९१ करोडको बजेट विनियोजन

राजधानी संवाददाता  / बारा

कलैया उपमहानगरपालिकाले ९१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । नगर विकासका लागि सबैको सहयोग अनिवार्य भएकाले सबैले हातेमालो गर्दै नगर क्षेत्रको विकासमा एकजुट भएर लाग्नुपर्नेमा पनि सबैले जोड दिएका छन् । फास्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पछि कलैया २ नम्बर प्रदेशको समृद्धिको केन्द्र बन्न सक्ने दाबी गरिएको छ ।

अहिले कलैयाबासीहरू वीरगन्ज भएर राजधानी जाने गरेको बताउँदै फास्ट ट्रयाकको निर्माणपछि भोलिका दिनमा वीरगन्जका मानिसहरू मात्र नभई भारतबाट आउने पर्यटकहरूसमेत कलैया उपमहानगरपालिका भएर जाने भएकाले नगरको विकासमा आफू विश्वस्त भएका हुन् । कलैया उपमहानगरपालिकाको प्रथम नगरसभालाई बिहीबार सम्बोधन गर्दै विकासलाई चाहेर पनि कसैले रोक्न नसक्ने खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले बताए ।

मन्त्री यादवले स्थानीय निकायको निर्वाचन सकिएको र जनप्रतिनिधिविहिन भएका नगर र गाउँले जनप्रतिनिधि पाइसकेका हुनाले अब चाहेर पनि कसैले विकासलाई रोक्न नसक्ने बताए । २० वर्षदेखि जनप्रनिधिविहिन भएका स्थानीय निकायले अब विकासमा फड्को मार्ने मन्त्री यादवले दाबी गरे । मधेस र मधेसीको चाहनाअनुसार संविधान संशोधन गराउने आफ्नो पार्टीको लक्ष्य रहेको बताउँदै संविधान संशोधन गराएर देशमा आर्थिक क्रान्ति ल्याउने लक्ष्य कांग्रेसले लिएको उनको धारणा थियो ।

फास्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण हुनेबित्तिकै कलैया नगरपालिकाले विकासमा ठूलो फड्को मार्ने आफूले विश्वास लिएको मन्त्री यादवले बताए । कलैया

उपमहानगरपालिकामा सीसीटिभी जडान, स्र्माट सिटीको अवधारणा, स्वास्थ्य बिमा, नगरक्षेत्रभित्र यातायातको गुरुयोजनालगायतका योजना कलैया उपमहानगरपालिकाका अधिकृत नारायण पाण्डेले प्रस्तुत गरेका थिए ।