सम्बन्ध सुधारका लागि किमसँग वार्ता गर्न तयार : मुन

एजेन्सी / सोल

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले दुई कोरियाबीच सम्बन्ध सुधार हुने निश्चित भएमा आफू उत्तर कोरियाली नेता किम जोङ–उनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । उनले भने, ‘हाल कोरियाली प्रायद्वीपमा देखिएको अशान्तिको अवस्थामा सुधार हुन्छ र सम्बन्धमा सुधार हुन्छ भने हामी भेटघाट र वार्ता गर्न तयार छौं, त्यसका लागि म खुला नै छु ।’

गत वर्ष मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मुनले नयाँ वर्षका अवसरमा अर्थात् गत १ जनवरीमा दिएको शुभकामना सन्देशमा पनि उनले सम्बन्ध सुधारका लागि कोरियाली सम्मेलन (कोरिया समिट) को आयोजना गर्न सुझाव दिएका थिए । उनले अहिले नै दुई कोरियाको उच्च तहमा वार्ता गरी आवश्यक सम्बन्ध सुधारका साथै कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि प्रयास गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्ता मंगलबार दक्षिण कोरियामा भएको एक दिनपछि राष्ट्रपति मुनको यो धारणा बाहिर आएको हो । आपसमा विगत लामो समयदेखि नै सत्रुतापूर्ण सम्बन्ध रहेका दुई कोरियाबीच पछिल्लो दुई वर्षभन्दा लामो समयपछि पहिलोपटक उच्चस्तरीय वार्ता भएको हो । यो वार्तापछि वातावरण निर्माण भएकाले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति इनले जोड दिए । मंगलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आÏनो सहभागिता रहने बताएको छ ।

उत्तर कोरियाले आÏना खेलाडी र प्रतिनिधिहरू फेबु्रअरीमा हुन लागेको सो शीतकालीन ओलम्पिकमा सहभागी हुन पठाउने भएको जनाएको हो । वार्तामा विशेषगरी विन्टर ओलम्पिकको विषयमा कुराकानी भएको बताइएको छ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा प्रसंग उठे पनि त्यसमा कुनै निर्णय नभएको र उत्तर कोरियाली वार्ता प्रतिनिधिले यस विषयमा आफूहरूले कुनै निर्णय दिन नसक्ने बताएका थिए ।

तनाव अन्त्यका लागि सैन्य वार्ता गर्न सहमति

यसैबीच, मंगलबार भएको उत्तर र दक्षिण कोरियाबीचको वार्तामा सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि सैन्य वार्ता गर्ने सहमति भएको छ । वार्तापछि जारी संयुक्त विज्ञप्तिमा विद्यमान तनाव कम गर्नका लागि सैन्य वार्ता गर्ने सहमति भएको उल्लेख गरिएको छ ।

सन् २०१५ को डिसेम्बरपछि पहिलोपटक भएको वार्तामा उत्तर कोरियाले अर्को महिना दक्षिण कोरियामा हुने हिउँदे ओलम्पिकमा सहभागिता जनाउन ठूलै टोली पठाउने विषयमा बढी छलफल भएको थियो । यसैगरी, दुई वर्षअघि निलम्बित गरिएको दुई देशबीचको हटलाइन सम्पर्क स्थापित गर्ने सहमतिसमेत भएको छ ।

दुई देशबीचको वार्ता अन्तर्राष्ट्रिय सीमामा पर्ने असैनिक क्षेत्रको पानमुनजोम नगरमा भएको थियो । सो वार्तामा दुवै पक्षबाट पाँच–पाँच जना अधिकारीहरू सहभागी भएका थिए ।