मूल्यवृद्धिले सुन कारोबार घट्यो

काठमाडौं / रास— सुनमा भइरहेको मूल्यवृद्धिले कारोबार घटेको छ । विवाहको लगन सुरु हुन लाग्दा पनि सुनको कारोबारमा सुधार आउन नसक्नुको मुख्य उद्देश्य बढ्दो मूल्यवृृद्धि रहेको हो । यसअघिका महिनामा पनि सुनको आशलाग्दो व्यापार भएको थिएन । प्रायः चाडवाड तथा विवाहको लगनका बेला सुनको कारोबार बढी हुनेगर्छ ।

सामान्य अवस्थामा २० देखि ३० केजीको हाराहारीमा सुन खपत हुनेगर्छ भने विवाह तथा चाडवाडका बेला ५० देखि ६० केजीको हाराहारीमा सुनको खपत हुनेगर्छ तर अहिले सुन बजार रौनकहीन रहेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए ।

उनले भने,‘सुनबजारमा पटक्कै उत्साह छैन ।’ अहिले दैनिक २० देखि २५ केजीको हाराहारीमा मात्रै सुनको खपत छ ।

माघ महिनामा लगन अलिपछि परेकाले पनि नयाँ गरगहनाको अर्डर प्रशस्त मात्रामा नआएको उनको भनाइ छ । अहिले बजारमा सुनको भाउ दैनिकजसो वृद्धि भइरहेकाले पनि सुनको कारोबार उत्साहजनक हुन सकेको छैन ।

बिहीबार सुनको भाउ ४ सय रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला सुन ५६ हजार रूपैयाँमा कारोबार भएको सुन ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार बिहीबार पछिल्लो एक महिनामा सुनको मुल्य सबैभन्दा बढी कायम भएको छ । एक महिना अघि प्रतितोला सुनको भाउ ५४ हजार १ सय रूपैयाँ थियो । एक महिनामा सुनको भाउमा २३ सय रूपैयाँले वृद्धि भएको छ ।