ओलम्पियन कमललाई स्वर्ण

राजधानी समाचारदाता / काठमाडौं

ओलम्पियन तथा नेपाली सेनाका कमलबहादुर अधिकारीले राखेप च्याम्पियनसिपअन्र्तगतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

राष्ट्रिय कीर्तिमानमा सुधार्ने लक्ष्यका साथ मैदानमा उत्रेका अधिकारीले स्वर्णमा नै चित्त बुझाए । ७७ केजी तौलमा अधिकारीले स्नाचमा १२० केजी उचाले । यसमा उनकै नाममा १२२ केजीको कीर्तिमान कायम छ । यस्तै, क्लिन एन्ड जर्कमा उनले १५३ केजीका साथ कुलमा २७३ केजी भार बहनका साथ स्वर्ण हात पारेका हुन् ।

नेपाली सेनाकै यज्ञबहादुर सारुले स्नाचमा ९७ केजी र कुलमा २१२ केजी गरी रजत जिते । क्लिनमा ११५ केजी मात्र उचाली प्रहरीका प्रेमप्रकाश वैश्यभन्दा पछाडि रहँदै कांस्यमा सीमित भए । वैश्यले क्लिनमा ११८ केजी भार बहन गर्दै रजत जिते पनि स्नाचमा ९० केजी र कुलमा २०८ केजी गरी कांस्य जिते । पोखराको उद्योग वाणिज्य संघको कभर्डहलमा भएको प्रतियोगिताको महिला ६३ केजी तौल समूहमा नेपाली सेनाकी मनिता श्रेष्ठले कुल १४० केजी भार बहन गर्दै स्वर्ण हात पारिन् । उनले स्नाचमा ६० र क्लिन एन्ड जर्कमा ८० केजी भार बहन गरेकी थिइन् । दोस्रो स्थानमा रहेकी सेनाकै शारदा चौधरीले १२८ केजीका साथ रजत पाइन् । चौधरीले स्नाचमा ५६ र क्लिन एन्ड जर्कमा ७२ केजी उचालिन् ।

महिलाकै ६९ केजीमा नेपाल प्रहरीकी राज्यलक्ष्मी थापाले स्नाचमा ६०, क्लिन एन्ड जर्कमा ८३ केजीका साथ कुल १४३ केजी भार बहनका साथ स्वण हात पारिन् । सेनाकी उषा खड्का स्नाचमा ५२ केजी, क्लिनमा ७० केजी र कुलमा १२२ केजी भार बहन गर्दै रजतमा खुम्चिइन् । प्रहरीकी जानकी बुढाले ११० केजी कुल भारका साथ कांस्य पाइन् । उनले स्नाचमा ४५ केजी र क्लिनमा ६५ केजी उचालिन् ।

प्रतियोगिताको ७५ केजी तौल समूहमा नेपाल प्रहरीकी लक्ष्मी वनले नाचमा ६२ र क्लिनमा ८० केजी गरी कुल १४२ केजी भार बहन गर्दै स्वर्ण जितिन् । सेनाकी मनकुमारी कुमालले स्नाचमा ५८ र क्लिनमा ७६ केजी गरी कुलमा १३४ केजीका साथ रजत पाइन् । सप्तरीकी शान्ति चौधरीले स्नाचमा ५५ र क्लिनमा ७० केजी गरी कुल १२५ केजीका साथ कांस्यमा चित्त बुझाइन् । ९० केजी तौलमा एकल प्रतिस्पर्धा गरेकी नेपाल प्रहरीकी तारादेवी पुनले स्नाचमा ७०, क्लिनमा ९७ केजी गरी कुल १६७ केजीका साथ स्वर्ण हात पारिन् ।

पुरुषको ६२ केजी तौलमा नेपाली सेनाका राजु चौधरीले स्नाचमा ८६ र कुलमा १९३ केजी गरी २ स्वर्ण जिते । क्लिनमा उनी नेपाल प्रहरीका मुई लामासँग पछि परे । १०८ केजी भार बहन गर्दै स्वर्ण जितेका मुईले र क्लिनमा चौधरीले १०७ केजी उचाल्दै रजत पाए । स्नाचमा मुईले ८५ केजी र कुलमा १९३ केजी उचाल्दै रजत पाए । एपीएफका सुवासकुमार शाहले १६३ केजीका साथ कांस्य पाए ।

६९ केजीतर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीका विकास थापाले स्नाच र कुलमा स्वर्ण पाए । उनी क्लिनमा १२५ केजी भार बहन गर्दै बाँकेका प्रकाश केसीसँग पछि पर्दै रजतमा खुम्चिए । विकासले स्नाचमा ११२ र कुलमा २३७ केजी उचाले ।

प्रकाशले क्लिनमा १३० केजी उचाल्दै स्वर्ण पाए । तर प्रकाशले स्नाचमा १०६ र कुलमा २३६ केजीका साथ रजत पाए । यस्तै बाँकेका सुरज वैश्यले क्लिनमा १०५ र कुलमा १८० केजीका साथ दुई कांस्य पाए । स्नाचमा कास्कीका धनबहादुर झाक्रीले ८० केजी भारका साथ कांस्य पाए ।