राहत वितरणमा ढिलो नगर

राहत वितरणमा ढिलो नगर

 

मुलुकका अधिकांश क्षेत्रमा चिसो र आगलागीका कारण जनधनको क्षति हुने क्रम बढ्दो छ । चिसोबाट तराई क्षेत्र तुलनात्मक रूपमा बढी प्रभावित छ भने आगलागीका कारण ज्यान गुमाउनेको संख्या बढी नै छ । मौसम परिवर्तनसँगै सुरु भएको चिसोका कारण तराई मधेसका जिल्लामा चिसो र शीतलहरबाट हरेक वर्ष श्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता स्वास्थ्य समस्या उत्पन्न भई मानिसको मृत्यु भइरहेको छ । यसबाट पशुपक्षीसमेत मरेका छन् । यसले ठूलो मात्रामा जनधनको क्षति भइरहेको सरकारी तथ्यांकले नै सार्वजनिक गरिरहेको छ । चिसोका कारण मृत्यु हुने मानिसको संख्या बढ्न थालेपछि मात्रै सरकारले चासो देखाउनुभन्दा चिसो मौसम सुरु हुनु पहिला नै तयारी गर्नुपर्नेमा तयारी पर्याप्त नभएको स्पष्ट भएको छ ।

मौसम प्रतिकूलता र वातावरणमा आएको परिवर्तनबाट शीतलहर चल्दा विशेष गरी तराई मधेसको जनजीवन प्रभावित छ भने भूकम्पपीडित जिल्लामा अस्थायी आवासमा बसिरहेका परिवारहरू बढी प्रभावित बनेका छन् । सरकारले प्रभाव पार्न सक्ने जिल्लाहरूमा पूर्वतयारीस्वरूप आवश्यक स्रोतको बन्दोबस्त गर्न गृह मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको थियो । चिसो र आगलागीका कारण एक महिनाको अवधिमा ४३ जनाले ज्यान गुमाइसकेका छन् । यस्तो विपद्को समयमा सरकारले पूर्वतयारी गरे पनि पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको देखिँदैन । चिसोले दिनानुदिन मृत्यु हुनेको संख्या थपिँदै आएको छ । यसबाट राज्यको तयारी कमजोर साबित भएको छ । प्रभावित क्षेत्र पहिचान समयमा हुन नसक्दा पनि थप समस्या देखिएको छ ।

विपद् व्यवस्थापन ऐन बनेपछि कार्यान्वयन गर्ने निकाय गृह मन्त्रालय नै हो । चिसोबाट प्रभावित क्षेत्रमा न्यानो कपडा वितरण र स्वास्थ्य उपचारका लागि आवश्यक व्यवस्थापनमा गृहले पर्याप्त ध्यान दिन नसकेको, स्रोत परिचालन गर्न नसकेको स्पष्ट देखिन्छ । सरकारले जनधनको सुरक्षाका लागि अपनाउनुपर्ने न्यूनतम तयारीमा समेत ध्यान नदिँदा विपद्का कारण जनधनको क्षति बढेको छ । तापक्रम घट्दो अवस्थामा रहनु, जाडो छल्नका लागि कुनै उपाय नहुनुले मानव स्वास्थ्यमा थप समस्या देखिएको छ । मुलुकभर चिसो बढिरहँदा सरकारी काठ दाउरा बिक्री वितरण गर्ने निकाय टिम्बर कर्पोरेसनले विगतका वर्षमा जिल्लास्थित विपद् व्यवस्थापन समितिको सिफारिसमा दाउरा वितरण गर्ने गरेको थियो । तर यस वर्ष चिसोका कारण मर्नेको संख्या तीन दर्जन नाघिसक्दा समेत दाउरा बाँडिएको छैन । रातभर भुसको आगो तापेर पीडितले रात कटाउँदा पनि सरकारले वितरणका लागि पठाएको राहत सामग्रीसमेत समयमा पुग्न सकेको छैन । अझै पनि राहत वितरणमा ढिलाइ गर्दा थप जनधनको क्षति पुग्न सक्ने भएकाले राहतलाई सहज र सरल तरिकाले तत्काल वितरण प्रभावकारी बनाउनु आवश्यक छ ।