सैनिक श्रीमती संघद्वारा राहत

राजधानी संवाददाता / राजविराज

शीतलहर र जाडोले जनजीवन कष्टकर भइरहेको र जिल्लामा मानवीय क्षति भइरहेको समयमा सैनिक श्रीमती संघले बिहीबार कम्बल वितरण गरेको छ । संघकी सदस्य रोशनी हमाल र निता सिग्देलले महादेवा गाउँपालिका–६ महादेवाका १५० पीडित परिवारलाई कम्बल वितरण गरेका थिए ।

बढ्दै गरेको शीतलहरले उनीहरूको जनजीवन थप कष्टकर हुनबाट जोगाउनका लागि पूर्वी पृतनाका पृतनापति उपरथी ईश्वर हमाल र २७ बाहिनी अड्डाका बाहिनीपति अशोक सिग्देलको उपस्थितिमा कम्बल वितरण गरिएको थियो ।

सो कार्यक्रमका अवसरमा ३५० जनालाई सेनाकै डा. बिनिता महतले निःशुल्क स्वास्थ्य जाँच गरी औषधिसमेत वितरण गरिएको निमित्त गणपति सेनानी चन्द्रबहादुर थापाले जानकारी दिएका छन् ।

सप्तरीमा बढ्दो शीतलहरले हालसम्म शम्भुनाथ खड्ग, कञ्चनरूप, डाँकनेश्वरी र राजविराज नगरपालिका तथा छिन्नमस्ता, तिलाठी कोइलाडी, अग्निसाइर कृष्णा सवरण र महादेवा गाउँपालिकामा गरी हालसम्म २० जनाको मृत्यु भइसकेको छ ।