राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाह

राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाह

आरसी न्यौपाने

परिचय

पृथ्वीनारायण शाह को हुन ? यिनले इतिहासमा निर्वाह गरेको ऐतिहासिक भूमिकालाई कसरी मूल्यांकन गर्ने ? यस विषयलाई इतिहासले महान् पहलकदमीका रूपमा मूल्यांकन गरेर पृथ्वीनारायण शाह आधुनिक राष्ट्र नेपालका जननीका रूपमा चित्रण गरिसकेको छ । तर पछिलो समय यस विषयलाई पश्चिमा साम्राज्यवादीको गुरुयोजनामा घरेलु प्रतिगामी राष्ट्रघाती दलालले अनावश्यक रूपमा भ्रम छर्ने र इतिहासलाई तोडमोड गर्ने दुस्साहस गरेको पाइन्छ । नेपालको इतिहासमा पृथ्वीनारायण शाहबारे भ्रम छर्दै अवमूल्यन गर्नुपर्ने कुनै कारण छैन । किनकि पृथ्वीनारायण शाह तत्कालीन वस्तुगत परिस्थितिको आवश्यकताले जन्माएका वीर योद्धा हुन् । यो इतिहासका निर्माता जनताले मूल्यांकन गरिसकेको विषय हो । यसै सन्दर्भमा प्लेखानोभको भनाइ छ, ‘इतिहासका महापुरुषहरू आफ्नो समयका सामाजिक सम्बन्धका उपज हुन् र तिनीहरू सामाजिक आवश्यकताअनुरूप जन्मन्छन् ।’ यसैले पृथ्वीनारायण शाह नेपालको इतिहासमा द्वन्द्ववादी दूरदर्शी विलक्षण प्रतिभाका धनी आधुनिक राष्ट्र नेपालका निर्माता हुन् भनेर बुझ्नु नै उनीप्रति र राष्ट्रप्रतिको सच्चा मूल्यांकन हुन्छ ।

विषय विस्तार

तत्कालीन अन्तर्राष्ट्रिय परिस्थितिमा ब्रिटिस साम्राज्यवादको विश्वव्यापी दबदबा हुनुका साथै छिमेकी भारतमा ब्रिटिस साम्राज्यको प्रभुत्व कायम थियो । यता नेपालको तत्कालिन परिस्थिति ससाना राज्यमा विभक्त बाइसे चौबीसे राज्य, उपत्यकाका मल्ल राज्य, सेन राज्य आदि राज्यमा आन्तरिक कलह र कचिंगलले गर्दा त्यस राज्यका जनता वाकदिक्क हुनुका साथै प्रताडित थिए । त्यतिबेला ब्रिटिस साम्राज्यवादी षडयन्त्रसँग जोडिएको इष्ट–इन्डिया कम्पनीको प्रतिकूल प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावनालाई नकार्न मिल्ने अवस्था थिएन ।
यस्तो साम्राज्यवादी षडयन्त्रलाई मिहिन पाराले नियालिरहेका पृथ्वीनारायण शाहले त्यतिबेलाका राज्य रजौटालाई एकीकरण गरी विशाल राष्ट्र निर्माण नगरे साम्राज्यवादीको विस्तारबाट नेपाललाई बचाउन सकिदैन भन्ने बुझे । यही बुझाइको अर्थमा तत्कालीन वस्तुगत परिस्थितिको कारणले ससाना राज्यको एकीकरण गरी विशाल राष्ट्र निर्माण गर्नुपर्ने आवश्यकता थियो । सोही आवश्यकता पूरा गर्न पृथ्वीनारायण शाहले एकीकरण अभियान आरम्भ गरे ।
यसै विषयलाई लिएर नेकपाका संस्थापक पुष्पलालको भनाइ छ, ‘एकीकरण अभियान समयको आवश्यकताको द्योतक हो ।’ त्यसैले इतिहासको मूल्यांक्न गर्दा पूर्वाग्रही ढंग्ले गर्नु हुँदैन । हामी माक्र्सवादीले इतिहासको मूल्यांक्न गर्दा वस्तुगत परिस्थिीतको ठोस विश्लेषण गरी एतिहासिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको जगमा मूल्यांकन गर्नुपर्छ । यही मूल्यांकनको विधि नै न्याय संगत र वैज्ञानिक हुन्छ ।
एउटा सानो गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले विशेष योजनाका साथ आफ्ना भाइभारदारको सहयोगमा विशाल राष्ट्र नेपाल निर्माण गर्ने महान अभियान तथा क्रान्ति छेड्ने कुरा सामान्य कुरा थिएन । आधुनिक राष्ट्र निर्माण गर्न दृढ संकल्पका साथ उनले आवश्यक तपसिलका राजनीतिक, कूटनीतिक तथा सामरिक आदि कार्यनीति रणनीति अपनाएका थिए । जुन तत्कालीन इतिहासले उजागर गरेको पाइन्छ ।

पृथ्वीनारायण शाहले तेस्रोपटक नुवाकोट आक्रमण गरी १८०१ सालमा विजय हासिल गरे । यसै सिलसिलामा उनले काठमाडौंको चन्द्रागिरि डाँडाबाट जुँगाको ताउ लाउँदै उपत्यकालाई हात पार्ने मनोकांक्षा देखाए । यही आफ्नो मनोकांक्षा पूरा गर्न भक्तपुर राज्यसँग मितेरी साइनोसमेत लगाउन भ्याए । त्यसपछि पटक–पटक संघर्ष र कूटनीतिक चालबाजीका साथ उपत्यकाका सबै राज्यमाथि विजय हासिल गरे । यसरी मानव सभ्यता र संस्कृतिको खानी नेपाल उपत्यकामाथि विजय हासिल गरेपछि पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा स्पातिलो जग बसाल्न सफल भए ।
उपत्यका विजयपश्चात् तत्कालै पृथ्वीनारायण शाहले उपत्यका हात पार्नुभन्दा पहिल्यै नेपाल (काठमाडांै) उपत्यका छिरेर आफ्नो प्रभाव विस्तार गरिरहेका क्रिस्चियन पादरीलाई देश निष्कासनको आज्ञा जारी गरे । इस्ट–इन्डिया कम्पनीको जासुसका रूपमा नेपालमा कार्यरत पादरीले नेपाललाई विखण्डन गर्ने र धर्मको व्यापक प्रचार गराई क्रिस्चियन देश बनाउने केपुचिन पादरीको षड्यन्त्रलाई चकनाचुर पार्न पृथ्वीनारायण शाहले पादरीहरूको हुर्मत लिएका थिए । यसबाट यो प्रस्ट हुन्छ कि पृथ्वीनारायण ब्रिटिस साम्राज्यवादका हरेक हत्कण्डाविरुद्ध सशक्त रूपमा लडेर राष्ट्रिय स्वाभिमान र विशाल राष्ट्र निर्माणको अभियानमा दृढ संकल्पित थिए । पृथ्वीनारायण शाहले उपत्यका विजयपश्चात् अमरसिंह थापाको नेतृत्वमा एकीकरण अभियानलाई पूर्वतिर बढाउँछन् । र पूर्वका चौदण्डी, मोरङ विजयपुर प्रदेशमा विजय हासिल प्राप्त गर्छन् । पुनःएकीकरण अभियान चलाइरहेकै बखत राजा पृथ्वीनारायण शाह अस्वस्थ हुन पुग्छन् । त्यत्तिकैमा दरबारभित्र विभिन्न कलह तथा अन्तर्विरोधको बीउ रोपिन पुग्छ । प्रतिकूल स्वास्थ्यको घडीमा आफ्ना भाइभारदारलाई नुवाकोट दरबारमा ठूलो भारदारीसभा डाकी सबैलाई मिलेर काम गर्न र आफ्नो अधुरोे बाँकी कार्यभार पूरा गर्न अर्ती उपदेश दिएका थिए । उनले भनेका थिए ‘बडा दुःखले जोरेको अधिराज्यलाई देशका छोटाबडा सबैले साझा फूलबारी सम्झेर रक्षा गर्नू, भोगविलासतिर कोही नलाग्नू, आपसमा मेलजोल गरेर रहनू ।’

‘ब्रिटिसहरू एक हातमा बाइबल र अर्को हातमा तरबार लिएर बस्छन् । यी क्रिस्चियनहरू नेपाल भित्रिए भने यहा“को राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, सार्वभौमिकता, धर्म संस्कृति परम्परामा नराम्रो दखल गर्छन्।’ यो कुरा बुझेर पृथ्वीनारायण शाहले नेपाल उपत्यकामा पहिल्यै छिरेका क्रिस्चियन पादरीलाई देश निकाला गर्नुका साथै भविष्यमा समेत प्रवेशमा रोक लगाएका थिए

पृथ्वीनारायण शाह जीवनको अन्तिम घडीमा पनि आफ्नो विशाल समृद्ध राष्ट्र नेपाल निर्माण अभियानबाट प्राप्त उपलब्धि नगुमून् भन्नेमा चिन्तित थिए । उनको १८३१ सालमा निधन भयो । पृथ्वीनारायण शाहको असामयिक निधनबाट देशले ठूलो क्षति बेहोर्नुप¥यो । शोकलाई शक्तिमा बदल्दै उनको अधुरो सपना पूरा गर्न उनका उत्तराधिकारी भाइभारदार– प्रतापसिंह शाह, रणबहादुर शाह, राजेन्द्र लक्ष्मी, बहादुर शाह, अमरसिंह थापा, भीमसेन थापा, वलभद्र कँुवर, दामोदर पाण्डे, रामकृष्ण रानालगायतको शक्तिशाली दलबलले एकीकरण अभियान जारी राखे । बहादुर शाह र अमर सिंह, भीमसेन थापाको विशेष नेतृत्वमा नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा काँकडासम्म फैलिरहेकै घडीमा अंग्रेजहरूको सामरिक तागत पनि शक्तिशाली भइसकेको थियो ।
त्यसबखत अंग्रेजले नेपाललाई चारैतिरबाट घेर्ने रणनीति अपनाई एकैचोटी आक्रमण गरिहाले । बहादुर नेपाली लडाकुले पनि आफ्नो सम्पूर्ण तागत खर्चेर लड्न कुनै कसर बाँकी राखेनन् । तर अन्तिममा प्राविधिक कमजोरीका कारण नेपालले अंग्रेजसँग युद्ध रणनीति बदल्यो । मेचीपूर्वका र महाकालीपश्चिमका साथै तराईका केही भूभाग छोडेर सन् १८१६ मा षड्यन्त्रमूलक ढंगले सुगौली ड्राÏट अनुमोदनको परिस्थिति निर्माण गर्न नेपाललाई बाध्य पारियो । जसबाट नेपालले धेरै भूभाग गुमाउनुप¥यो । यसरी उतारचढावका बाबजुत पृथ्वीनारायण शाहले जगाएको एकीकरणको अभियानबाटै आज हामी शिर ठाडो पारी नेपाली भई बाँच्न सकेका छौं । तसर्थ यो ठोकुवा गर्न सकिन्छ कि पृथ्वीनारायण शाहकै उदयको कारणले आधुनिक नेपालको जन्म हुन पुगेको हो । आधुनिक राष्ट्र नेपालको रक्षाका खातिर चुनौती बनेका ब्रिटिस साम्राज्यवादको कार्यनीति र रणनीति बुझेका पृथ्वीनारायण शाहले यसो भनेका थिए, ‘ब्रिटिसहरू एक हातमा बाइबल र अर्को हातमा तरबार लिएर बस्छन्, यी क्रिस्चियनहरू नेपाल भित्रिए भने यहाँको राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, सार्वभौमिकता, धर्म संस्कृति परमपरामा नराम्रो दखल गर्छन् ।’ यो कुरा बुझेर पृथ्वीनारायण शाहले नेपाल उपत्यकामा पहिल्यै छिरेका क्रिस्चियन पादरीलाई देश निकाला गर्नुका साथै भविष्यमा समेत प्रवेशमा रोक लगाएका थिए ।

विशाल राष्ट्र निर्माणको महान् अभियान नेपालको इतिहासको स्वर्णिम अध्याय हो । पृथ्वीनारायणको उक्त महान् अभियानलाई गोर्खाको सानो थुम्के राजाको ठूलो देशको राजा बन्ने दाउका रूपमा बुझ्नु गल्ती हुन्छ । युद्धमा भएका सामान्य कमीकमजोरी औंल्याउँदै पृथ्वीनारायण शाहमाथि अनावश्यक अनुचित आक्रमण गर्नु देशभक्त नेपालीका लागि शोभनीय होइन । छरिएर रहेका ससाना भुरे टाकुरे, राज्यलाई लोकतान्त्रिक अभ्यासबाट एकत्रित गरी राष्ट्र निर्माण गर्न सम्भव थिएन । त्यतिबेला शान्तिपूर्ण विधिबाट राष्ट्र निर्माण भएको इतिहास संसारमै कहीँ कतै पनि भेटिँदैन ।
अहिलेको विश्वमा अस्तित्वमा रहेका प्रायः सबै राष्ट्रको जन्म त्यहाँका कुनै न कुनै वीर राजा तथा वीर सेनापति शासकले नेतृत्व गरेको युद्धको प्रक्रियाबाटै हुन पुगेको छ । जस्तैः रूसका राष्ट्रनिर्माता सम्राट जार, चीनका राष्ट्रनिर्माता सी ह्वाङ ती, जर्मनका राष्ट्रनिर्माता बिस्मार्क, फ्रान्सका राष्ट्रनिर्माता नेपोलियन, भारतका राष्ट्रनिर्माता अशोकजस्ता वीर राजा वा सेनापतिको नेतृत्वमा भएका युद्धको विधिबाटै निर्माण भएका हुन् । आज रुस, चीन, जर्मन, फ्रान्स, भारतका हरेक कम्युनिस्ट पार्टीलगायतका राजनीतिक पार्टीहरू एवं विभिन्न समुदायले त्यहाँको राष्ट्रनिर्माण गर्ने वीर सम्राट तथा राष्ट्रनिर्माताप्रति सच्चा सम्मान गर्न कुनै कञ्जुस्याइँ गर्दैनन् । तर हाम्रो देशमा ठीक उल्टो छ । विदेशी राष्ट्रप्रमुख आउँदा सार्वजनिक बिदा दिने तर आफ्नो राष्ट्रनिर्माताको बेवास्ता गर्नु बेठीक कुरा हो । हामीले हाम्रो सभ्यता र इतिहासको उपहास गर्ने होइन कि उच्च सम्मान र उचित मूल्यांकन गर्न विलम्ब गर्नुहुँदैन ।

निष्कर्ष

आधुनिक राष्ट्र नेपाल निर्माणको अभियानबारे ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट मूल्यांकन गर्दा तत्कालीन वस्तुगत परिस्थितिको टड्कारो आवश्यकता एवं अपरिहार्यताको रूपमा महŒवपूर्ण कदम भनेर बुझ्नु नै वैज्ञानिक हुन्छ । एकीकरण अभियानमा नेपाली पक्षबाट प्रचुर देशभक्तिको भावनाले अभिभूत भई त्याग, वीरता र बलिदानको अपूर्व कीर्तिमान स्थापित गरियो । त्यसैले पृथ्वीनारायण शाहको नेतृत्वको एकीकरण अभियानलाई नेपालको इतिहासमा महान छलाङका रूपमा बुझ्नुपर्छ । पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण मात्र गरेनन्, उनले दिगो स्थिरता र समृद्धिका लागि केही महŒवपूर्ण चिरस्थायी कार्ययोजनासमेत तय गरेर छाडेका छन् ।
सामन्ति राजतन्त्र विकाससम्बन्धी नेपाली प्रक्रिया फ्रेडरिक एंगेल्सले परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्तिमा गरेको अनुसन्धान र संश्लेषनसँग मेल खान्छ । अहिले दलहरू आफ्नो मुलुकको स्वर्णिम इतिहास स्मरण क्षमताबाट विचलित भइरहेको सबैले अनुभूत गरेको तीतो सत्य हो । यस संघीन कठिन परिस्थितिलाई पार लगाउन सक्नु नै सार्वभौम नेपाल निरन्तरताको महायज्ञ हो ।