दया र दीयाको जोडी

डब्बु क्षत्री  / काठमाडौं

अभिनेत्री दीया पुन चार वर्ष अघिसम्म अभिनेता दयाहाङ राईका लागि अपरिचित थिइन् । उनी दयाहाङको प्रशंसक थिइन् र दयाहाङका सबै चलचित्र हेर्थिन् । चलचित्रमा अभिनय गर्ने चाहना बोकेकी दीया बेलायतमा बस्दै आएकी थिइन् ।

 उनलाई मिलन चाम्सले चलचित्र ‘वीर विक्रम’मा नायिकाका लागि प्रस्ताव गरे । आफूले सर्वाधिक मन पराएको नायक दयाहाङसँग अभिनय गर्ने अवसर पाएपछि उनले त्यो भूमिका सहजै स्विकारिन् । दीयाले मेहनत गरिन् । चलचित्र वीर विक्रममा दयाहाङ र दीयाको जोडीलाई दर्शकले मन पराए । चलचित्र हिट भयो । अहिले दयाहाङ र दीया एकपछि अर्को चलचित्रमा जोडीका रूपमा प्रस्तुत भएका छन् ।

यो दुई वर्षमा चारवटा चलचित्रमा अभिनय गरेकी दियाले चारमध्ये तीनवटा चलचित्रमा दयाहाङको नायिका बनेकी छिन् । वीर विक्रमपछि दयाहाङ र दीयाले चलचित्र ह्याप्पी डेज र चलचित्र मिस्टर झोलेमा अभिनय गरे । मिस्टर झोले २८ पुसबाट देशव्यापी प्रदर्शनीमा आउँदै छ भने ह्याप्पी डेज माघमा रिलिज हुनेछ ।

दीया हरेक चलचित्रका लागि बेलायतबाट नेपाल आउँछिन् । म्याग्दीको शिख गाउँ स्थायी घर भएकी दीया काठमाडौं आएको बेला गाउँ जान्छिन् ।  फिल्मको काम सकिएपछि गाउँ  गएर केही दिन आराम गरेपछि फेरि बेलायतै फर्कन्छिन् । चलचित्र ‘मिस्टर झोले’मा दयाहाङकी नायिका बनेकी दीया यतिबेला यो चलचित्रको प्रदर्शनीको अवसर पाएर प्रचारका लागि काठमाडौं आएकी छिन् ।

राजधानीसँगको भेटमा यी अभिनेत्रीले निरन्तर तीनवटा चलचित्रमा आफ्ना प्रिय नायक दयाहाङसँगै काम गर्न पाउँदा खुसी लागेको बताइन्, ‘पहिलो चलचित्र मेरो एउटा साथीमा दया दाइले निर्वाह गरेको भूमिकापछि म उहाँको फ्यान भएकी हुँ । मलाई दया दाइको हरेक चलचित्रको काम मन पर्छ र आफ्नो प्रिय नायकसँग लगातार चलचित्रमा काम गर्न पाउँदा साँच्चै खुसी छु ।’

आफ्नो प्रशंसकसँग चलचित्रमा अभिनय गर्न पाउँदा दयाहाङलाई पनि चलचित्र वीर विक्रममा रमाइलो लाग्यो । राजधानीसँग गफिँदै दयाहाङले भने, ‘वीर विक्रममा नयाँ भएर पनि दीयाले निकै मेहनतका साथ परिपक्व अभिनय गरिन् । हक्की स्वभावकी दीयाले छायांकनको क्रममा मेहनत गरेको देखेर उनी एक दिन नेपाली चलिचत्रकी सफल नायिका हुन्छिन् भन्ने विश्वास मलाई थियो ।’ आज तीन वटा चलचित्रमा लगातार दीयाको जोड भएर काम गर्दा निकै खुसी लागेको दयाहाङले बताए ।

‘बुबा ब्रिटिस आर्मी भएका कारण विदेशमा जन्मेर उतै हुर्केकी दीयालाई सुरुमा नेपाली भाषासँगै यहाँको संस्कृतिबारे समस्या थियो । तथापि, उनले लगातार तीनवटा नेपाली चलचित्रमा मसँग गाउँले युवतीको भूमिका कुशलतापूर्वक निर्वाह गरेकी छन्,’ दयाहाङले अगाडि भने, ‘तीनवटै चलचित्रमा हामीले फरक फरक चरित्र निर्वाह गरेका छौं । आउँदा चलचित्रमा पनि नयाँ भूमिकासँगै हामी जोडी बनेर प्रस्तुत हुन सक्छौं ।’

दीयाले दयाहाङबारे भनिन्, ‘दया दाइसँग चलचित्रमा काम गर्दा उहाँले जहिले पनि यो सिन यसरी गरौं भनेर सहयोग गर्नुहुन्छ । उहाँबाट मैले सधैं सिक्ने अवसरसँगै साथ र सहयोग पाएको छु ।’ दयाहाङसँग काम गर्दा आत्मीयताका कारण कहिल्यै पनि आफूभन्दा अग्रजसँग काम गरिरहेको छु भन्ने महसुससँगै अप्ठ्यारो पनि नलागेको उनले बताइन् ।

चलचित्र मिस्टर झोलेमा पनि आफूहरू गाउँले भूमिकामा भएको दया र दीयाले खुलासा गरे । आफूहरूको भूमिकाबारे दयाहाङले भने, ‘हामी रोजगार भएर पनि राजनीतिक अस्थिरताका कारण गाउँमा पेन्डुलम भएका झोलेको भूमिकामा छौं । फरस्वरूप हामी विदेश जान पनि सक्दैनांै र आफ्नो जागिरबाट पनि सन्तुष्ट छैनौं ।’ यस्तै यस्तै विविध द्वन्द्वमा रुमलिएको पात्र आफूहरूले निर्वाह गरेको बताउँदै दयाहाङले भने, ‘दीया र मैले निर्वाह गरेको चरित्रलाई कतिपय दर्शकले स्वीकार गर्नुहुनेछ भने भने कतिपयले अस्वीकार पनि गर्नुहुनेछ । हामीले यसपटक निकै जोखिम चरित्र निर्वाह गरेका छौं ।’

मिस्टर झोलेको कथा दर्शकलाई आफ्नै भोगाइ जस्तो लाग्ने दीयाले बताइन् । लगातार तीनवटा चलचित्रमा दयाहाङसँग गाउँले भूमिका निर्वाह गरेकी दीयालाई अब सहरीया तथा आधुनिक युवतीको भूमिका निर्वाह गर्ने चाहना छ । ‘धेरै समय विदेशमा बसेर मैले जुन आधुनिक जीवनशैली बिताएँ । आफ्नो भोगाइसँग मिल्ने आधुनिक युवतीको भूमिका दयाहाङकै नायिका भएर फेरि निर्वाह गर्ने चाहना छ,’ दियाले भनिन् ।