औद्योगिक व्यापार मेलामा आईएमई ग्रुप

काठमाडौं / रास– कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७४ लाई विशिष्ट अतिथिका रूपमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले सम्बोधन गरेका छन् । ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको वृद्धि गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

४ नम्बर प्रदेश स्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै सम्भावना भएका औद्योगिक उत्पादनमा सहकार्य गर्न नेपालको निजी क्षेत्र तयार रहेको उनले सो अवसरमा बताएको विज्ञप्तिमा उल्लेख छ । मुलुकले संघीय संविधान प्राप्त गरेको र सोही संविधानबमोजिम सबै निकायको निर्वाचन सम्पन्न भइसकेकाले अब सबैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित भएको अनुभव नेपालको निजी क्षेत्रले गरेकोमा उनले जोड दिए । आईएमई ग्रुपले रेमिटेन्स, बैंकिङ, सूचना प्रविधि, पर्यटन, ऊर्जा, अटोमोबाइल, इन्स्योरेन्सलगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।