मध्यमाञ्चललाई दोहोरो स्वर्ण

राजधानी समाचारदाता / काठमाडौं

राखेप च्याम्पियनसिप अन्तर्गत १५औं पुरुष तथा १४औं राष्ट्रिय बास्केटबल प्रतियोगितामा मध्यमाञ्चलले दोहारो स्वर्ण जितेका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा शुक्रबार भएको फाइनलमा मध्यमाञ्चलले महिला तथा पुरुष दुवैमा स्वर्ण हात पारेको हो ।

पुरुषमा मध्यमाञ्चलले त्रिभुवन आर्मी क्लबलाई तथा महिलामा मध्यपश्चिमलाई पराजित गर्दै दोहोरो स्वर्ण हात पार्न सफल भयो । महिलामा मध्यपश्चिममाथि सहज जित हात पार्दा पुरुषमा खेलमा पछि परेको स्थिति उल्ट्याउँदै उपाधि जित्न सफल भएको हो ।

तेस्रो क्वार्टरसम्म मध्यमाञ्चल लगातार पछि परिरहेको थियो । चौथो क्वार्टरमा उत्कृष्ट पुनरागमन गर्दै मध्यमाञ्चलले आर्मीमाथि ८०–७७ को साँघुरो जित निकाल्यो । मध्यमाञ्चलको जितमा विपिन महर्जनले सर्वाधिक १८ अंक जोडे । नेपाल प्रहरी क्लबले एपीएफ क्लबलाई ८८–७४ ले हराउँदै तेस्रो भयो । प्रहरीका सन्देश तामाङले २२ स्कोर गरे ।

महिलाको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ६३–४४ ले पाखा लगाउँदै उपाधि रक्षा ग¥यो । विजेता अनुषा मल्लले २२ अंक जोडिन् । आर्मीले तेस्रो स्थानमा चित्त बुझायो । आर्मीले पश्चिमाञ्चललाई ४१–२७ ले पछ्यायो । आर्मीकी लक्ष्मी चौधरीले १६ स्कोर गरिन् ।

विजेतालाई सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय बास्केटबल संघका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे . चारदिने प्रतियोगिताको पुरुषमा ८ र महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।