‘सुसाइड जंगल’को भिडियोबारे पलले मागे माफी

वासिंगटन / एजेन्सी– अमेरिकी युट्युब स्टार लोगेन पलले आफूले खिचेको एक भिडियोमा मानिसको शवसमेत देखाएकोमा माफी मागेका छन् । सो भिडियोमा उनले जापानको ओकिगाहारा जंगलमा आत्महत्या गरेका एक व्यक्तिको शव देखाएका थिए । आफ्ना साथीसँग सुटिङ गरेका पल यो भिडियोमा हाँसिरहेको अवस्थामा देखिएका थिए ।

भिडियो अपलोड गरेपछि उनको इन्टरनेटमा नै कडा आलोचना भएको थियो । केही मानिसहरूले यसलाई ‘अपमानजनक’ र ‘घिनलाग्दो’ काम भएको बताए । त्यसपछि उनले भिडियो हटाएर माफी मागेका हुन् । उनले माफी माग्दै आफ्नो उद्देश्य आत्महत्या रोक्न जागरुकता फैलाउन भएको र नकारात्मकता फैलाउनु नभएको बताए ।

ट्वीटरमा एक भिडियो पोस्ट गर्दै उनले भनेका छन्, ‘त्यो जंगलमा शवैशव भेटिएर हैरान नै परेको थियो, यसकारण मबाट यो गल्ती भयो । मैले यो भिडियो पोस्ट गर्नुहुने थिएन । जसरी त्यो शव भेटियो, मैले त्यहाँ क्यामरा हटाउनुपर्ने थियो र रेकर्डिङ बन्द गर्नुपर्ने थियो । म केही विषयलाई अलग तरिकाले गर्न सक्ने थिएँ, म आफैंलाई लज्जाबोध भयो ।’

तर जापानको यो जंगल कुन थियो, जसलाई ‘सुसाइड फरेस्ट’ अर्थात् ‘आत्महत्या गर्ने जंगल’ भनिन्छ । ओकिगाहारा जंगलमा शव पाउनु सामान्य कुरा हो र यहाँ हरेक वर्ष दर्जनौं मानिसले आत्महत्या गर्ने गर्छन् । यो जंगल टोकियोबाट करिब सय किलोमिटर टाढा माउन्ट फुजीको उत्तरपश्चिमी बेसक्याम्पनजिकै रहेको छ । यहाँ हरेक वर्ष ५० देखि सय मानिसले आत्महत्या गर्छन् । यो जंगलमा यति ठूला र घना रूख रहेका छन् कि हावासमेत ठीक ढंगले आउँदैन । साथै जंगली जनावरसमेत नबस्ने भएकाले यो जंगल शान्त जंगलका रूपमा लिइन्छ भने केही चट्टानी गुफासमेत छन् ।

अमेरिकाको सनफ्रान्सिस्कोको गोल्डनगेट ब्रिजको जंगलजस्तैमा यो जापानी जंगल पर्छ, जहाँ धेरै मानिसहरूले आफ्नो जीवनको अन्त्य गरिसकेका छन् । यो जंगलमा ‘मृत्युको कथा’मा एक फिल्म ‘द फरेस्ट’समेत बनेको छ । यो फिल्म सन् २०१६ मा रिलिज भएको थियो ।

ओकिगाहारा जंगलमा आत्महत्या रोक्नका लागि प्रशासनले समेत केही प्रयासहरू गरिरहेको छ । जंगल पस्ने बेलामा नै एक सूचना राखिएको छ । जसमा लेखिएको छ, ‘एकपटक फेरि तपाईंलाई प्राप्त जीवनका बारेमा सोच्नुहोस्, आफ्ना आमाबाबु, आफ्ना भाइबहिनीका बारेमा सोच्नुहोस् र सबथोक एक्लै सहनुभन्दा अघि कसैलाई सम्पर्क गर्नुहोस् ।’ सो सूचनामा सहयोग पाउनका लागि फोननम्बरसमेत लेखिएको छ ।

जापानका मानिसहरू एक कथाबाट प्रेरित भएर यो जंगलमा ज्यान दिन आउँछन् । सेइचो माट्सुमोटोको कथा ‘कुरोई जुकाई’ (द ब्ल्याक सी अबट्रिज) सन् १९६० मा छापिएको थियो । यो कथाको अन्त्यमा एक प्रेमजोडी ओकिगाहारा जंगलमा आएर ज्यान दिन्छन् । केही मानिसहरूका अनुुसार ज्यान दिने यो जंगलको प्रयोग गर्ने परम्परा १९औं शताब्दीको ‘उबासुते प्रथा’बाट आएको मान्छन् । यो प्रथाका अनुसार अकालको समयमा इच्छामृत्युका लागि वृद्ध मानिसहरूलाई जंगलमा छाडिन्थ्यो ।

यहाँसम्म कि सन् १९९३ मा आएको एक किताब ‘द कम्प्लिट हेन्डबुक अफ सुसाइड’मा ओकिगाहारालाई ‘मृत्युका लागि उत्कृष्ट स्थान’ बताइएको छ । यो किताबमा झुन्डिएर मर्नुलाई ‘वर्क अफ आर्ट’ भनिएको छ । यो किताब लाखौं प्रति बिक्री भयो र पछि यो किताब जापानमा प्रतिबन्ध लगाइयो । संसारमा करिब ८ लाख मानिसले बर्सेनि आत्महत्या गर्ने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा बढी आत्महत्या गर्नेमध्येका पाँच देशमा जापानसमेत सामेल छ । सन् २०१५ मा जापानमा आत्महत्याको दर विकासशील देशको भन्दा बढी रहेको पाइएको थियो ।

टोकियोको टेम्पल युनिभर्सिटीका मनोवैज्ञानिक भन्छन्, ‘एक्लोपन, डिप्रेसन आत्महत्याको मुख्य कारण हो ।’ केही विशेषज्ञले जापानमा वृद्ध मानिसको धेरैजसो मृत्यु आत्महत्या हुनसक्ने बताउँछन् । उनी भन्छन्, ‘एक्लै बस्ने वृद्ध मानिसहरूको मृत्युका घटनाहरू बढिरहेका छन्, उनीहरूका छोराछोरी यसलाई नजरअन्दाज गर्छन् ।’