सोमतीर्थ र सुपा देउराली–९

सोमतीर्थ र सुपा देउराली–९

प्रा.डा. विष्णुराज आत्रेय

तिम्रो मात्र दोष छैन यसमा । दोष छ भने मेरो पनि छ । तर, म आफूलाई प्रायश्चितका भागी किमार्थ पनि मान्दिनँ । यसमा मुख्य दोषी त कुल गुरु हुन् । तिनी कत्र्तव्यच्यूत हुदाँको परिणाम हो, आजको मेरोे यो स्थिति । उपचार मूलको हुनुपर्दछ । शाखाको होइन । टाउकाको ओखती नाइटामा लगाई गर्नुहुँदैन,’ उनले अझ थपिन्,‘जहाँसम्म अहिले मेरो कुरा छ, मैले त प्रायश्चित गर्दिनँ । मलाई यो स्थितिमा ल्याउने बृहस्पति हुन् । प्रायश्चित गर्नुपर्छ भने उनै गरून् । मर्दका दसवटी होऊन् न, आपत्ति छैन । तर, नामर्द र अविवेकीको त एउटी पनि हुनुहुँदैन ।’ बीचमा कत्ति पनि नअड्की तारा पड्किन् कड्किँदै यसरी ।
सोम आत्रेयलाई यो कुरा पचेन ।
हामी यहाँ छौं । बृहस्पति देवलोकमा । यहाँबाट जति कराए पनि उहाँले सुन्नुहुँदैन । अतः मसँग तिमीले रातोपिरो हुनु व्यर्थ छ ।‘बरु मैले के प्रायश्चित गर्ने ? भन ?’ उनले सोधे ।‘हाम्रो देवलोकमा त सोमव्रत गर्ने चलन छ । गर्नु नै छ भने तिमीले पनि सोमव्रतद्वारा प्रायश्चित गर ।’ ताराले सल्लाह दिइन् ।
‘के हो यो सोमव्रत भनेको ?’ सोधे सोमले ।

सोमलता अमर लोककोे एउटा प्रसिद्ध र लोकप्रिय वनस्पति हो, अमरवल्ली । यसको पात पहिलो पन्ध्र दिनसम्म दिनको एउटा एउटा गर्दै बढ्दै जान्छ । अनि त्यसैगरी अर्को पन्ध्र दिनसम्म क्रमशः एक एक गरी घट्दै जान्छ । अनि सोमलता नांगै हुन्छ ।
त्यस्तै, तिमीले पनि पहिलो दिन सोह्र गाँस खाएर व्रत प्रारम्भ गर । त्यसपछि प्रत्येक दिन एक एक गाँस कम गर्दै त्यसलाई शून्यमा झार । यी दिनमा यसबाहेक अरू कुरा केही खानुहुँदैन । यसका साथै त्रिकाल स्नान–सन्ध्या, ब्रह्मचर्य, बाह्य व्यवहारबाट मुक्तिका लागि मौनव्रत, पूर्णतः चित्तवृत्ति निरोध आदि । यी सबै नियमको पूर्णतया पालन हुनुपर्छ । यसरी सोमव्रत गरेमा अपराधको प्रायश्चित हुन्छ ।
‘मलाई लाग्छ, मत्र्यलोकमा पहिलोपल्ट सदेह स्वर्ग आएको र पहिलैपल्ट सोमव्रत गर्ने व्यक्ति पनि तिमी नै हौला । तिम्रा पितामहले भविष्यमा सोमवल्ली जस्तै शक्ति र सामथ्र्य भएको होस् मेरो नाति भनेर तिम्रो नाउँ पनि सोम राखिदिएको हुन सक्छ,’ मुसुक्क हास्दै भनिन् ताराले ।
‘हाँसोे र ठट्टा गर्ने अवसर होइन यो । हुन्छ, म यो व्र्रत भोलिदेखि नै थाल्छु,’ सोमले भने ।

कुनै पनि कार्य प्रारम्भ गर्नुभन्दा पहिले त्यो काम ठीक बेठीक सत् असत् र उपकारी अनुपकारी के हो ? भन्नेबारे आफैं निक्र्योल गर्नुपर्छ । अनि त्यो काम नियमपूर्वक पूरा गर्ने संकल्प पनि लिनुपर्छ । त्यो कार्य थालेपछि सम्पन्न नगरुन्जेल विश्राम लिनुहुँदैन । तन्मे मनः शिवसंकल्पमस्तु ।
अर्को दिन बिहान शौच, स्नान गरेपछि पहिले सोमले सोमव्रतको संकल्प लिए । अनि आवश्यक नियम पूरा गर्दै व्रतकर्म थाले । मध्याह्नमा नुनिलो, अमिलो, पिरो, गुलियो नभएको विशुद्ध सात्विक अन्नको मात्र सोह्र गाँस खाए पहिलो दिन । अनि दोस्रो दिनदेखि क्रमशः गाँस घटाउँदै लगे । घट्दो गाससँगै उनको पाप शून्यमा झ¥यो । व्रतको पूर्वाद्र्ध सकियो, अब व्रतको उत्तराद्र्ध प्रारम्भ भयो । सोमले त्यसैगरी प्रतिदिन क्रमशः एक एक गाँस गर्दै आफ्नो आहार बढाउँदै लगे । एक–दुई दिनमै व्रतको प्रभाव देखिन थाल्यो । कान्तियुक्त हुन थाले उनी पहिलेजस्तै । व्रत पूर्ण भएपछि उनी उसैगरी चंगा भए ।

हामी त जे जस्ता भयौं, भयौं । हामीबाट जन्मिने बालकले चाहिँ गर्भैदेखि राम्रो संस्कार पाउनुपर्दछ भन्ने बारे ती दुवै जना साहै्र सचेष्ट थिए । यसका लागि सोम आत्रेय र ताराले गर्भस्थ शिशुमा नराम्रो प्रभाव नपरोस् भनेर आफूभित्र काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता विकृतिमा पूर्ण नियन्त्रण गरेका थिए । सधैं सधैं उनले तारालाई वेद एवं उपवेदहरूका आदर्श र अनुकरणीय कथा÷आख्यानहरू सुनाइरहन्थे । भु्रणका नजिकमा आएर उनले वेद–वेदांगका स्वाध्याय गरिरहन्थे । ताराका गर्भमा रहेको भुरो त्यो सबै सुनिरहन्थ्यो ।
जन्मिने सन्तानले राम्रो आँखा देख्ने हुनुपर्दछ । त्यो कानो वा अन्धो हुनुहुँदैन । उसको अनुहार र व्यक्तित्व तेजिलो र आकर्षक हुनुपर्दछ । त्यो लिखुरे र नराम्रो हुनुहुँदैन । उसले राम्ररी कान सुन्ने हुनुपर्दछ । ऊ बहिरो हुनुहुँदैन । यसका लागि सोम आत्रेय तारानिर गएरे गर्भस्थ शिशुले सुनोस् भनेर यो मन्त्र भनिरहन्थे—
सुचक्षा अहम् अक्षिभ्याम् भूयासम् । सुवच्र्चा मुखेन ।

सुश्रत् कर्णाभ्याम् भूयासम् ।एकदिन सोम कन्दमुल खोज्न वनमा गएका थिए । उनले एउटा ससानु जम्बूफल जस्तो आकारको कुनै एउटा फलको रूख देखे । त्यसका फल तीन थरी थिए । तीमध्ये एउटा हरियो थियो । यो प्रथम चरणको फल हो । त्यो खादाँ साह्रै अमिलो थियो । अर्को थरी फल गुलाफी रङको । यसको स्वाद गुलियो—अमिलो मिश्रित थियो । त्यसको तेस्रो किसिम थियोे, कालो । त्यो चाहिँ पूर्णतया गुलियो । सोमले रूखमा चढेर तीनै थरी फलको स्वाद चाखे । उनलाई साह्रै नै मन प¥यो त्यो फल । ताराका लागि पनि टिपेर लगिदिनुप¥यो भन्दै उनले त्यो फल एक–दुई माना जति टिपे । गुफामा ल्याएर उनलाई खान दिए । तीमध्ये केही दाना अमिला–अमिला, केही गुलिया–अमिला र केही गुलियै–गुलिया थिए । ती फल तारालाई पनि साह्रै स्वादिला लागे ।
‘यस अमिलोमा अलिकति नुन–खुर्सानी पनि मिसाउन पाएदेखि त अझ चटक्क र ट््वाक्क हुने थियो । तीनै थरी स्वाद लिन हुन्थ्यो, यसको ।’ ताराले भनिन् ।
‘किन नपाइनु छ र ?’ सोमले नुन र खुर्सानीको धुलो ल्याएर मिलाइदिए । झन् मीठो भयो त्यसको स्वाद † जिभ्रो चट्कार्दै खाइन् ताराले ।‘होइन, फल त खुवायौ सोम तिमीले । तर कुन वृक्षको फल हो ? भन्ने कुरा त थाहा भएन नि †’ ताराले भनिन् ।

‘मत्र्यमा पनि त सोम नाउँ प्रिय नै रहेछ । तिमी मनुवाको नाउँ पनि त सोम राखिदिए विधाताले,’ किन चुक्थिन् तारा पनि 

‘खोइ, यसको वृक्षको नाउँ त मलाई पनि थाहा भएन । त्यस वनमा फल टिप्ने र खाने मानिसका बगालै देखिन्थे । मैले पनि टिपें । चाखें । साह्रै मीठो लाग्यो ।अनि आफूले पनि टिपें । ल्याएँ । तर, मैले तिनलाई यसको नाउँ भने सोधिनँ,’ सोमले उत्तर दिए ।
‘नामै थाहा नभई त्यसै खाइयो त †’ फेरि बोलिन् तारा ।‘खाइयो त नि ? । सबैले खाने रहेछन् ।’ त्यसो भए अज्ञात नाम यस फलको नाउँ आजबाट सोमफल भयो । अनि त्यसको रूखको नाउँ पनि सोमवृक्ष । ‘हो, हो । ठीक नाउँ राख्यौ तिमीले सोमलता । सोम पेय स्वर्गमा । यहाँ सोम फल । स्वर्गमा सोम नाउँ साह्रै प्रिय छ,’ सोमले भने ।‘मत्र्यमा पनि त सोम नाउँ प्रिय नै रहेछ । तिमी मनुवाको नाउँ पनि त सोम राखिदिए विधाताले †’ किन चुक्थिन् तारा पनि ।
सोम आत्रेय हाँसे, ताराको कुरा सुनेर ।

‘हो त नि † त्यसै भएर त तिमीले बृहस्पतिलाई छोडेर पनि सोम रोज्यौ ?’ मौकामा चौका हाने सोम आत्रेयले ।केही दिनपछि वनमा घाँस–सोत्तर र दाउरा–पात लिन आउने मानिसहरूलाई सोध्दा त्यसफलको वृक्षको नाउँ त कट्फल हो भन्ने थाहा भयो त्यस दिनदेखि कट्फल र सोमफल दुवै शब्द काफलका पर्यायवाची भए । यसैगरी सोम आत्रेय र ताराका दिनहरू हाँसीखुसी बित्न थाले । उता, तारा र सोमले सदन छोडेर हिँडेपछि बृहस्पतिले ठूलो पश्चात्ताप गरे । उनलाई लाग्यो, ‘आफूले विवाह गरेर ल्याएकी आफ्नै पत्नीमाथि मैले उचित न्याय गर्न सकिनँ । ताराले भने एउटी पतिव्रता नारीले गर्नुपर्ने समस्त कत्र्तव्य पूरा गरेकी थिइन् । मबाट यसरी उपेक्षित भएर कति दिन बस्न सक्थिन् तिनी ? त्यसै सोमलाई टिपेर हिँडिन् ।’ ताराको अभावमा बृहस्पतिको घरबारैै खलबलिएजस्तो भयो । बृहस्पतिसदन शून्य भयो ।
सबैभन्दा गाह्रो त शुभालाई भएको थियो । उनी तारालाई नोकर्नीजस्तै गरी घरधन्धामा कज्याएर राख्थिन्, बँघुवा भैंसीझैं घरभित्रै कँुज्याएर । आफूचाहिँ रात–दिन फुक्का–फाल । उहिले लोग्नेको छायाजस्तै बनेर हिँड्ने गर्थिन उनी । अहिले तारा घरमा नहुँदा भने उनलाई घरको बन्धनले उस्तैगरी जकड्याएको थियोे । सधैं बृहस्पतिलाई ताराको खोजी गरेर उनलाई ल्याउनुप¥यो भनिरहन्थिन् शुभा ।‘जुन थालमा खायो, त्यसैमाथि फेहो¥याउने † कस्तो कृतघ्न रहेछ त्यो सोम । आफू त गयो गयो । उसकी बज्यैलाई पनि लिएर गयो,’ सोमप्रति खार छुटेको थियो उनलाई ।
राजगुरु बृहस्पतिको काम धार्मिक, सांस्कृतिक तथा दण्डनीतिसम्बन्धी समस्या आइलाग्दा देवराज इन्द्रलाई उचित सल्लाह दिनेबाहेक समय समयमा देवलोकमा आयोजित हुने राजकीय यज्ञमा आचार्यत्व गरेर त्यसलाई निर्विघ्न सम्पन्न गराउनु पनि हुन्थ्यो । यस्ता यज्ञमा यज्ञका आचार्य र आचार्य पत्नीको पनि एकसाथ वरण हुन्थ्यो । तारा बेपत्ता भएपछि उनलाई यज्ञमा एक्लै आचार्य हुन अप्ठ्यारो भएको थियो ।