क्यालिफोर्निया पहिरोमा १३ जनाको मृत्यु

क्यालिफोर्निया / एजेन्सी– दक्षिण क्यालिफोर्नियामा आएको आएको बाढीपहिरोमा परी कम्तीमा पनि १३ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा ठूलो डढेलोको मारमा परेको सो क्षेत्रमा महिनौंपश्चात् परेको पानीका कारण बाढीपहिरो निम्तिएको हो ।

मुख्य तटीय मार्गको करिब ५० किलोमिटर खण्ड पहिरोका कारण अवरुद्ध बनेको बताइएको छ । प्रहरीले त्यहाँको दृश्यलाई प्रथम विश्व युद्धस्थलजस्तो देखिएको टिप्पणी गरेको छ । अधिकारीहरूका अनुसार मन्टेसिटो नगरमा रहेका घरहरूमा करिब ३ सय मानिस फसिरहेका हुन सक्ने अनुमान गरिएको छ ।

सो क्षेत्रमा जाने सडक मार्गसमेत अवरुद्ध भएकाले खोज तथा उद्धार कार्यमा अवरोध उत्पन्न भएपछि हवाई मार्गबाट खोज तथा उद्धार गरिने बताइएको छ । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

पहिरोमा परेका ५० भन्दा बढीको उद्धार गरिसकिएको प्रहरीले जनाएको छ । पहिरोका कारण अझै कतिपय ठाउँमा उद्धारकर्मी पुग्न सकेका छैनन् । टेलिभिजनमा देखिएका दृश्यहरूमा सो नगरका सडकहरूमा बाक्लो हिलो रहेको तथा सवारीसाधनहरूसमेत बगाएको देखिएकोछ । अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी वर्षापछिको कडा हावाका कारण ठूलो क्षति भएको बताइएको छ ।