रानीपोखरी पुनर्निर्माण समितिद्वारा १० दिन समय माग

राजधानी समाचारदाता / काठमाडौं

रानीपोखरी पुनर्निर्माण विशेषज्ञ समितिले सार्वजनिक सुनुवाइका लागि समय नपुग भएको भन्दै थप १० दिन समय माग गरेको छ । रानीपोखरी पुनर्निर्माणमा विवाद उत्पन्न भएपछि गत १३ पुसमा पुरातŒव विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विशेषज्ञ समिति गठन गरिएको थियो । रानीपोखरीलाई मल्लकालीन शैली र सामग्री प्रयोग गरी पुनर्निर्माणका लागि प्रतिवेदन तयार पार्न समितिलाई १५ दिनको समय तोकिएको थियो । समिति सदस्य सचिव तथा काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले प्रतिवेदन तयार भइसकेको तर सार्वजनिक सुनुवाइ गर्न समय नपुग भएकाले १० दिन समय मागिएको जानकारी दिए ।

‘प्रतिवेदन लेख्ने काम सकिसकेको छ,’ शर्माले भने, ‘तर हाम्रो प्रतिवेदनलाई जनताबीच राखेर उहाँहरूको कुरा पनि सुनुवाइ गर्नुपर्ने भएकाले १० दिन समय माग गरेका छौं ।’ उनका अनुसार आगामी ३ माघमा राष्ट्रिय सभा गृहमा सार्वजनिक सुनुवाइ गरिनेछ ।

रानीपोखरी पुनर्निर्माण सम्बन्धमा सर्वसाधारणको माग समेट्न सार्वजनिक सुनुवाइ गर्न लागिएको हो । काठमाडौं महानगरपालिकाले रानीपोखरी पुुनर्निर्माणमा पुरातŒव मान्यताविपरीत सिमेन्ट र कंक्रिट प्रयोग गरिएको भन्दै सर्वसाधारणले विरोध जनाएपछि काम रोकिएको थियो ।

रानीपोखरी पुनर्निर्माणअघि विशेषज्ञ समिति बनाएर अध्ययन गरेर मात्रै कार्य अघि बढाउन सरकारले निर्देशन दिएपछि कार्की नेतृत्वमा समिति बनाइएको हो । पुनर्निर्माण प्राधिकरण, काठमाडौं महानगरपालिका र पुरातŒव विभाग तीनवटै सरकारी निकायबीचको बैठकबाट विशेषज्ञ समिति गठन गरिएको हो ।