नेपाल–भारत प्रबुद्ध समूह बैठक , पुराना सन्धिसम्झौता पुनरावलोकन गर्नेबारे छलफल

राजधानी समाचारदाता / काठमाडौँ

नेपाल र भारतबीच भएका पुराना सन्धिसम्झौताको पुनरावलोकनका लागि सुझाव दिन गठित दुई देशबीचको प्रबुद्ध समूह (ईपीजी) को बैठक बुधबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा नेपाल–भारतबीच भएका पुराना सन्धिसम्झौताको पुनरावलोकन गर्ने विषयमा छलफल भइरहेको छ ।

बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकनको विषयमा नेपालले प्रस्ताव अगाडि राखेको छ । दुई देशबीच भएका असमान सन्धिसम्झौता पुनरावलोकनका लागि गत वर्ष असारमा भएको पहिलो बैठकबाटै छलफल चलिरहेको छ । बिहीबार सुरु भएको बैठकमा यसअघिका बैठकको समीक्षा गर्दै दुवै देशले आफ्ना तर्फबाट धारणा राख्ने कार्यक्रम भएको छ ।

यसअघि काठमाडौँमा बसेको बैठकमा नेपालले १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायतका विषयमा थियो । त्यस्तै, बैठकमा स्थलमार्ग भएर आवतजावत गर्ने नागरिकहरूलाई परिचयपत्र आवश्यक रहेको र यसलाई लागू गर्ने विषयमा समेत छलफल भएको थियो । १९५० को सन्धिमा रहेका विवादित बुँदा आ–आफ्ना नागरिकलाई दिने सुविधाबारे एकअर्कामा अध्ययन गर्ने सहमतिसमेत भइसकेको छ ।

नेपालले १९५० सन्धिको धारा २, ५, ६ र ७ परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेको छ । पछिल्लो समयमा परिवर्तित अवस्था र आयामबारे छलफल गर्दै सन्धिमा भएका असान्दर्भिक विषय परिवर्तन गर्न नेपालका तर्फबाट कुरा उठाउने बैठकमा सहभागी हुन जानुअघि ईपीजीका लागि नेपालका तर्फबाट सदस्य रहेका डा. राजन भट्टराईले राजधानीलाई जानकारी दिएका थिए । त्यस्तै, यसअघि काठमाडौंमा सम्पन्न बैठकमा स्थलमार्गबाट दुई देशबीच आवतजावत गर्नेहरूलाई समेत परिचयपत्रको व्यवस्था गर्ने विषयमा समेत छलफल भएको थियो । हवाईमार्गबाट आवतजावत गर्दा परिचयपत्र आवश्यक भए पनि स्थलमार्गबाट आवतजावत गर्दा परिचयपत्र आवश्यक पर्दैन । यसका कारण सीमा अपराध बढेको निष्कर्षसहित यस्तो विषयमा छलफल भएको थियो । यस विषयमा पनि बैठकमा थप छलफल हुने बताइएको छ ।

बैठकमा केही विषय टुंगोमा पुग्ने अपेक्षा नेपाली टोलीले लिएको छ । बैठकमा छलफलमा टुंगिएका विषयलाई लिपिबद्ध गर्दै प्रतिवेदनसमेत तयार पारेर अगाडि बढ्ने नेपाल तर्फका सदस्य डा. भट्टराईले जानकारी दिए ।

बैठकमा सीमा रेखांकन, सीमास्तम्भलाई वैज्ञानिक ढंगबाट व्यवस्थित तुल्याएर अन्तर्राष्ट्रिय सीमाका रूपमा विकास, दसगजा क्षेत्रमा दुवै तर्फबाट मिचिरहेको अवस्था अन्त्य गर्ने तथा सुस्ता र कालापानीजस्ता गहन विषय सहमतिमा टुंग्याउने विषयमा पनि घनीभूत रूपमा सौहार्दपूर्ण तवरले छलफल अगाडि बढिरहेको उनले बताए । दुईवर्षे कार्यकालसहित गठन भएको ईपीजीले आठौं बैठकपछि दुवै देशका सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाउनुपर्नेछ । समूहले दुई देशबीचको सन्धिसम्झौता, सम्बन्ध, सीमा समस्या, व्यापारलगायतका विषयमा प्रतिवेदन प्रस्तुत गर्नेछ ।

बैठकमा नेपाली समूहका सदस्यहरू भेषबहादुर थापा, सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र डा. राजन भट्टराई तथा भारतका तर्फबाट भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीसहित प्राध्यापक महेन्द्र पी लामा, प्रा. बीसी उप्रेती र पूर्वराजदूत जयन्त प्रसाद सहभागी छन् ।