माओवादी मन्त्रीहरुको सामूहिक राजिनामा, के छ पत्रमा ?

काठमाडौं, २८ पुस । माओवादी मन्त्रीहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । लामो समयदेखि विनाविभागीयको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले आज शुक्रबार राजिनामा बुझाएका हुन् ।

बिनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री देउवालाई सामूहिक राजिनामाको पत्र बुझाएका हुन् । उनले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने विषयमा लेखेको राजीनामा पत्र बुझाएका हुन् ।

प्रचण्डले पत्रमा निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गर्दै ताजा जनादेश आएपछि नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेकोमा प्रधानमन्त्री देउवाको गुनासो गरेका छन् । पत्रमा भनिएको छ, तर, आजसम्म त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने निर्णयहरु भइरहेको सन्दर्भमा सरकारमा बसिरहनु औचित्यपूर्ण नरहेकाले आजैबाट माओवादी र संयुक्तका मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँछु ।’

माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रुपमा थिए । माओवादीबाट कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल केवट, महेन्द्रबहादुर शाही, आशा कोइराला र सन्तकुमार थारु मन्त्री र मोहम्मद जाकिर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, वाङ्दी शेर्पा र गोमा कुँवर राज्यमन्त्रीको हैसियतमा थिए ।