मनाइयो विश्व हिन्दी दिवस

राजधानी समाचारदाता / काठमाडौं

हिन्दी साहित्यको चर्चा गर्दै काठमाडौंमा बिहीबार ‘विश्व हिन्दी दिवस’ मनाइएको छ । त्रिभुवन विश्वविद्यालय, हिन्दी विभागको सहकार्यमा काठमाडौंस्थित भारतीय दूतावासले बिहीबार विश्व हिन्दी दिवस मनाएको हो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा विश्व हिन्दी दिवसका अवसरमा जारी सन्देश पढेर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो सन्देशमा हिन्दी भाषीलाई शुभकामनासहित हिन्दी भाषा र यसको महŒव समेटिएको थियो । भारतीय संस्कृतिको संरक्षण र प्रवर्धनमा हिन्दी भाषाको अहं भूमिका भएको बताउँदै राजदूत सिंहले राष्ट्रिय भाषाका रूपमा रहेको हिन्दी भाषाको भारतीय समाजलाई जोड्नमा महŒवपूर्ण देन रहेको बताए । भारत र नेपालका जनतालाई जोड्ने कडीका रूपमा हिन्दी भाषा रहेको पनि राजदूत सिंहले प्रकाश पारे ।

संस्कृतिमन्त्री जितेन्द्रनारायण देवले विश्व हिन्दी दिवसको अवसरमा हिन्दी भाषीलाई शुभकामना दिँदै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध बलियो बनाउन हिन्दी भाषाको विशेष भूमिका रहेको बताए । हिन्दी भाषाले नेपाल र भारतलाई सदियौंदेखि जोड्ने काम गरेको पनि उनले जिकिर गरे ।

सो कार्यक्रममा भारतीय सांस्कृतिक केन्द्रका कलाकारहरूले हिन्दी र नेपाली गीतसंगीत एवं नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनकता बढाएका थिए । कार्यक्रममा राजदूत सिंह, संस्कृतिमन्त्री देव लगायतले तीनवटा कविता संग्रह र हिन्दी पत्रिकाको विशेषांक पनि विमोचन गरे । सोही क्रममा २० जना कविले नेपाली र हिन्दी भाषामा कविता सुनाए ।

जनकपुरमा पनि हिन्दी भाषा दिवस

१३औं विश्व हिन्दी दिवस जनकपुरमा पनि विभिन्न कार्यक्रमसहित बिहीबार मनाइएको छ । भारतीय महावाणिज्य दूतावासको आयोजनामा सम्पन्न दिवसमा कविता, प्रवचन, नृत्य प्रस्तुत गरियो ।  हिन्दी भाषाका लागि योगदान दिएको भन्दै कार्यक्रममा महेन्द्रनारायण मिश्र, उपेन्द्रप्रसाद कमल, राजेश्वर नेपाली, रामस्वार्थ ठाकुर, डा. आशा सिन्हा र रमण पाण्डेलाई सम्मान गरियो ।

भारतीय उपमहावाणिज्यदूतद्वय रमेश चतुर्वेदी र राजेश कुमार, जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साह, पूर्वप्रमुख बजरंगप्रसाद साहलगायतले हिन्दी भाषाको महŒवबारे प्रकाश पारे ।

कार्यक्रममा दर्जनभन्दा बढी कविले हिन्दी कविता पाठ गरे । सोही दिवसका अवसरमा आयोजित विद्यालयस्तरीय निबन्ध प्रतियोगिताका सहभागी छात्रछात्रालाई पुरस्कार वितरण पनि गरियो । समारोहमा मिथिला नाट्य कला परिषद्का कलाकारले मैथिली मंगलगान एवं सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।