नेपालपछि जापानमा पिँजडा ब्याक अगेन

काठमाडौं / रास– आगामी ४ माघबाट देशव्यापी रिलिज हुने चलचित्र ‘पिँजडा ब्याक अगेन’ त्यही छेका पारेर जापानमा पनि प्रदर्शन हुने भएको छ । सो चलचित्र १४ माघबाट जापानका विभिन्न सहरमा प्रदर्शन हुने भएकाले आफूहरू नेपालमा रिलिजपछि प्रदर्शनका लागि जापान जाने यसका निर्देशक हिमाल केसीले बताए ।

आफैं र अभिनेता निखिल उप्रेती पिँजडा ब्याक अगेनका लागि जापान जाने पनि हिमालले बताए । २८ जनवरीमा जापान प्रिमियरपछि त्यहाँका विभिन्न सहरमा यो चलचित्र प्रदर्शनी हुने उनले बताए । जापान प्रदर्शनको अधिकार क्लासिक युथ जापानले लिएको छ ।

श्रीराम बराल, रोहित पुरी र गोविन्द गैरेद्वारा निर्मित यो चलचित्रमा निखिलसँगै सारा शिर्पाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, बिना थापा, प्रदीप दाहाल, कुशाग्र भट्टराईलगायतको अभिनय छ ।