‘यातायात क्षेत्रको विकासमा सरकारको ध्यान आवश्यक’

राजधानी संवाददाता / हेटौंडा

उपराष्ट्रपति नन्दबहादुर पुनले यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनु जरुरी रहेको बताएका छन् । उनले नेपालमा स्थल यातायातको विकल्प नभएको भन्दै यस क्षेत्रमा रहेको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताए ।

हेटौंडामा बुधबारबाट सुरु भएको नारायणी यातायात व्यवसायी संघको ३१औं वार्षिक साधरण सभा उद्घाटन गर्दै पुनले जीर्ण सडक, थोत्रा सवारी र सवारी चालकको लापर्बाहीका कारण मानवीय क्षति बढ्नु दुखद् भएको उल्लेख गर्दै यातायात क्षेत्रमा देखिएका  समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने सडक ५ वर्ष भइसक्दा पनि पूर्ण नहुने समस्या रहेको भन्दै उपराष्ट्रपति पुनले समयमै काम सम्पन्न गर्न पनि निर्माण व्यवसायीलाई आग्रह गरे ।

नेपालको यातायात क्षेत्रको उपलब्धि गौरवपूर्ण भएको तर सरकारले ध्यान दिन नसकेको बताए । यातायात क्षेत्रमा सरकारले बृहत् लगानी गर्नुपर्ने बताउँदै उपराष्ट्रपति पुनले भाडादर कम गर्नका लागि यातायात व्यवसायीलाई अनुदानको विषयमा सोच्नुपर्ने बताए । नेपालले राजनीतिक अस्थिरताको चरण पार गर्न लागेको बताउँदै अब स्थायित्वका लागि नारायणी यातायात व्यवसायी संघले पनि भूमिका खेल्न उनले आग्रह गरे ।

नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागार्इंको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहाल, प्रदेश सांसद प्रेमबहादुर पुलामी र इन्द्रबहादुर बानियाँ, नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा निरशंकर श्रेष्ठ यातायात क्षेत्र सम्मानबाट प्रतिष्ठित व्यवसायी अजेयराज सुमार्गी, राधाकृष्ण गोर्खाली, तीर्थ बस्नेत र दीपेन्द्र रेग्मीलाई सम्मान गरिएको थियो । फत्तेनारायण डंगोल (माइला मिस्त्री) स्मृति सम्मानबाट दीपक लामालाई सम्मान गरिएको थियो ।

यस्तै, माधव अधिकारी उत्कृष्ट कर्मचारी पुरस्कारबाट प्रेरणा लुईंटेल, शंकर थपलिया, विकास पौडेल, शम्भु कमली, प्रदीप हुमागार्इं, शारदा भण्डारी, सुरेश महर्जन, शान्तबहादुर कोइराला, हरि दाहाल र निकेश भ्लोनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सवारी दुर्घटनामा मृत्यु भएका यातायात मजदुरका परिवारलाई संघले प्रदान गरेको थप ३ लाख रुपैयाँ अनुकुमारी कार्की खड्का र निर्मला मोक्तानलाई प्रदान गरिएको थियो ।

संघको नयाँ नेतृत्वका लागि पूर्वअध्यक्ष हीरालाल श्रेष्ठ र गोकर्ण पराजुली प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । संघमा आबद्ध ७ हजार ४ सय २२ सवारीका ३ हजार ५ सय ६० सञ्चालक मतदानमा सहभागी हुनेछन् । जम्मा ४ हजार ५ सय ५५ मत खस्ने संघले जनाएको छ ।