रोहिंग्या संकट , हिंसामा संलग्न भएको सेनाद्वारा स्वीकार

एजेन्सी / यांगुन

म्यानमारको सेनाले पहिलोपटक राखिने राज्यमा भएको रोहिंग्यामाथिको दमन तथा हत्यामा संलग्न भएको स्वीकार गरेको छ । यद्यपि सेनाले एउटा मात्रै घटनामा आफ्नो संलग्नता स्वीकार गरेको छ । सेनाले जाँचका क्रममा इनदिन गाउँमा १० जनाको हत्यामा सुरक्षा फौजका चार जवान सामेल भएको पाइएको बताएको छ ।

सेनाको यो रिपोर्टमा चार जवानले प्रतिशोधका रूपमा उनीहरूकै शब्दमा ‘बंगाली आतंकवादी’माथिको हमलामा स्थानीयवासीलाई सहयोग गरेको थियो । सेनाले राखिने राज्यमा बहुसंख्यक रहेका रोहिंग्या मुस्लिमलाई ‘बंगाली आतंकवादी’ शब्दको प्रयोग गर्ने गरेको छ ।

म्यानमार सरकारले बंगलादेशबाट आएका आप्रवासी भन्दै नागरिकता दिनसमेत अस्वीकार गर्दै आएको छ । म्यानमारको सेनामाथि राखिने राज्यमा रहेका रोहिंग्या मुस्लिममाथि जातीय नरसंहार मच्चाएको आरोप छ ।

गत वर्षको अगस्टमा भड्किएको हिंसापछि करिब साढे ६ लाख रोहिंग्या मुस्लिम त्यहाँबाट भागेर बंगलादेशमा शरणार्थीका रूपमा बस्दै आएका छन् । हिंसाका क्रममा सामूहिक हत्या, बलात्कार र अन्त्याचारको दर्दनाक दृश्य बाहिर आएको थियो ।

रोहिंग्या मुस्लिम समुदायले सेना र स्थानीय बौद्ध समुदाय मिलेर आफूहरूका गाउँमा आगो लगाउनुका साथै हिंसात्मक हमला गरेको उल्लेख गरेका छन् । सेनाले भने आमजनतामाथि हमला गरेको आरोप अस्वीकार गर्दै रोहिंग्या चरमपन्थीलाई मात्रै निशाना बनाएको दाबी गर्दै आएको छ । सरकारले पत्रकार तथा बाहिरी अनुसन्धानकर्तालाई समेत सो हिंसा मच्चिएको राखिने राज्यमा छिरेर अनुसन्धान गर्न स्वीकृति दिएको थिएन ।

सेनाले गत महिना इनदिन गाउँमा एक चिहानबाट भेटिएका १० वटा कंकालका बारेमा अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको थियो । सेनाले सार्वजनिक गरेको रिपोर्टमा भनिएको छ, ‘स्थानीय गाउँले र सुरक्षा बलले १० बंगलादेशी आतंकवादीको हत्या गरेको स्वीकार गरेको कुरा सत्य हो ।’ सेनाले बौद्ध धर्मावलम्बीलाई धम्क्याएका कारण यो घटना भएको आरोप लगाइएको छ ।

अगस्टपछि सेनाले रोहिंग्या मुस्लिम समुदायको हत्यामा सामेल भएको स्वीकार गरेको यो पहिलो घटना हो । सेनामाथि स्थानीय बस्ती जलाएको, हत्या, बलात्कार र लुटपाटको आरोप लागे पनि सबै आरोप गत नोभेम्बरमा अस्वीकार  गरेको थियो ।

राखिने प्रान्तमा अत्याचारको स्पष्ट प्रमाणका बाबजुद म्यानमार सरकारले अहिलेसम्म एउटा सामूहिक चिहान फेला पारेको छ । यो २८ जना हिन्दूहरूको भएको बताइएको छ । प्रशासनले भने यसमा रोहिंग्या मुस्लिमको हात रहेको आरोप गाएको छ ।