रत्ननगर महोत्सव सुरु

रत्ननगर / रास– चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा बिहीबारदेखि रत्ननगर महोत्सव सुरु भएको छ । सो महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । उनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको पनि सो अवसरमा बताए । पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भएकाले अबको युग आर्थिक समृद्धिको युग भएको जिकिर गरे ।

‘देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । हामी निशंकोच भन्न सक्छौं, अबको युग आर्थिक समृद्धिको युग हो, अब हामी आर्थिक समृद्धिको युगका नेपाली हुनेछौं,’ उपराष्ट्रपति पुनले भने ।

उनले लगानीमैत्री वातावरण र राजनीतिक स्थिरताबिना समृद्धि सम्भव नभएको बताए । नयाँ जनादेशअनुसार संघ र प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने र राजनीतिक स्थिरतासँगै नेपाल पूर्ण लगानीमैत्री बन्ने विश्वास उनको छ । नेपाल विश्वकै उत्कृष्ट लगानी गन्तव्य भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले लगानीका लागि भर्जिनल्यान्ड भएको दाबी गरे ।

नेपाललाई प्रकृतिले अनुपम उपहार दिएको र त्यसको उच्चतम सदुपयोगबाट मात्रै पनि समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो । तर त्यसका लागि देशको सम्पदा, प्रकृति र संस्कृतिलाई ठीक ढंगले उपयोग गर्न सक्नुपर्ने उनले बताए ।

उपराष्ट्रपति पुनले नेपालमा वैदेशिक लगानीको खाँचो रहेको औंल्याए । मुलुकको समृद्धिका लागि मुख्यमुख्य क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रलाई आग्रह गरे । उनले वैदेशिक लगानी भिœयाउन सेतुको भूमिका खेल्न निजी क्षेत्रलाई अपिलसमेत गरे ।

नेपाल सरकारले विशेष आर्थिक क्षेत्र (सेज) परियोजना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको सन्दर्भमा चितवनलाई विशेष आर्थिक क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि आफूले पनि सरकारको ध्यानाकर्षण गराउने उपराष्ट्रपति पुनले प्रतिबद्धता व्यक्त गरे ।

चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरूको प्रवद्र्धन र संवद्र्धनमा रत्ननगरले विशिष्ट योगदान पु¥याइरहेको भन्दै उनले उक्त कार्यको प्रशंसा गरे ।

कार्यक्रममा चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले सरकार गठन प्रक्रिया लम्बिँदै गएकाले अहिले अर्थतन्त्र धेरै जोखिममा परिरहेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको बताए ।

उनले सरकार हस्तान्तरण छिटो गर्न आग्रहसमेत गरे । जनादेश प्राप्त दलहरू बाहिर रहेको अवस्थामा अहिलेको सरकारले ठूला काम गर्न नसक्ने उनको जिकिर थियो । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक राजाराम रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । महोत्सव आगामी ७ माघसम्म चल्नेछ ।