शिवम् न्यु डायमन्ड कप माघमा

काठमाडौं / रास– न्यु डायमन्ड एकेडेमीको आयोजनामा ‘शिवम् न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिता माघ २१ गतेबाट २३ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा हुने न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले जानकारी गराए ।

शिवम् सिमेन्टले न्यु डायमन्ड एकेडेमीलाई प्रतियोगिता आयोजना गर्न तथा अन्य सुविधाका लागि १ वर्षको लागि गत भदौमा मुख्य प्रायोजन गरेको थियो । सम्झौताअनुसार शिवम् सिमेन्टले न्यु डायमन्डलाई एक वर्षका लागि ८ लाख नगद सहयोग गर्नेछ । त्यसमा न्यु डायमन्डले आयोजना गर्ने एउटा प्रतियोगितामा शिवम् सिमेन्ट मुख्य प्रायोजकका रूपमा रहने उल्लेख भएको थियो । प्रतियोगितामा १३औं रेडबुल ढोरपाटन यूएम महिला डबल लिग भलिबल प्रतियोगिताका शीर्ष ६ टोलीले प्रतिस्पर्धा गर्ने प्रशिक्षक राईले जानकारी गराए ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार रुपैयाँसहित सिल्ड र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख १ हजार र तेस्रो हुनेले ५१ हजार तथा चौथो हुनेले २१ हजार प्राप्त गर्नेछ । यस्तै व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।