सेनाका दिनेशले तोडे १९ वर्षअघिको कीर्तिमान

राजधानी समाचारदाता / काठमाडौं

नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गतको २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १९ वर्षअघिको कीर्तिमानलाई भंग गरेका छन् ।

सेनाका दिनेशले १०५ केजी तौल समूहमा स्नाचतर्फ १२१ केजी भार वहन गर्दै १९ वर्षअघि मदन शिवभक्तिले आठौं साफ गेम्समा राखेको १२० केजीको कीर्तिमान भंग गरेका हुन् । क्लिन एन्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण जित्न सफल भए । उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार वहन गरे । स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङले १०० केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कांस्य जिते । नेपाल प्रहरीका सन्देश गुरुङले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कांस्य पाए ।

पोखराको उद्योग वाणिज्य संघको हलमा भएको च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङले १०५ केजी माथिको तौलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरे । । उनले स्नाचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार वहन गरे । दोस्रो स्थानमा नेपाल प्रहरीका राजीव महर्जन र ९५ केजी भार वहन गरे । कञ्चनपुरका सुभाष उपाध्यायले ८७ केजी भारका साथ स्नाचमा कांस्य जिते । पुकारले क्लिनमा १४० केजी र कुलमा २१५ केजी भार वहन गरे । क्लिनमा कञ्चनपुरका सुभाष उपाध्यायले १२० केजीका साथ रजत पाए । स्नाचमा दोस्रो स्थानमा रहेको प्रहरीका राजीव महर्जनले क्लिनमा ११८ केजीका साथ कांस्य जिते । कुलतर्फ प्रहरीका राजीवले २१३ केजीका साथ रजत र कञ्चनपुरका सुभाष उपाध्यायले २०७ केजीका साथ कांस्य हात पारे ।

प्रतियोगिताको तेस्रो दिन सेनाका सुरेन्द्र श्रेष्ठले ८५ केजी तौलमा स्वर्ण हात पारे । उनले स्नाचमा १०५, क्लिन एन्ड जर्कमा १२७ केजी गरी कुलमा २३२ केजी भार वहन गरे । नेपाल प्रहरीका गगन चन्दले स्नाचमा ९३, क्लिनमा ११७ केजी गरी कुलमा २१० केजी भार वहन गरे । चन्दले रजत पदक पाए । तेस्रो स्थानमा रहेका कञ्चनपुरका विशालसिंह बिष्टले स्नाचमा ८५, क्लिनमा ११५ गरी कुल २०० केजी भारका साथ कांस्य जित्न सफल भए ।

यस्तै पुरुषकै ९४ केजी तौलमा नेपाली सेनाका टहलबहादुर बसेलले क्लिन एन्ड जर्क र कुलमा स्वर्ण जित्न सफल भए । उनले क्लिनमा १२७ र कुलमा २१७ केजी भार वहन गरे । टहलले स्नाचमा रजत पाए । उनले स्नाचमा ९० केजीमात्र भार वहन गर्दै नेपाल प्रहरीका श्रीकृष्ण महर्जनलाई स्वर्ण सुम्पे । महर्जनले स्नाचमा १०० केजी भार वहन गरे । महर्जनले क्लिनमा ११० केजी र कुलमा २१० केजीका साथ रजत पाए । भक्तपुरका जयदी कोजुले कांस्य पाए । कोजुले स्नाचमा ८१ केजी, क्लिनमा ११० गरी कुल १९१ केजी भार वहन गरे ।

च्याम्पियनसिपमा नेपाली सेनाका कमलबहादुर अधिकारीले पुरुषतर्फको स्ट्रङगेस्ट र उत्कृष्ट लिफ्टर खेलाडीको उपाधि जित्न सफल भए । यस्तै महिलातर्फको स्ट्रङगेस्ट खेलाडीमा नेपाल प्रहरीकी तारादेवी पुन र उत्कृष्ट लिफ्टर खेलाडीमा नेपाली सेनाकी सञ्जु चौधरी रहे । विजयी प्रत्येक खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी राष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीहरूले पनि नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा सात राष्ट्रिय कीर्तिमान कायम भएको थियो । विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल, पूर्व उपाध्यक्ष सीताराम मास्के, नेपाल भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष रतनकुमार टन्डन, ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ, एसएसपी तथा खेलाडी अशोक सिंहलगायतले पुरस्कार वितरण गरेका थिए ।