अनुपमले ल्याइन् मध्यान्तर

काठमाडौं / रास– यसअघि कुमारी आमा, नांगो मान्छे र कालो छायासहित तीनवटा उपन्यास पाठकमाझ ल्याइसकेकी आख्यानकार अनुपम रोशीले पाठकमाझ अर्को कृति ल्याएकी छन् । जैविक स्वतन्त्रता र यौन मनोविज्ञानमा कलम चलाउँदै आएकी उनले कथासंग्रह‘मध्यान्तर’ पाठकमाझ ल्याएकी हुन् ।

राजधानीमा एक समारोहबीच उनको यो कृतिको अग्रज कथाकार माया ठकुरी, लेखक एवं समीक्षक युग पाठक, डा. रजनी ढकाल, केशव सिग्देल  र लेखक अनुपम रोशीले संयुक्त रूपमा विमोचन गरे । पुस्तकमाथि आफ्ना भनाइ राख्दै कथाकार ठकुरीले अनुपमका सबै कथा रमाइला भएको बताइन् । उनले अनुपमको कथा लेख्ने शैैली र भाषाको खुलेर प्रशंसा गरिन् ।

समीक्षक पाठकले अनुपम रोशीका कथा परम्पराभन्दा भिन्न रहेको बताए । कथाहरूमा समाजका कतिपय घटनालाई मिहिन रूपमा कथात्मक शैलीमा उठाइएको पाठकले बताए ।  त्यसैगरी, रजनी ढकाल र केशव सिग्देलले पनि रोशीको कथा शिल्प, विषय उठान र भाषा सरलसँगै आफ्नोपन भएको जिकिर गरे । कथासंग्रह मध्यान्तरलाई बीएन पुस्तक संसारले बजारमा ल्याएको हो ।