‘केन्द्रीय समितिपछि कांग्रेस महासमिति बैठक’

काठमाडौं / रास– कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकपछि मात्रै महासमिति बैठक बोलाइने बताएका छन् । प्रवक्ताको जिम्मेवारी पाएको भोलिपल्ट बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँगको भेटघाटमा उनले केन्द्रीय समिति बैठकमार्फत महासमिति डाकिने बताएका हुन् ।

बैठकमा निर्वाचनपछिको अवस्था विषयमा गम्भीर छलफल हुने जानकारीसमेत उनले दिए । ‘निर्वाचनपछिको अवस्था विषयमा पार्टीभित्र छलफल हुने स्वभाविक प्रक्रिया हो,’ शर्माले भने,‘अब छिट्टै केन्द्रीय समिति बैठक डाकिन्छ, त्यसमार्फत नै महासमिति समेत डाकिन्छ ।’

केन्द्रीय समितिबाट विगतका कमीकमजोरी समीक्षा र पार्टीको पुनर्निर्माण अभियान तय हुनेसमेत उनले प्रस्ट पारे । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त परिणामपछि पार्टी नेताबाट आएका अभिव्यक्ति स्वाभाविक भएको भन्दै प्रवक्ता शर्माले आवेगबाट नभई विवेकबाट निर्णय लिइनुपर्नेमा जोड दिए ।

शर्माले ‘पार्टी सभापति नै प्रधानमन्त्रीसमेत रहेकाले नयाँ सरकारका लागि व्यवहारिक जटिलता फुकाउन पार्टी नेतृत्व अग्रसर हुँदा ढिला भएको’ स्वीकारे । ‘सरकारसामु प्रदेश राजधानी तोक्ने, प्रदेश प्रमुख नियुक्ति, राष्ट्रिय सभा निर्वाचनजस्ता महत्वपूर्ण जिम्मेवारी रहेका कारण केही ढिला भएको’ उनको भनाइ थियो ।