गुन्जियो नेपाली र जापानी धुन

राजधानी समाचारदाता / काठमाडौं

शुक्रबार साँझ राजधानीको जमलस्थित नाचघर नेपाली र जापानी सांगीतिक धुनमय भयो । दुई दशकभन्दा लामो समयदेखि जापानमा बसेर चौतारी ब्यान्डमार्फत बाँसुरी र तबलाको माध्यमबाट नेपाली गीतसंगीतको प्रवर्धन गर्दै आएका बाँसुरी वादक पञ्च लामा, तबला वादक श्रवण लामाले नाचघरमा सांगीतिक धुन प्रस्तुत गरेका हुन् ।

 सांस्कृतिक संस्थानद्वारा आयोजित ‘चौतारी साँझ–२०७४’मा यी दुई कलाकारसँगै जापानी कलाकार तेराकादो मित्सिगु गितारमा प्रस्तुत भएका थिए । यी तीन कलाकारको जुगलबन्दीले दर्शकलाई सम्मोहित तुल्याएको थियो । सो सांगीतिक कार्यक्रमबाट उठेको रकममा जापानमा कार्यक्रम गरेको रकम थपेर यो चौतारी साँझमा पञ्च र श्रवण लामाले १२ लाख रुपैयाँ सहयोग प्रदान गरे । सर्लाहीको हरिवन नगरपालिका–५ स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बाल गृहका लागि उनीहरूले सो रकम प्रदान गरेका हुन् । द्वन्द्वपीडित तथा अनाथ बालबालिकाहरूलाई शिक्षा दीक्षा दिँदै आएको यो संस्थालाई आफूहरूले विगतमा पनि यस्तै सहयोग गर्दै आएको यी दुईले जानकारी गराए ।

यी दुई कलाकार स्वयंले तयार गरेको नेपालका सुन्दर दृश्य समेटिएको नेपाली लोक संगीतयुक्त वृत्तचित्र ‘सुन्दर नेपाल’को प्रदर्शनसँगै ‘चौतारी साँझ–२०७४’ शुक्रबार साँझ सुरु भएको हो । कार्यक्रमको पहिलो प्रस्तुतिमा कार्यक्रममा पञ्च लामाले जापानमा बसेर आफूहरूले

दुई दशकदेखि नेपाली धुनहरू प्रत्यक्ष सुनाएको अनुभव बाँड्दै बाँसुरीमार्फत मनकामना धुन प्रस्तुत गरे । यसपछि उनलाई श्रवणले तबलामा साथ दिए । पञ्चको बाँसुरी र श्रवणको तबलामा चलेको जुगलबन्दीले दर्शकलाई उत्साहित तुल्यायो । यी दुई कलाकारको प्रतिस्पर्धामा दर्शकले निरन्तर तालीले साथ दिए । यसपछि‘जर्नी थ्रो द लाइट’ शीर्षकको सांगीतिक धुनमा श्रवण र पञ्चसँगै जापानी कलाकार तेराकादो मित्सिगु गितारमा प्रस्तुत भए । जापानी धुन ‘टोकियो नाइट धुन’ मा तेराकादोलाई श्रवण र पञ्चले साथ दिए ।  कार्यक्रममा उनीहरूले  १४ वटा धुन प्रस्तुत गरे ।