नेपालको इन्टरनेट सञ्जालमा भारतको एकाधिकार अन्त्य , चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडियो टेलिकम

शिव दुवाडी / काठमाडौं

सरकारी स्वामित्वको नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी) चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबर लिंकसँग जोडिएको छ । नेपाल टेलिकमले चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरेसँगै नेपालको इन्टरनेट सञ्जालमा हालसम्म कायम रहेको भारतको एकाधिकारको समेत औपचारिक रूपमै अन्त्य भएको छ ।

नेपाल टेलिकमले गत वर्ष नै अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथका लागि चीनसँग सम्झौता गरी अप्टिकल फाइभरमार्फत सेवा सञ्चालन गर्न चाइना टेलिकमसँग सम्झौता गरेको थियो । सोही सम्झौताअनुरूप अहिले नेपाल चीनको अप्टिकल फाइबर लिंकसँग जोडिन पुगेको हो ।

चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको एक वर्षपछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिएको हो । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको थियो ।

यसअघि नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंकमा जोडिने विषय बारम्बार पछाडि धकेलिँदै आएको थियो । यसअघि झन्डै एक वर्षअघि नै चीनबाट इन्टरनेट ल्याउने भनिएको थियो । तर इन्टरनेटलाई चिनियाँ क्षेत्रमा हिउँले अवरोध सिर्जना गरेपछि तोकिएकै मितिमा सम्भव भएन ।

नेपालमा चीनबाट आउने इन्टरनेट सञ्जाल रसुवा नाका भएर जोडिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । अघिल्लो वर्षको जाडो महिनाभर चीनतर्फ बिग्रिएर मर्मत गर्नुपर्ने भएको इन्टरनेटको अप्टिकल फाइबर बाक्लो हिउँले पुरिएको थियो ।

हिउँले प्रभावित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि–रुटिङ गर्दै नेपाललाई इन्टरनेटमा भारतीय परनिर्भरताबाट विकल्प प्रदान गरेको छ । पहिरोमा फसेको ३ किलोमिटर अप्टिकल रुटलाई रि–रुटिङ गरेर नेपाल इन्टरनेट मार्गमा नयाँ विकल्प तयार गरेको हो । ‘नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल अप्टिकल फाइबरमार्फत जोडिएका छन्,’ टेलिकमका एक उच्च अधिकारीले भने, ‘चीनबाट आउने इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिसकेपछि शुक्रबार त्यसको औपचारिक उद्घाटनको कार्यक्रम तय भएको छ ।’ सो स्रोतका अनुसार चिनियाँ इन्टरनेट टेलिकाको केन्द्रीय नेटवर्कमै जोडिएर उपभोक्तामाझ पुग्नेछ । व्यावसायिक रूपमा भारतीय सेवा प्रदायकसँगभन्दा चीनबाट किनिएको इन्टरनेट लिंक थोरै महँगो पर्ने टेलिकम स्रोतले बतायो ।

चीनसँगको आबद्धताले अब टेलिकमको इन्टरनेट नेटवर्कलाई हङकङलगायतका अन्य मुलुकमा आबद्ध गर्न समेत सजिलो हुने भएको छ । चीन हुँदै टेकिलमको इन्टरनेट नेटवर्क अब हङकङसम्म नै जोडिएको छ । टेलिकमले हालसम्म भारतका टाटा, एयरटेल, बीएसएनएल, भारत पन्जाव र रिलायन्सबाट २२ जीबी भोल्युमको इन्टरनेट ल्याँदै आएको छ ।

चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको एक वर्षपछि चिनिया“ इन्टरनेट नेपालमा जोडियो

चीनसँग स्थल मार्ग हुँदै फाइबर जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ । भारत हुँदै प्रयोग गरिएको रुटबाहेक अन्तर्राष्ट्रिय कनेक्टिभिटीका लागि यो अर्को महŒवपूर्ण विकल्प भएको टेलिकम स्रोतले बतायो । ‘चीनसँगको इन्टरनेट आबद्धताले अप्ठेरा परिस्थितमा पनि नेपाललाई विकल्पहरू प्राप्त भएको छ,’ टेलिकम स्रोतले भन्यो, ‘नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आबद्ध भएको छ ।’

चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबका रूपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ । चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको छ । चीनले टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

यससँगै इन्टरनेटमा भारतसँग नेपालको परनिर्भरताको अन्त्य मात्र नभई सेवा छनोट गरी प्रयोग गर्ने विकल्पसमेत खुला हुनेछ । नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंकको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले संयुक्त रूपमा शुक्रबार औपचारिक उद्घाटन गर्नेछन् ।