सरकारबाट बाहिरिँदै माओवादी , प्रधानमन्त्रीले नयाँ सरकार गठनको मार्ग प्रशस्त नगरेको आरोप

टेनिस रोका / काठमाडौं

नेकपा माओवादी केन्द्र अन्ततः सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई आज (शुक्रबार) फिर्ता बोलाउने र आजै प्रधानमन्त्रीलाई सरकारबाट बाहिरिएको जानकारी दिने तयारी गरेको छ ।

माओवादी मन्त्रीहरूले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सामूहिक राजीनामा दिने तयारी गरेका थिए । तर, केही मन्त्री उपत्यकाबाहिर रहेकाले सम्भव हुन सकेन । पार्टी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले शुक्रबार पार्टी सरकारबाट बाहिरिने बताए ।

माओवादी केन्द्र र एमालेबीच चुनावी गठबन्धन बनेपछि माओवादी मन्त्रीहरूको राजीनामाको विषय पटकपटक चर्चामा आएको थियो । माओवादी केन्द्रले निर्वाचनअगावै राजीनामा दिने तयारी गरे पनि प्रधानमन्त्री देउवाले निर्वाचन नगराउने खेल गरेको भन्दै निर्वाचनको सुनिश्चितताका निम्ति सरकारमै रहने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले नयाँ सरकार गठनको मार्गप्रशस्त गर्न र प्रदेश सरकारको प्रक्रियाका लागि सहज होस् भनेर राजीनामा दिन जान लागेको जनाएको छ ।

बिनाविभागीय मन्त्री आशा कोइरालाले निर्वाचन सम्पन्न भइसकेकाले प्रधानमन्त्री देउवा आफैंले नयाँ सरकारको मार्गप्रशस्त गर्ने प्रतीक्षामा आफूहरू बसे पनि प्रधानमन्त्रीले मार्गप्रशस्त नगरेपछि नयाँ सरकार गठनमा सहज होस् भनेर सरकारबाट बाहिरिन लागेको बताइन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले भने सरकारबाट बाहिरिने आधिकारिक निर्णय भइनसकेको तर शुक्रबार हुने बताएको छ ।माओवादीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा नौ जना मन्त्री र नौ जना राज्यमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी थिए । नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकतापछि जनसंख्या तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालिरहेकी मिथिला चौधरी पनि माओवादी मन्त्रीको सूचीमा थपिएकी थिइन् । यता, माओवादीका १८ जनामध्ये राज्यमन्त्री शम्भुलाल श्रेष्ठ निर्वाचनपूर्व नै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

हाल, चौधरीसहित माओवादी केन्द्रबाट १० मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना मन्त्री सरकारमा सहभागी छन् । चौधरीबाहेक सबै माओवादी मन्त्रीलाई भने प्रधानमन्त्री देउवाले असोजमा नै जिम्मेवारी खोसेर बिनाविभागीय बनाएका थिए ।
३१ असोजमा देउवाले माओवादी मन्त्रीको जिम्मेवारी खोसे पनि निर्वाचनको सुनिश्चितताका लागि बिनाविभागीय भएरै पनि सरकारबाट नहट्ने निर्णय गरेको थियो ।
हाल सरकारमा सहभागी माओवादी मन्त्रीहरूमा उपप्रधानमन्त्री कृष्णबहादुर महरासहित स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, गृह मन्त्री जनार्दन शर्मा, सहरी विकासमन्त्री प्रभु साह, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत, आपूर्तिमन्त्री शिवकुमार मण्डल, ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र महिलामन्त्री आशा कोइराला र पशुपक्षीमन्त्री सन्तकुमार थारू थिए । उनीहरू सबैलाई ३१ असोजमा प्रधानमन्त्री देउवाले बिनाविभागीय बनाएका थिए । चौधरीको जिम्मेवारी भने खोसिएको छैन ।
माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पहिले नेकपा एमालेसँग असोजमा वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरूलाई बिनाविभागीय बनाएका थिए ।
गत १० र २१ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रले प्रत्यक्षतर्फ ६०–४० मा सिट बाँडफाँट गरेर निर्वाचनमा होमिएका थिए । हाल दुवै पार्टी एकताको प्रक्रियामा छन् भने राष्ट्रिय सभा र प्रदेश सरकार गठनका लागि संयुक्त कार्यदलसमेत गठन भएको छ ।
माओवादी केन्द्रको समर्थनमा कांग्रेस सभापति देउवा २४ जेठमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री देउवाले २८ जेठ, २ असार, ११ साउन, २५ भदौ, २७ असोजमा सरकार विस्तार गरेका थिए ।