राष्ट्रिय सभा निर्वाचन एमालेको उम्मेदवार मापदण्ड तय

सुभाष साह / काठमाडौं

एमालेले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि मापदण्ड तोक्दै नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले उम्मेदवारको मापदण्ड तोक्दै ५ माघसम्ममा सिफारिस गर्न ७ वटै प्रदेश कमिटीलाई निर्देशन दिएको हो ।

एमाले सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि संविधानको धारा ८७ बमोजिम योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्ति हुनुपर्ने मापदण्ड तोकेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए ।

यसैगरी, भौगोलिक र सामाजिक सन्तुलनलाई समेत ध्यान दिएर उम्मेदवार सिफारिस गर्नुपर्ने प्रदेश कमिटीलाई एमालेले दिएको निर्देशनमा उल्लेख छ ।

प्रदेश कमिटीको सचिवालयले उम्मेदवार सिफारिस गर्दा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका नेतालाई सिफारिस गर्नुपर्ने हुन्छ ।

विभिन्न विषयमा विज्ञ तथा विशेषज्ञका रूपमा स्थापित नेतामध्येबाट उम्मेदवार सिफारिस गर्नुपर्ने एमालेले मापदण्ड बनाएको छ । एमाले सचिव ज्ञवालीले कुनै विषयको विज्ञ वा विशेषज्ञ हुनुपर्ने बैठकले तोकेको मापदण्डमा रहेको बताए ।

यसैगरी, बैठकले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलका सदस्यलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा प्रशिक्षण दिने व्यवस्था सम्बन्धित प्रदेश संगठन कमिटीले गर्नुपर्ने निर्देशनसमेत दिएको छ ।एमाले कार्यवाहक अध्यक्ष वामदेव गौतमको विशेष उपस्थितिमा सम्पन्न सचिवालय बैठकले केही दिनयता तराई–मधेसमा चलेको शीतलहरबाट ज्यान गुमाउने व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्काल न्यानो कपडा, दाउरा तथा आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
यसैगरी, केही दिनयता फैलिएको भाइरल ज्वरोबाट जाजरकोटमा कैयौं व्यक्तिको ज्यान गएको र धेरै गम्भीर बिरामी परेको स्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति बैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य टोली पठाउन तथा पर्याप्त औषधिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । शीतलहर तथा भाइरल ज्वरोबाट प्रभावित क्षेत्रमा पार्टीका तर्फबाट राहत उपलब्ध गराउन सम्बन्धित तहका पार्टी कमिटीहरूलाई तत्काल परिचालित हुन बैठकले निर्देशन दिएको छ ।