कांग्रेस जिल्ला सभापतिद्वारा राष्ट्रिय भेला बोलाउन माग

राजधानी समाचारदाता / काठमाडौं

कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी नेतृत्वसमक्ष राष्ट्रिय भेला बोलाउन माग गरेका छन् । बुधबार र बिहीबार सिन्धुपाल्चोक मेलम्चीमा आयोजित उपलब्ध जिल्ला सभापतिको दुई दिने भेलाले पार्टी नेतृत्वलाई राष्ट्रिय भेला बोलाउन आग्रह गरेको हो ।

मुगुका पार्टी सभापति खड्गबहादुर शाहीले स्थानीय तह निर्वाचनदेखि जिल्ला सभापतिको अधिकार केन्द्रीय तहबाट खोसिएको भन्दै जिल्ला सभापति भेला बोलाएर आन्तरिक समीक्षा गर्न केन्द्रीय नेतृत्वसँग आग्रह गरिएको जानकारी दिएका छन् ।

‘स्थानीय तहदेखि नै केन्द्रीय नेतृत्वले जिल्लाको अधिकार खोसेर आफूअनुकुल निर्णय गरेको हामीले महसुस गरेका छौं, सोही निर्णयले गर्दा आज पार्टीले निर्वाचनमा यो परिणाम भोग्नुप¥यो,’ शाहीले भने, ‘अब जिल्ला सभापतिहरुको भेला बोलाएर समीक्षा हुनुपर्छ ।’

भेलाले १३ सदस्यीय राष्ट्रिय भेला समन्वय समितिसमेत गठन गरेको छ । प्रत्येक प्रदेशबाट एक–एक जना सदस्य रहने गरी सात जना र बाँकी अन्य जिल्लाका सभापति रहनेगरी समिति गठन गरिएको शाहीले जानकारी दिए ।

बैठकमा सहभागी बर्दियाका पार्टी सभापति एवं सिंचाइमन्त्री सञ्जय गौतमले कांग्रेस कमजोर हुँदै गरेको अवस्थामा लोकतन्त्रमाथि खतरा रहने भन्दै जिल्ला सभापतिसमेतको सहभागितामा निर्वाचन परिणामबारे छलफल हुनुपर्ने बताए ।

उनले निर्वाचनका समय टिकट वितरण गर्दा नेतृत्वबाट मनोमानी भएको र राष्ट्रिय मुद्दाका विभिन्न विषयमा पार्टी नेतृत्वले विगतमा सही निर्णय गर्न नसक्दा पार्टी कमजोर बनेको भन्दै जिल्लाका सभापतिको पनि कहीँ कमजोरी रहेको भए बैठकबाटै समीक्षा गर्न माग गरे । केन्द्रीय नेतृत्वले बैठक आह्वान नगरे जिल्ला सभापतिहरूले नै बैठक बोलाउने उनले जानकारी दिए ।

भेलाले पार्टी सुदृढीकरणका लागि जिल्ला सभापतिहरू एक भएर अघि बढ्नेसमेत निर्णय गरेको छ ।त्यस्तै विभिन्न २२ जिल्लालाई दुर्गम क्षेत्र विकास समितिमा राख्नसमेत सरकारसँग माग गरेको छ भने कर्णालीसहितका ९ जिल्लालाई पिछडिएको क्षेत्रमा कायम राख्न सरकारसँग माग गरेको छ । भेलामा शाही, गौतम र रुपन्देहीका सभापति तथा खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकसहित १९ जिल्लाका सभापति सहभागी थिए ।