आर्मी खप्तड गोल्डकपको सेमिफाइनलमा

राजधानी संवाददाता / धनगढी

१४ महिनापछि फुटबलमा फर्किएको ललितपुरको रुस्लान थ्री स्टार क्लबलाई स्तब्ध पार्दै विभागीय त्रिभुवन आर्मी क्लब धनगढीमा जारी दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले थ्री स्टारलाई २–१ ले स्तब्ध पर्दै सेमिफाइनलमा पुग्न सफल भयो । आर्मीलाई सेमिफाइनलमा पु¥याउन नवयुग श्रेष्ठ र सुमन अर्यालले गोल गरे । थ्री स्टारका लागि निराजन खड्काले सान्त्वना गोल फर्काए ।

खेलको छैटौं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४९औं मिनेटमा सुमन अर्यालले टोलीको अग्रता दोब्बर पारे । निराजन खड्काले ५३औं मिनेटमा थ्री स्टारका लागि गोल गर्दै खेलमा फर्किने आशा देखाए पनि अन्य गोल हुन नसक्दा थ्री स्टार प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

आर्मीका भरत खवास खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । थ्री स्टारले रमपम झापा ११ लाई हराउँदै प्रतियोगितामा दमदार सुरुवात गरेको थियो । आर्मीले साबिक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब र अग्नि रूपन्देही–११ बीचको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

क्वार्टरफाइनलको अन्तिम खेल मनाङ र रूपन्देहीबीच शुक्रबार हुनेछ । जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले मौसका कारण शतप्रतिशत खेल्न नसके पनि जितमा खुसी व्यक्त गरे । रुस्लान थ्री स्टारका प्रशिक्षक मेघराज केसीले रक्षकहरूको गल्तीमा गोल खाँदा र खेलको अन्त्यतिर गोल गर्ने मौका चुकाउँदा हार स्विकार्नुपरेको बताए ।

आयोजक सुदूरपश्चिम ११ र एपीएफ यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । यस वर्षको सफल टोली त्रिभुवन आर्मी क्लबले यसअघि तीन प्रतियोगिताको उपाधि जितिसकेको छ । २१ पुसबाट सुरु भएको प्रतियोगिता १ माघसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रूपैया प्राप्त गर्नेछ । उपविजेताले ५ लाख ५५ हजार ५५५ प्राप्त गर्नेछन् ।