मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा

राजधानी संवाददाता / धनगढी

डिफेन्डिङ च्याम्पियन लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लब धनगढीमा जारी दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा शुक्रबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा अग्नि रूपन्देही–११ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । मनाङको जितमा भिक्टोर, विशाल राई र विमल रानाले गोल गरे । एक गोल आत्मघाती भएको थियो ।

एकपक्षीय बनेको खेलमा मनाङले १९औं मिनेटमा भिक्टोरको गोलमा अग्रता लिएको थियो । कप्तान अनिल गुरुङको पासमा भिक्टोरले सदुपयोग गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको मनाङले ५५औं मिनेटमा आत्मघाती गोलबाट अग्रता दोब्बर पा¥यो । रूपन्देहीका छिरिङ गुरुङले बल क्लियर गर्न खोज्दा बलले आफ्नै पोस्टको दिशा लिएको थियो ।

खेलको अन्त्यतिर एक मिनेटको अन्तरमा दुई गोल गर्दै मनाङले जित सहज बनाएको थियो । विशाल राईले ८३औं मिनेटमा गोल गरेलगत्तै विमल रानाले अर्काे गोल गर्दै टोलीको जित सुनिश्चित गरे । मनाङका भिक्टोर खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

जितपछि मनाङका प्रशिक्षक हेमन्त आलेले टिमको समन्वय राम्रो भएकाले सहज जित हात पार्न सकिएको बताए । प्रशिक्षक आलेले आर्मीविरुद्धको सेमिफाइनल बराबरीको हुने बताए । अग्नि रूपन्देही ११ का कप्तान दिलिप क्षत्रीले आफ्नै गल्तीले गोल खाँदा हार व्यहोरेको बताए ।

मनाङले अब शनिबार नै त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनल खेल खेल्नेछ । आर्मीले रुस्लान थ्री स्टारलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । अर्को सेमिफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब र नेपाल एपीएफ क्लबबीच आइतबार खेल हुनेछ ।

पुस २१ गतेबाट सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म चल्नेछ ।  प्रतियोगिताका विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५÷१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘ए’ डिभिजनका विभिन्न १२ क्लबको सहभागिता रहेको थियो ।