१० वर्षमा १२ जनाको छाउगोठमै मृत्यु

विष्णुप्रसाद भण्डारी / अछाम

अछाममा पछिल्लो १० वर्षको अवधिमा १२ जना किशोरी तथा महिलाले छाउपडीगोठमै ज्यान गुमाएका छन् । मृत्यु हुनेहरूमा १० महिला र दुई किशोरी रहेका छन् ।

गत आइतबार राति मात्र जिल्लाको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानकी २२ वर्षीया गौरी बुढाको छाउगोठमा सुतेकै अवस्थामा मृत्यु भएको थियो । झ्याल नभएको साँघुरो गोठमा आगो बालेर सुतेकी बुढाको निसास्सिएर मृत्यु भएको स्थानीयले बताएका छन् । महिनावारी भएको चौथो दिनमा उनको मृत्यु भएको हो । अघिल्लो साँझ सकुशल सुतेकी गौरी बिहान मृत भेटिएको स्थानीय दीपिका कुँवर (बीसीले) जानकारी दिइन् । अघिल्लो दिन मृतक गौरी गोठालोसमेत गएकी उनले बताइन् । स्थानीय कुँवरका अनुसार मृतक बुढाको परिवार तथा छिमेकमा समेत राम्रै सम्बन्ध रहेकाले मृत्युबारे अरू कुनै पनि शंका गरिएको छैन । अब यस्ता घटना दोहोरिन नदिन के–कसरी अघि बढ्ने र के–कस्ता कार्यक्रम सञ्चालन गर्ने भन्नेबारे छलफल गरी नयाँ उपाय खोज्ने तयारीमा आफूहरू रहेको अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए । त्यसका लागि जिल्लामा सरोकारवालासँग छलफल आयोजना गरिने समेत उनले बताए ।

जिल्लाको बान्निगडी जयगड गाउँपालिका–५ कालिकामा हाल प्रयोगमा रहेको एक छाउगोठ ।

छाउपडी प्रथा धर्म एवं  संस्कृतिसँग जोडिएको परम्परा भएकाले यसको अन्त्य निकै चुनौतीपूर्ण रहेको महिला तथा बालबालिका कार्यालय अछामका निमित्त प्रमुख मञ्जु महतले बताइन् । सबै नागरिकमा चेतना विकास गर्न सकेमा मात्र छाउपडी प्रथाको अन्त्य हुने उनको भनाइ छ । यो मुद्दा सबै व्यक्ति तथा सम्पूर्ण सारोकारवालाको मुल मुद्दा बन्न सकेमा मात्र छाउपडी प्रथा अन्त्य हुने उनले बताइन् ।

जिल्लाका चार नगरपालिका र ६ गाउँपालिका गरी जिल्लाका १० वटा स्थानीय तहका जम्मा ९१ वडामध्ये हालसम्म ३१ वडा छाउपडीगोठमुक्त घोषणा भइसकेको निमित्त महतले बताइन् । यसअघि सञ्चालित कार्यक्रम मन्त्रालय, विभाग हुँदै चुहिँदै–चुहिँदै आउने गरेकाले त्यो लक्षित वर्गसम्म पुग्न नसकेको घटना क्रमले देखाएको भन्दै उनले अब त्यसो हुन नदिने गरी कार्यक्रम अघि बढाइनुपर्ने बताएकी छन् । विगतमा भन्दा अहिले परिवर्तन संस्थागत हुँदै गइरहेको छाउपडी प्रथा उन्मूलन अभियानका अभियन्ता पशुपति कुँवरले बताइन् ।

अछाममा पहिलोपटक छाउपडी प्रथा उन्मूलन अभियान सञ्चालन गरेर छाउपडीगोठ भत्काउन उनले नै सुरु गरेकी थिइन् । क्रमिक रूपमा समाज परिवर्तन हुँदै गइरहेको बताउँदै रुडेक नेपालका अध्यक्ष तथा अछामका सामाजिक अभियन्ता टंकप्रसाद ढुंगानाले छाउपडी प्रथाको अन्त्य पनि क्रमबद्ध रूपमा हुँदै जाने बताए । यो सबै सरोकारवालको मुद्दा बन्नुपर्ने उनको भनाइ छ ।

धर्म, संस्कार र परम्परासँग जोडिएको प्रथा भएका कारण यो कुप्रथाको अन्त्य निकै चुनौतीपूर्ण रहेको यहाँका स्थानीयको बुझाइ छ । तल्लो तहसम्म चेतनाका कार्यक्रम पुग्न नसकेको गुनासोसमेत स्थानीयको छ । हचुवाका भरमा कार्यक्रम सञ्चालन गरिएका कारण घटनाहरू दोहोरिरहेको स्थानीयहरू बताउँछन् । पछिल्लोपटक छाउपडी बार्ने कुसंस्कारको सिकार बन्न पुगेकी छन्, तुर्माखाँद गाउँपालिका–३ की गौरी बुढा । मृतक बुढा तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत थिइन् । तुर्माखाँदकै चिसीगाउँ माइत भएकी उनको एक वर्षपहिले मात्र विवाह भएको थियो । मृतक गौरीका पति वीरेन्द्र बीसी नेपाल प्रहरीमा कार्यरत छन् । घटनापछि साबिक भैरवस्थान–९ स्थित मृतक गौरीको घरमा पुगेर प्रहरीले घटनाको अवस्थासमेत अध्ययन गरेको अछामका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार प्रहरीले पनि निसास्सिएर नै उनको मृत्यु भएको हुन सक्ने निष्कर्ष निकालेको छ । साबिकको भैरवस्थान गाविसलाई छाउपडी गोठमुक्त गाविस घोषणा गर्न दुई वर्षपहिले त्यहाँ महिला तथा बालबालिका कार्यालयमार्फत कार्यक्रम लागू भए पनि पछि कार्यक्रम सकिएकाले छाउपडी गोठमुक्त घोषणा भने हुन सकेको थिएन ।

शरीरमा कुनै चोटपटकसमेत नदेखिएकाले उनको मृत्यु निसास्सिएर नै भएको तुर्माखाँद गाउँपालिकाको वडा नं. ३ का वडाध्यक्ष पदमबहादुर बीसीले बताए । घरनजिकैको छाउपडीगोठमा सुतेकी बुढा बिहान अबेरसम्म पनि बाहिर ननिस्किएपछि ढोका खोलेर हेर्दा उनी मृत भेटिएको वडाध्यक्ष बीसीले बताए । गत आइतबार साँझ खाना खाएर सुतेकी बुढा बिहान मृत भेटिएकी बिसीले जानकारी दिए ।