प्रधानन्यायाधीश बचाउ पक्षमा बार

राजधानी समाचारदाता / काठमाडौं

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले डा. गोविन्द केसीको मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको छ । न्यायालयको बेथितिविरुद्ध निष्क्रियजस्तै रहेको बारले शुक्रबार विज्ञप्ति जारी गर्दै न्यायपालिकालाई दबाबमा पार्ने गरी अनशनलाई निरन्तरता नदिनसमेत डा. केसीलाई आग्रह गरेको छ ।

बार महासचिव खम्मबहादुर खातीले सार्वजनिक गरेको विज्ञप्तिमा बारले केसीको मागबारे सञ्चारमाध्यमबाट प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ । बारले अनशन र प्रधानन्यायाधीशमाथि राजीनामा माग गरेको विषयमा विज्ञप्तिमा चारवटा विषयवस्तु अघि सारेको छ ।

केसीले अघि सारेको माग गलत उल्लेख गर्दै त्यसमाथि आमस्तरमा भएको समर्थनलाई समेत ‘गलत’ भनेको छ । डा. केसीलाई साधारण तारेखमा छाड्ने निर्णयको स्वागत गर्दै उसले अब अनशन जारी नराख्न आग्रह गरेको छ ।

अनशन र वक्तव्यले स्वतन्त्र, सक्षम, उत्तरदायीपूर्ण न्यायपालिकाप्रति आँच आउने, अदालतप्रति जनआस्था घटाउने, संविधान, ऐन कानुन परिपालना नगर्नेजस्ता कामले प्रश्रय पाए गलत प्रक्रिया र पद्दति विकास हुने भन्दै बारले कुनै पनि न्यायाधीशबारे गुनासो भए न्यायपरिषद्मा उजुरी दिन पनि ध्यानाकर्षण गराएको छ ।

अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टीकाटिप्पणी गर्न पाइने भए पनि व्यक्तिगत लाञ्छना लगाउनु तथा अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको बारको ठहर छ । आफूअनुकूल आदेश नआउँदा प्रधानन्यायाधीशको राजीनामा माग्दै जाने हो भने प्रक्रिया र पद्दती विकास हुने बारको धारणा छ ।

‘कानुनी व्यवस्था परिपालना गरी स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारको दबाब र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा यस प्रकारका कार्य नगर्न अपिल गर्दछ ।’ बारले पराजुलीको नागरिकता, शैक्षिक प्रमाणपत्रलगातयतका कागजपत्र मगाएकोबारे भने बोलेको छैन ।