क्लिनफिड कार्यान्वयनमा ल्याउन आनको माग

राजधानी समाचारदाता / काठमाडौं

नेपाल विज्ञापन संघ (आन)ले क्लिनफिड कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेको छ । १८औं वार्षिक साधारण सभाको आवसरमा आयोजित कार्यक्रममा संघले नेपाल सरकारसँग क्लिनफिड कार्यान्वयन ल्याउन माग गरेको हो ।

नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठले नेपालका विज्ञापन एजेन्सी बहुराष्ट्रिय कम्पनीसँग प्रतिपस्र्धा गर्न सक्षम रहेको भन्दै विज्ञापन एजेन्सीलाई सरकारले उद्योगका रूपमा स्थापना गुर्नपर्ने बताए । त्यसका लागि सरकारले भारतबाट निर्बाध रूपमा नेपाल आइरहेका विज्ञापनलाई हटाएर क्लिनफिड कार्यान्वयनमा ल्याउन सरकारसँग आफ्नो माग रहेको बताए । ‘विज्ञापन एजेन्सीलाई थप प्रभावकारी बनाउन किल्नफिड कार्यान्वयनमा ल्याउन सरकारसँग जोडदार माग गर्दछौं,’ श्रेष्ठले भने ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विज्ञापन कम्पनी मार्यादित र प्रतिस्पर्धी हुनुपर्ने बताए । उनले हजारौं व्यक्तिलाई रोजगारी दिएर मुलुकलाई फाइदा पु¥याउने काम विज्ञापन एजेन्सीहरूले गरिरहेको भन्दै विज्ञापन कम्पनी आफैंमा उद्योग भएको समेत बताए । विज्ञापन एजेन्सीलाई औपचारिक रूपमै उद्योगका रूपमा स्थापित गर्न आवश्यक सहयोगका लागि सरकार तयार रहेको उनको भनाइ थियो । नेपाली टेलिभिजनमा सञ्चालन हुने विदेशी विज्ञापनलाई सरकारले कानुन बनाएर निरुत्साहित गर्ने प्रक्रिया नै क्लिनफिड हो ।