जाडो छल्न पत्कर संकलन

राजधानी संवाददाता / उदयपुर

शीतलहर बढेसँगै अति विपन्न मुसहर समुदायका बालबालिका जाडोको जोहोका लागि आगो ताप्न दाउरा तथा पत्कर संकलनमा जुटेका छन् । केही दिनयता भित्री मधेसमा पर्ने उदयपुरमा पनि अत्यधिक चिसो र शीतलहर बढेपछि आगो ताप्न तथा सुत्नका लागि पत्कर संकलनमा जुटेका हुन्, मुसहर समुदायका बालिकाहरू ।

मुसहर समुदायको बसोबास रहेको त्रियुगा नगरपालिका, चौदण्डीगढी र बेलका नगरपालिकाका मुसहरहरू समुदायका बालबालिका पत्कर संकलनमा जुटेका हुन् । मुसहरका बस्ने घरमा न्यानो कपडा नहुँदा जाडोबाट बच्नका लागि पत्कर संकललनमा जुटेको त्रियुगा नगरपालिका–८ मुसहर सुखिचन सदाले बताए । ‘चिसो र शीतलहर बढेसँगै हामी गरिबको जनजीवन कष्टकर बनेको छ,’ उनले भने, ‘जंगलबाट संकलन गरेको पत्कर ल्याई सुत्दा न्यानो हुन्छ ।

जाडो छल्न मुसहर समुदायका बालबालिकाको दैनिकी विशेष गरेर दाउरा तथा पत्कर संकलनमा जुटेको बताउँछन् । त्रियुगा नगरपालिका गैरुनका पाँच घरपरिवारका मुसहर समुदायका बालबालिका दिउँसो पत्कर संकलनमा जाने गरेका छन् ।

‘जाडोबाट बच्नका लागि तत्काल न्यानो कपडा कतैबाट सहयोग पाए पनि हुन्थ्यो,’ बेलका नगरापालिका–१ आम्बासीका रामदेसर सदाले भने, ‘चिसोले गर्दा केही काम गर्न पनि सकिँदैन, काम गर्न जाऊँ आफूसँग बाक्लो र न्यानो कपडा छैन, दिनभरि रातभरि आगो ताप्नुपर्छ, अनि राति पत्करमा घुस्रिएर सुत्नुपर्छ ।