इरानमा लागूपदार्थसम्बन्धी कानुनमा सुधार , मृत्युदण्डको सजाय पाएका हजारौंले राहत पाउने

तेहरान / एजेन्सी– इरानमा लागूपदार्थसम्बन्धी कानुनमा परिवर्तन गरिएपछि मृत्यु दण्डको सजाय पाएका हजारौं मानिसलाई राहत मिल्ने विश्वास लिइएको छ ।

लागूपदार्थसँग जोडिएका केही अपराधमा मृत्युदण्डको सजाय अन्त्य गरिएको छ । इरानी प्रधानन्यायाधीशले मृत्युदण्डको सजाय सुनाइएकाहरूको हकमा पुनः मुद्दा हेरिने बताएका छन् ।

कानुनमा गरिएको परिवर्तनले मृत्युदण्डको सजाय पाएका करिब ५ हजारले राहत पाउने अनुमान गरिएको छ । इरानमा हरेक वर्ष सयौं नागरिकहरूलाई मृत्युदण्डको सजाय दिइने गर्छ । यिनीहरूमा धेरैजसो अपराधी लागूऔषधसम्बन्धी हुने गर्छन् ।

पुरानो कानुनअनुसार ३० ग्राम कोकिन राखेमा पनि मृत्युदण्डको सजाय हुन्थ्यो । तर अब यसलाई बढाएर दुई किलोग्राम तोकिएको छ । अफिम र गाँजाको मात्रा बढाएर ५० किलोग्राम गरिएको छ ।

न्यायपालिका प्रमुख आयातुल्लाह सादेग लारीजारीले स्थानीय मिडियासँग मृत्युदण्ड पाएकालाई आजीवन कारावासको सजायमा परिवर्तन गरिने बताएका छन् । इरानमा मानवअधिकारका लागि काम गर्ने नर्वेको संस्था इरान ह्युमन राइट्सका महमस्द अमिरीले यो परिवर्तनको स्वागत गरेका छन् ।

उनले भने, ‘यदि यो परिवर्तनलाई सही ढंगले लागू गर्ने हो भने यसबाट संसारभरमा मृत्युदण्ड दिने घटनामा उल्लेखीय मात्रामा कमी आउनेछ ।’ उनले पहिले नै मृत्युदण्डको सजाय पाएकालाई राहत मिल्नेमा भने उनले आशंका जनाएका छन् ।

उनले भने, ‘लागूऔषधको अपराधमा फाँसीको सजाय पाउने धेरैजसो मानिसहरू इरानको पिछडिएको समुदायका नागरिक हुन् । यस्तो अवस्थामा उनीहरूले कानुनमा गरिएको यो परिवर्तनको जानकारी पाएर पुनः अपिल गर्नेमा शंका छ ।’

अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले समेत यो परिवर्तनको स्वागत गरेको छ । एम्नेस्टीका प्रवक्ताले भनेका छन्, ‘इरान सरकारले लागूऔषधसँग जोडिएका घटनामा फाँसीको सजायलाई अन्त्य गर्नुपर्छ र सबै घटनामा अन्त्य गर्ने दिशामा अघि बढ्नु आवश्यक छ ।’ संस्थाका अनुसार सन् १९८८ पनि इरानमा १० हजारभन्दा बढीलाई लागूऔषधको मामलामा मृत्युदण्ड दिइएको छ ।