माघे संक्रान्तिमा मिस्टर झोले र बटरफ्लाई

राजधानी समाचारदाता / काठमाडौं

शुक्रबारबाट मुलुकभरका सिनेमा हलमा दुई नेपाली चलचित्र रिलिज हुँदै छन् । माघे संक्रान्तिको अवसर पारेर निर्देशक रामबाबु गुरुङले आफ्नो चलचित्र ‘मिस्टर झोले’ र अर्का निर्देशक ओम प्रतीक गुरुङले चलचित्र ‘बटलफ्लाई’ दर्शकमाझ ल्याउँदै छन् ।

यी दुईमध्ये मिस्टर झोले सामाजिक ड्रामा सिनेमा हो । निर्देशक रामबाबु गुरुङका अनुसार मुलुकको अहिलेको राजनीतिक अवस्था र त्यसले नेपाली युवाहरूमा पारेको प्रभावको कथा मिस्टर झोलेले भन्नेछ ।

चलचित्र मिस्टर झोले पनि आफ्ना पूर्वचलचित्र जस्तै ग्रामीण समाजको कथामा केन्द्रित रहेको पनि निर्देशक गुरुङले बताए । हास्यप्रधान यो चलचित्रले दर्शकलाई त्यत्तिकै मनोरञ्जन दिने पनि उनले बताए । आफ्नो सिनेमा मुलुकका सबैजसो मल्टिप्लेक्स सिनेमा हलसहित सात दर्जन चलचित्र घरमा प्रदर्शन हुने पनि निर्देशक रामबाबु गुरुङले बताए ।

यसअघि झोले निर्माण गरेका टेकेन खड्का र रौनकविक्रम कँडेलले चलचित्र मिस्टर झोले निर्माण गरेका हुन् । तर, झोलेको सिक्वेल नभएर प्रिक्वेल भएको यसका निर्माता टेकेन खड्काको कथन छ ।

पुरुषोत्तम प्रधानको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत रहेको यस चलचित्रमा दयाहाङ राई, दीया मास्के, वर्षा राउत, प्रवीण खतिवडा, बुद्धि तामाङ, कमलमणि नेपाल, विजय बरालसहितको अभिनय रहेको छ ।

मुलुकका पाँच दर्जन सिनेमा हलमा एकसाथ प्रदर्शन हुन लागेको अर्को चलचित्र बटरफ्लाईलाई निर्देशक ओम प्रतीक आफैंले लेखेका हुन् । आफ्नो चलचित्र तन्नेरी पुस्ताको प्रेमकथामा आधारित रहेको उनले बताए ।

चलचित्रलाई जीवनको रंगहरू उपनाम दिइएको बटरफ्लाईमा अहिलेका पुस्ताको भोगाइलाई समेटिएको पनि निर्देशक ओम प्रतीकले प्रकाश पारे । यो चलचित्रलाई रमेश प्रजापति, रामशरण राणा, भुपेन्द्र सुवेदी, पुष्पाञ्जली अधिकारी (सखा)ले निर्माण गरेका हुन् । जसमा दीपक शर्मा, विकास चौधरी र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, सुरेश बज्राचार्यको छायांकन रहेको पनि निर्देशक ओम प्रतीकले बताए ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्र सिंगल थिएटर र मल्टिप्लेक्स सबै हलमा दर्शकले हेर्न पाउने पनि यी निर्देशकले जानकारी गराए । उनका अनुसार बटरफ्लाईमा आर्यन अधिकारी, प्रियंका कार्की, अर्पण थापा, रवीन्द्र खड्का, मोहन निरौला, पुरन थापासहितको अभिनय छ ।