उचालिएर पछारिने हामी

उचालिएर पछारिने हामी

पवन मधुश्री

युरो अमेरिकन साम्राज्यवादसम्म नाभी जोडिएको भारतीय विस्तारवाद विभिन्न स्वरूपमा प्रस्तुत भए पनि उचालेर पछार्ने यसको मूल विस्तारवादी चरित्र हो । सुरुमा ल्याटिन अमेरिका, दक्षिण अफ्रिका, र मध्यपूर्वसम्म हातहतियारले सुसज्जित भई उपस्थित भएको अमेरिकी साम्राज्यवाद सोभियत संघको विघटनपश्चात् एसिया प्रशान्त क्षेत्रसम्म नयाँ चरित्रमा प्रस्तुत हुँदै छ । यो आलेख साम्राज्यवादका विकेन्द्रित केही विश्वव्यापी झलकहरू उजागर गर्दै नेपालको परिवेशमा टुंग्याइनेछ । इरानसँग सुमधुर सम्बन्ध रहेको अमेरिका सन् १९७९ मा आयतोल्लाह खमेनीको नेतृत्वमा भएको इस्लामिक क्रान्तिले आफ्ना विश्वाशिला मित्र शाहको निरंकुश राजतन्त्र ढलेपछि निकै क्रुद्ध बन्यो । खमेनीले इस्लाम धर्मअनुसार इरानमा राज्य चलाउन थालेपछि यसअघि खाडी क्षेत्रमा वर्चस्व रहेका तेल कम्पनीमाथि नियन्त्रण कायम राख्न अमेरिकालाई बलियो र विश्वासिलो मित्रको आवश्यकता प¥यो । अमेरिकी आँखामा खाडी क्षेत्रमा इरानलाई टक्कर दिने इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसैन उपयुक्त पात्र देखिए । जासुसी सूचना सूचीकृत गर्ने उपकरणसहित अत्याधुनिक हातहतियार र डलरको ओइरो लगाएर अमेरिकाले सद्दाम हुसैनलाई इरानविरुद्ध युद्ध गर्न उक्सायो ।

अन्ततः सीमा विवादलाई निहुँ बनाएर इराकले ५ सेप्टेम्बर, १९८० मा इरानका तेलक्षेत्रमा भीषण आक्रमण गरी ८ अगस्त १९८८ मा विजय प्राप्त ग¥यो । अमेरिकी बैशाखी टेकेर शक्ति उन्मादले आफूलाई खाडी क्षेत्रकै भष्मासुर सम्झेका सद्दाम हुसैनले नजिकैको छिमेकी कुवेतसँग पनि निहुँ खोज्यो । अमेरिकाले पनि सद्दामलाई उक्साइरह्यो । अमेरिकी सहयोगले हौसिएको इराकले कुवेतसँग पनि सीमा विवादको निहुँ बनाएर २ अगस्ट १९९० बिहान कुवेतका तेलक्षेत्रलाई लक्षित गरी बमबारी ग¥यो । अन्ततः सद्दामले कुवेतलाई आफ्नो १९औं प्रान्त घोषणा गरे ।
खाडी क्षेत्रको तेल भण्डारमाथि गिद्धेदृष्टि लगाएको अमेरिकालाई इरान तहसनहस बनाइसकेपछि इराकको कुनै आवश्यकता थिएन । इरान—इराक आठवर्षे युद्धमा इराकी अर्थतन्त्र जर्जर भइसकेको थियो । इराकी तेल क्षेत्रमाथि एकाधिकार जमाइरहेका पश्चिमा कम्पनीहरूलाई सद्दाम बाधा अड्चन गर्न थालिसकेका थिए । इराकसँग खतरनाक रासायनिक र जैविक हातहतियार रहेको र यी हतियारबाट विश्वलाई नै खतरा उत्पन्न भएको निहुँमा अमेरिकाले सन् १९९० र २००४ मा गरी दुईपटक इराकमाथि आक्रमण ग¥यो । वमबारीबाट मार्ने योजना सफल नभएपछि ४८ जना सिया मुस्लिमहरूको हत्या गरेको मानवताविरोधी अपराधका नाममा सद्दामलाई नियन्त्रणमा लिई ३० डिसेम्बर २००६ मा अमेरिकी कठपुतली न्यायालयबाट मृत्युदण्ड दिइयो ।
सन् १९७९ मा अत्याधुनिक हातहतियार र तालिमले सुसज्जित बनाएर अमेरिकाले साउदी अरबका अर्बपति ओसामा बिन लादेनलाई अफगानिस्तानबाट रुसी सेना लखेट्न उपयोग ग¥यो । ११ डिसेम्बर २००१ मा अमेरिकामा भएको आतंककारी हमलामा तिनै ओसामा बिनलादेनको संलग्नता रहेको र उनी विश्वशान्तिका लागि खतरनाक रहेको आरोपमा २ मे २०११ मा लादेन मारिए ।

चीन र तत्कालीन सोभियत संघको पाकिस्तानमा दबदबा देखेर अमेरिकी सहयोगमा सन् १९७० मा भारतले पूर्वी पाकिस्तान विखण्डन गर्न सेख मुजिबुर रहमानलाई उचालेको थियो । अन्ततः १९७१ मा बंगलादेशको जन्म भयो । विश्व मानचित्रमा स्वतन्त्र सार्वभौम राष्ट्रको अस्तित्वमा रहेको हिमाली देश सिक्किम सन् १९७५ मा भारतमा विलय भयो । प्रजातन्त्र स्थापना गरेर हातमा थमाइदिने दिल्लीको ललीपप र रातो कार्पेटको जालमा परेर लेण्डुप दोर्जेले सिक्किम विलय गराएका थिए । लिबरेसन टाइगर्स अफ टमिल इलम नामको पृथकतावादी लडाकु दस्ता जन्माएर दिल्लीले श्रीलंकालाई ३० वर्षसम्म गृहयुद्धमा धकेल्न सफल भए पनि देश विखण्डन गर्ने उसको अभीष्ट तुहिएको थियो ।
दक्षिण एसियामा भारतीय विस्तारवादी अभीष्टसँग युरो अमेरिकन साम्राज्यवादी साझेदारीमा विशिष्ट वस्तुस्थितिले काम गरेको छ । सोभियत संघको पतनपछि पश्चिमी पुँजीवादी अर्थव्यवस्थालाई चुनौती दिँदै विश्व महाशक्तिका रूपमा उदाइरहेको देश चीन, नेपालको उत्तरमा पर्छ । पूर्व, पश्चिम र दक्षिणी सिमानामा भारतको उपस्थिति छ । भारतवेष्ठित विवशतामा नेपालको राजनीति सदासर्वदा गिजोलिरहन सकिने र यसैलाई बेसक्याम्प बनाएर चीनविरूद्धको रणनीति सफलीभूत हुने लक्ष्यका साथ दिल्ली उचालिएको छ । प्रतिद्वन्द्वीलाई मजबुत नबनाएसम्म लक्ष्यप्राप्तिको अभीष्ट पूरा हुन नसक्ने सुझबुझका साथ बेइजिङको प्रतिद्वन्द्वीका रूपमा दिल्लीलाई विकसित गरिँदै छ । श्रीलंका, मालदिभ्स, सिक्किम, भुटान, काश्मीरलगायतका साना देशमाथिको भारतीय दादागिरी र प्रभुत्वलाई राष्ट्रसंघलगायत युरो अमेरिकन मौनता दक्षिण एसियामा उसलाई साम्राज्यवादको बलियो र भरपर्दो साथी बनाउने गुपचुप रणनीतिभित्रको मामिला हो ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सहयोगी हात पसारेर नेपाल छिरेको भारत त्यसबेलाको प्रमुख शक्ति नेपाली कांग्रेसमार्फत नेपालको राज्यसत्तावरिपरि घुम्यो । राजा, कांग्रेस र कम्युनिस्टमध्ये उसको रोजाइमा नेपाली कांग्रेस प¥यो । भारतीय स्वतन्त्रता आन्दोलनमा पनि भाग लिएको र निरंकुश जहानियाँ राणाशासनविरूद्धको आन्दोलनमा नेपाली नेतृत्वदायी भूमिका रहेकाले उसमाथि जनविश्वासको छाप परेको र राजा कम्युनिस्टभन्दा आफ्नो अनुकूलतामा परिचालित हुने प्रचुर सम्भाव्यता भएका कारण रोजाइमा नेपाली कांग्रेस नै पर्नु स्वाभाविक थियो । कांग्रेसको पालामा कोसी, गण्डक सम्झौता हुँदै नेपालको परराष्ट्र नीति, गृह तथा रक्षा प्रशासनको रिमोट दिल्लीबाट सञ्चालन हुनेगरी भारतीय हस्तक्षेप बढिरहेका बेला राजा महेन्द्रले २०१७ सालमा एकदलीय पञ्चायती व्यवस्थाको सुत्रपात गरे । ३० वर्षे पञ्चायतकाल तुलनात्मक रूपले भारतीय हस्तक्षेप कम भएको समय हो ।
पञ्चायतकालमा नेपालको सिमानामा स्थापना गरिएका भारतीय सुरक्षा चेकपोस्ट २०२७ सालमा हटाइए । प्रतिशोधमा सोही वर्ष भारतले नाकाबन्दी ग¥यो । अर्कोपटक २०४५ मा चीनबाट हातहतियार खरिद गरेको निहुँमा नेपालले नाकाबन्दी सहनुप¥यो । आफ्नो अभीष्टमा बाधक बनिरहेको नेपालको राजतन्त्रसँग २०४६ मा दिल्लीले जनआन्दोलनलाई साथ दिएर राम्रै बदला लियो ।

२००७ देखि २०१५ सालको अस्थिर र हस्तक्षेपकारी इतिहास २०४६ सालपछि पुनरावृत्ति गरियो । नेपालमा आफ्नो हस्तक्षेपकारी भूमिका स्थापित गर्न यहाँ राजनीतिक अस्थिरताको बीउ रोप्न आवश्यक थियो । २०४८ को आमनिर्वाचनमा अत्यधिक बहुमत प्राप्त दल नेपाली कांग्रेसलाई गुटबन्दीको सिकार बनाइयो । परिणामस्वरूप स्पष्ट बहुमत हुँदाहुँदै पनि नेपाली कांग्रेसको सरकार तीन वर्षभन्दा बढी टिकेन । नेपालको राजनीतिमा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी असाधारण व्यक्तित्वका रूपमा देखापरे । मदन भण्डारीमा देखिएको असाधारण क्षमता र राष्ट्रिय स्वाधीनताका पक्षमा उर्लिरहेका उनका अभिव्यक्तिबाट तर्सिएको युरो अमेरिकन साम्राज्यवादको योजनामा उनलाई त्रिशूली नदीमा सेलाइयो ।
२०५१ सालको मध्यावधि निर्वाचनपछि बनेको नेकपा एमालेको अल्पमतको सरकारले छोटो समयमै राम्रो लक्षण देखाएपछि नौ महिनाभित्र गलहत्ती खानुप¥यो । आशालाग्दो पात्रलाई उचालेर केही समय जनमत लठ्याउने र आकाश पु¥याइसकेपछि उठ्न नसक्नेगरी पातालमा पछार्नु साम्राज्यवादी रणनीतिकै अभियान हो । नौमहिने अल्पमतको सरकारबाट नेकपा एमालेले लोकप्रियता कमाउनु, एकपटक कांग्रेसलाई आकाश पु¥याएर पछारिसकिएको अवस्थाबाट विकसित परिस्थितिमा नयाँ योजनाको चलाखीपूर्ण खोजी गरियो । एउटा ढुंगाले दुईवटा चरा मार्ने रणनीतिअनुरूप २०५२ सालमा माओवादीको छनोट र २०५६ सालमा नेकपा एमालेको विभाजनजस्ता परिघटना घटाइए ।

सभ्यता र संस्कृति समाजको प्राण हो । यसको निर्माणमा हजारौं वर्षको लगानी हुन्छ । हतियार युद्धले हुने परिवर्तन क्षणिक हुन्छन् । कुनै पनि समाजको सभ्यता र संस्कृति ध्वस्त गर्न सकियो भने त्यसको असर अपुरणीय हुन्छ । पश्चिमी साम्राज्यवाद सभ्यता र संस्कृतिलाई प्रमुख निशाना बनाउ“दै बढिरहेको छ

सभ्यता र संस्कृति समाजको प्राण हो । यसको निर्माणमा हजारौं वर्षको लगानी हुन्छ । हतियार युद्धले हुने परिवर्तन क्षणिक हुन्छन् । कुनै पनि समाजको सभ्यता र संस्कृति ध्वस्त गर्न सकियो भने त्यसको असर अपुरणीय हुन्छ । पश्चिमी साम्राज्यवाद सभ्यता र संस्कृतिलाई प्रमुख निशाना बनाउँदै बढिरहेको छ । एसिया महादेश सभ्यताको केन्द्र हो । विश्वका करिब ८० प्रतिशत जनसंख्या समेट्ने वैदिक, बौद्ध र इस्लाम सभ्यताको थलो एसिया हो । अफगानिस्तानलाई पूर्वी एसियाबाट सीमांकन हुनेगरी मध्यपूर्व र खाडी क्षेत्रको इस्लाम सभ्यता अलग्याउने साम्राज्यवादी अभियान सफल भइसकेको छ ।
यहाँका मुस्लिम देशहरू एसिया महादेशमा पर्छन् तर एसियाका जस्ता देखिँदैनन् । उनीहरूको मनोविज्ञानमा पूर्वी एसियासँग कुनै साइनो सम्बन्ध छैन । अफगानिस्तानदेखि बर्मासम्मको हिमालयदेखि दक्षिणको वैदिक सभ्यतालाई तीव्र इसाईकरण गर्ने अभियान जारी छ । यो बौद्ध सभ्यतालाई हिमालयवारि आउनै नदिने र एसियाको करिब ८० प्रतिशत जनसंख्यालाई खण्डीकरण गर्ने साम्राज्यवादी उद्देश्यअनुरूप सभ्यतामाथिको भद्दा आक्रमण हो ।
साम्राज्यवादी रणनीतिको अर्को अभियान सामाजिक विग्रह हो । यसका लागि बहुराष्ट्रवाद, एनजीओकरण, महिलावादको नारा उचालिन्छन् र समाजलाई भ्रष्टीकरणको अखडा बनाइन्छ ।

नेपालमा द्वन्द्व, द्वेष र असहिष्णुताको बीउ रोपेर जातीय र साम्प्रदायिक राज्यको बिगुल फुकिएको छ । गाउँगाउँमा पसेका एनजीओहरूले नागरिक मनोविज्ञानमा राष्ट्रियताविरुद्ध मन्दविष मिसाइदिएका छन् । राज्यको स्थायी शक्ति केन्द्र ध्वस्त गरेर राज्यप्रणाली तहसनहस बनाउनु साम्राज्यवादको अर्को हमला हो । नेपालको स्थायी शक्तिकेन्द्र भनेकै राजदरबार थियो । २०५८ सालसम्म आइपुग्दा नेकपा माओवादीको उपयोगमा रणनीतिक औचित्य समाप्त हुन थालेको संकेत देखिन लागेपछि दरबार हत्याकाण्ड घटाइयो । स्थायी शक्ति ध्वस्त गरेर मात्र हुँदैन, त्यसको उपादेहिता रणनीति कार्यान्वयन गराउनुसँग हुन्छ । नयाँ दिल्लीमा भएको १२ बुँदे सहमति दरबार हत्याकाण्डकै एउटा कडी थियो । नयाँ विकसित परिवेशमा संघीयता, समावेशिता र अधिकारका मुद्दामा नेपाली समाजलाई अल्मल्याउनु थियो । यो अभियानमा मधेस र जनजाति आन्दोलनको उठान गरियो ।
हालै भएको निर्वाचनले जनादेश वाम गठबन्धनको पोल्टामा देखाएपछि साम्राज्यवादका लागि नेपालमा नयाँ परिवेश विकसित भएको छ । वर्षौंदेखिको गेमप्लान कतै असफल हुने त होइन भन्ने चिन्ताले उसको निदहराम भएको छ । यतिबेला उसले सम्भव भएसम्मका विकल्पहरू स्थापित गर्न न्वारानदेखिको बल प्रयोग गर्ने कुरामा शंका छैन । अयोधिप्रसाद यादवलाई मतपरिणाम गुपचुप राख्न लगाएर होस् वा शेरबहादुर देउवामार्फत प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्न लगाएर होस् सम्भावित राजनीतिक स्थिरता भाँड्ने प्रपञ्चबाट साम्राज्यवाद मुखरित भइरहेको छ । यो जटिल भूराजनीतिक यथार्थता बुझेर साम्राज्यवादी अभीष्ट परास्त गर्न सक्नु नै आजको आवश्यकता हो । यसका लागि नेकपा एमाले र एमाओवादी केन्द्र उचालिएर पछारिने होइन, पछारेर अगाडि बढ्न सामर्थ हुनुपर्छ । सामथ्र्य प्राप्तिको एउटै विकल्प हो – पार्टी एकीकरण ।