इस्टर्न हाइड्रोमा अख्तियारद्वारा छानबिन सुरु

भोजपुर / रास– भोजपुर नगरपालिका–६ पालुवास्थित पिखुवा खोलामा निर्माणाधीन ५ मेगावटको इस्टर्न हाइड्रोपावरको विषयमा अख्तियारले छानबिन सुरु गरेको छ । हाइड्रो पावर निर्माणको क्रममा पिखुवा खोलामा बनेको पक्की पुललाई असर परेको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन सुरु भएको हो । पुलनजिकै ठूलो क्यानल (खाल्डो) खनिएको र त्यसले पुललाई समेत असर पर्ने भन्ने उजुरी परेपछि त्यसको विषयमा छानबिन भएको छ ।

छानबिनका लागि जिल्ला समन्वय समितिको तर्फबाट पुलको विषयमा प्रतिवेदन र हाइड्रोपावरलाई पनि वातावरणीय विस्तृत मूल्यांकन (आईईए) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) रिपोर्ट मागिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए । उजुरी परेलगत्तै स्थलगत रूपमा सो क्षेत्रमा अनुगमन गर्दा जिल्ला समन्वय समिति र हाइड्रोपावर निर्माण कम्पनी दुवै पक्षले एकआपसमा समन्वय नगरी काम गरेको देखिएको उनको भनाइ छ । उनले भने, ‘सो हाइड्रोपावरको विषयमा अख्तियारमा उजुरी परेको छ, उजुरी परेलगत्तै स्थलगत रूपमा मैले अनुगमन गर्दा दुवै पक्षको कमजोरी देखिएको छ किनकि पुलनजिकै त्यति ठूलो खाल्डो खन्दा जिल्ला समन्वय समितिले पनि चासो दिनुपर्ने र ठेकेदारले पनि जानकारी गराएर मात्र काम सुरु गर्नुपर्ने तर त्यस्तो पाइएन ।’ दुवै पक्षबाट आएको कागजातका आधारमा प्रारम्भिक प्रतिवेदन तयार गरी अख्तियारमा पठाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताए । कुनै पनि जिल्लाको अख्यिारको प्रतिनिधिका रूपमा प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको छ ।

इस्टर्न हाइड्रोपावर लिमिटेडले २०६२ सालबाट विद्युत्गृह निर्माणको काम सुरु गरेको थियो । १ अर्ब लागतमा निर्माण भइरहेको आयोजनाको काम २०७६ सालसम्ममा सक्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर रोशन शाहले जानकारी दिए । सो आयोजनाबाट ५ मेगावाट विद्युत् उत्पादन हुने श्रेष्ठको भनाइ छ । हाल निर्माणको काम तीव्र गतिमा भइरहेको जनाइएको छ । इन्जिनियर शाहका अनुसार समग्र भोजपुरमा १ दशमलव ५ देखि २ मेगावाटसम्म बिजुलीमा आवश्यक रहेको छ ।