छायाछवि काव्यमा गुन्जिए वसन्त र शान्ति

राजधानी समाचारदाता  / काठमाडौं

बिहीबार कवि एवं पत्रकार वसन्तप्रकाश उपाध्य र गजलकार शान्ति शर्माले आफ्ना कविता एवं गीत गजलबाट काव्यप्रेमीको मन जिते । राजधानीको बागबजारस्थित सिटिम्याक्स सिनेमा हलको प्रेक्षालयमा छायाछवि क्रियसनको तेस्रो साहित्यिक शृंखला ‘छायाछवि काव्य शृंखला’मा यी दुई श्रष्टा प्रस्तुत भएका थिए ।

कार्यक्रममा कवि वसन्तप्रकाश उपाध्ययले एक दर्जनभन्दा बढी कविता सुनाए । उनले ‘ऊ र म’ शीर्षकको कविताबाट काव्य वाचन शृंखला सुरु गरेका थिए । कवि उपाध्यायले पहिलो चरणमा बिर्सिएको भट्टीको कथा, गाई कि त्रिशूल, स्वार्थको साथी, जन्म दिन, पुल शीर्षकका कविता वाचन गरे ।

दोस्रो चरणमा उनले मेरी आमा, वर्षाहरू नबर्सन सक्दैनन्, मोनालिसा कि बुद्ध ?, आजको समाचार, समय पीडा, सफेद कात्रो, क्यालेन्डर, जिउँदो लास, ड्रमको पानी जस्ता कविता र एउटा गीत सुनाए । आफ्नो कवितासंग्रह चाँडै पाठकमाझ आउने पनि उनले जानकारी गराए ।

यस्तै, कार्यक्रममा दुई चरणमा प्रस्तुत भएकी शान्ति शर्माले एक दर्जन गजल प्रस्तुत गरिन् । उनले आफ्ना रेकर्ड भएका र नभएका दुवै प्रकारका गजल सो क्रममा सुनाइन् ।

उनले सो क्रममा त्यो दिलको मझेरीमा, दुखेको छ छाती, आँसुमा आगो छ, आझैबाट आँखाहरू, मेरो दिल दिमाग अनि लगायतका गजल सुनाइन् । कार्यक्रममा अग्रज अभिनेत्री बसुन्धरा भुसाल र गीतकार डा. कृष्णहरि बरालले उपाध्याय र शर्माको प्रस्तुतिको समीक्षा गरे । उनीहरूको प्रस्तुति एवं सिर्जना सशक्त रहेको भुसाल र बरालको कथन थियो ।

छायाछवि काव्य शृंखलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनले मध्यस्थता  गरेको सो कार्यक्रममा छायाछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले काव्य शृंखलाबारे प्रकाश पारे ।