खै, प्रदेश प्रमुख ? :आयोग

 काठमाडौं / रास– प्रदेश प्रमुख नियुक्तिमा सरकारले ढिलाइ गरिरहेका बेला निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा प्रभाव पर्न सक्ने भन्दै सरकारलाई तत्काल प्रदेश प्रमुख तोक्न पत्राचार गरेको छ ।

शुक्रबारसम्म मन्त्रिपरिषद्को निर्णय कुरेको आयोगले सरकारले प्रदेश प्रमुख नियुक्तिको निर्णय नगरेपछि पदाधिकारी बैठक बसेर राष्ट्रिय सभा निर्वाचनमा प्रभाव पर्न सक्ने भन्दै सरकारलाई तत्काल प्रदेश प्रमुख तोक्न पत्र काटेको हो ।

आयोगका निर्वाचन आयुक्त इला शर्माले सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्न आयोगले पत्र पठाएको बताइन् । उनले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा भई कार्यतालिकासमेत प्रकाशन भइसकेको अवस्थामा प्रदेशसभाको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने भएकाले सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्न पत्र पठाएको जानकारी दिइन् ।

‘निर्वाचनको मिति घोषणापछि आयोगले कार्यतालिकासमेत प्रकाशित गरिसकेको छ । अब प्रदेशसभाको नतिजा घोषणा गरेर आयोगले घोषणा भएको ७ दिनभित्र सो नतिजा प्रदेश प्रमुखसमक्ष पठाउने हो ।आयोगलाई त्यसका लागि प्रदेश प्रमुख चाहिन्छ । सोही विषयमा आयोगले सरकारलाई पत्र पठाएको हो,’ आयुक्त शर्माले राजधानीसँग भनिन् । आयोगले प्रदेशसभाको प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन प्रक्रियामा प्रभाव पर्न सक्ने सम्भावना देखिएकाले सरकारलाई प्रदेश प्रमुख नियुक्ति गर्न आग्रह गरिएको बताए । उनले निर्वाचनको मिति घोषणा भई निर्वाचन अधिकृतको नियुक्ति, कार्यालय स्थापना र कार्यक्रम सञ्चालन प्रक्रियासमेत प्रारम्भ भइसकेको भन्दै कानुनी बाध्यताका कारण आयोगले सरकारलाई पत्र पठाएको जानकारी दिएका हुन् ।

आयोगले सरकारले तोकेकै मितिलाई आधार मानेर निर्वाचनको कार्यतालिका ल्याएको भन्दै सोहीअनुसार तयारी अघि बढाएको समेत प्रस्ट पारेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशका उच्च अदालत रहेका जिल्लाका जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय रहने र सोहीअनुसारको निर्वाचन कार्यतालिका आयोगले स्वीकृत गरिसकेको समेत स्पष्ट पारेको छ । आयोगले ७ माघमा मतदाता नामावली प्रकाशन गर्ने १० गते उम्मेदवारको मनोनयन दर्ता गर्ने र १५ माघमा उम्मेदवारलाई निर्वाचन चिह्न दिने र २४ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

उता, सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी सकेसम्म सहमतिबाट नै तोक्ने प्रयास जारी रहेका कारण ढिलाइ भएको बताएको छ ।  शुक्रबार नै प्रदेश प्रमुख र अस्थायी राजधानीबारे निर्णय लिने आफ्नै तयारीमा ब्रेक लगाउँदै सरकारले सकेसम्म दलीय सहमतिबाट नै प्रदेशको प्रमुख र अस्थायी राजधानी तोक्ने बताएको हो । श्रममन्त्री फरमुल्लाह मन्सुरले सरकारले दलीय सहमतिबाट नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने र केही तयारी बाँकी नै रहेकाले शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट सोबारे निर्णय  नभएको बताए ।
‘सकेसम्म सहमतिबाट नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको लक्ष्य हो । अझै पनि अनौपचारिक रूपमा एमाले र माओवादीका नेतासँग सोबारे छलफल भइरहेको छ । छिट्टै तोकिन्छ,’ मन्त्री मन्सुरले भने ।
सरकारले प्रदेश प्रमुख र राजधानीबारे विपक्षी गठबन्धनबाट नयाँ सरकार गठनपछि अवरोध आउन सक्ने र आफूले नियुक्त गरेका व्यक्ति हटाउन सक्ने सम्भावना देखेर सोबारे निर्णय गर्न नसकेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार सरकारले अस्थायी राजधानी तोक्ने विषयमा तयारी गरे पनि असहज अवस्था आएपछि विपक्षी गठबन्धन टाढिन खोजेको र सहमतिमा आउन नचाहेका कारण निर्णय गर्न ढिला भएको बताए ।