलले दिनेछ । निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेपछि एक साताभित्र प्रदेश प्रमुखलाई मतपरिणाम बुझाउनुपर्नेछ । यसरी आयोगले मतपरिणाम सार्वजनिक गरेको ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संविधानले व्यवस्था गरेको छ ।

यस्ता छन् छनोटका मापदण्ड

        मुख्य आधार ‘एकता भाव’

     सामाजिक सन्तुलन हेरिने

     मत आधार अध्ययन गरिने

     सम्भावित नेतृत्वलाई आधार बनाइने

 

गत १० र २१ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिभसाको निर्वाचनमा प्रत्यक्षतर्फ ६०–४० प्रतिशतमा उम्मेदवार भागबन्डा गरेका दुई दलले राष्ट्रिय सभाको निर्वाचनमा भने भागबन्डाभन्दा पनि पार्टी एकताको भावना, सामाजिक सन्तुलन, सम्भावित नेतृत्वलगायतका विषयलाई आधार मानेर छान्ने भएका हुन् ।

‘पार्टी एकताको स्प्रिडलाई मुख्य आधार मान्छौं, त्यसका साथै मतदातामा कति स्टन्ड छ, सम्भावित नेतृत्व तथा सामाजिक सन्तुलनलाई आधार बनाएर गृहकार्य गर्छौं,’ एमाले नेता तथा कार्यदल सदस्य शंकर पोखरेलले भने, ‘यी चारवटा विषयलाई मुख्य आधार बनाएर हामी गृहकार्य गर्छौं र पार्टी एकता संयोजन समितिलाई सुझाव दिन्छौं ।’

पार्टी एकता संयोजन समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा र प्रादेशिक सरकार गठनको तयारीको गृहकार्य गर्न ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलको पहिलो बैठक बुधबार नै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको छ । बैठकमा एमाले अध्यक्ष ओलीका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत सहभागी थिए ।

बैठकमा अध्यक्षद्वयले कार्यदललाई काम सुरु गर्न निर्देशन दिएका थिए । कार्यदल सदस्य एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदललाई दिइएको जिम्मेवारी र गर्नुपर्ने कार्यका विषयमा दुवै पार्टीका अध्यक्षले निर्देशन दिँदै काम अगाडि बढाउन निर्देशन दिएको बताए ।

अध्यक्षद्वयले कार्यदल सदस्यहरूलाई निर्देशन दिँदै राष्ट्रिय सभा र प्रदेश सरकार गठनमा दुवै पार्टीले निर्वाचनमा प्राप्त गरेको सिट संख्याको आधार, नेतृत्व गर्न सक्ने क्षमता, भूमिका एवं योगदानका साथै आगामी दिनमा पार्टी एकतालगायतका विषयमा केन्द्रित भई कार्य गर्न सुझाएका थिए ।

कार्यदल सदस्य पोखरेलले बिहीबार(आज) देखि नै काम सुरु गर्ने र माघ ५ अगावै सुझाव पेस गर्ने बताए । ‘भोलि (बिहीबार) देखि नै हामी गृहकार्यमा जुट्छौं,’ पोखरेलले भने, ‘१० गते राष्ट्रिय सभाको मनोनयन मिति सार्वजनिक भइसकेकाले ५÷६ दिन अगाडि नै कार्यदलले सुझाव पेस गर्नेछ,’ उनले भने ।