पौडेलको कृति र व्यक्तित्व नियाल्दा

पौडेलको कृति र व्यक्तित्व नियाल्दा

विनायकप्रसाद धिताल

लेखनाथ पौडेल  (१९४१–२०२२) ले कविता गुनगुनाउने अभ्यास आफ्नो जन्मस्थल पोखरा उपत्यकाको कास्की जिल्लाको अघौंअर्चले गाउँबाट नै सुरु गरेका हुन् । प्रथमतः उनी गोठाले थिए । गोठाले जीवनदेखि नै गुनगुनाउन थालिएको कविता क्षेत्रलाई जीवनका विभिन्न कठिनाइको सामना गर्दै तथा प्रतिद्वन्द्वीहरूसँग वैचारिक पैठेजोरी खेल्दै निरन्तरता दिई नेपाली कविताको माध्यमिक काललाई तोड्दै परिष्कारवादी काव्य धाराको प्रतिष्ठापन गरी साहित्यिक काल विभाजनमा उनी लेखनाथीय युग नै निर्माण गर्न सफल भए । नेपाली कवितालाई आधुनिक युगको पहिलो प्रवेश गराएका उनले विश्व साहित्यको हाराहारीमा पुग्ने उच्च कोटिका कृति पस्किएर नेपाली साहित्य भण्डार लाई कुलीन र सम्पन्न बनाए ।

सामाजिक सचेतता, आध्यात्मिक चिन्तन शीलता, बौद्धिक परिपक्वता र प्रकृृतिको सौन्दर्यताले पूर्ण उनका छन्दोबद्ध मीठा कविताले प्रशंसित भई विद्धत मण्डली र ठूला साहित्यकारले पनि उनलाई गुरु मानेका र उनका कविता कृतिहरू सामान्य जनमानसले समेत मन पराएका हुँदा र उनको चिन्तनशील व्यक्तित्व सौन्दर्य युक्त कृतिहरूबाट अत्यन्त प्रभावित भएकै कारण उनलाई तत्कालीन राजा श्री ५ त्रिभुवनबाट २००८ मा कवि शिरोमणि पदले विभूषित गरेर विद्धताको कदरस्वरूप मासिक २ सय भत्ताको साथैै तत्कालीन नेपाल एकेडेमीको सदस्य पदमा आसीन गराए अनि २०११ मा नेपाली साहित्यका कवि तथा कवयित्रीहरू र लब्ध प्रतिष्ठित साहित्यकारहरूले उनको रथ यात्रा सम्पन्न गरी अभूतपूर्व कदर सम्मान गरे । रथ यात्रामा तत्कालीन प्रम मातृकाप्रसाद कोइराला, गण्य मान्य व्यक्ति, साहु महाजन, प्रहरी प्रमुख, सर्वसाधारण पुरुष महिला समेतले रथ तान्न सहभागी भई उनको प्रतिष्ठा बढाए । साथै दार्जिलिङका साहित्यकारले उनलाई कवि सम्राटको उपाधि दिए । काठमाडौंस्थित त्रिमूर्ति निकेतनमा उनको चित्र सजाएर राखियो भने विभिन्न ठाउँमा उनको नाउँबाट मार्ग र नगरपालिका नामकरण गरियो । सबै दृष्टिकोणबाट उनी नेपाली साहित्यिक आकाशका उज्ज्वल नक्षत्र नै हुन पुगे ।

लेख्नाथका सबै कृतिमा उल्लिखित भावना र चिन्तन प्रस्तुत गर्न यो सानो लेखमा सम्भव नहुँदा सत्यकलि संवादका धेरै विशेषता र चिन्तनबारे यो सीमित छ । उनको साहित्यिक यात्रा फाँटमा १९७२÷७६ को अवधिमा रचित काव्यमा सत्यकलि संवाद निकै रोचक र प्रभावकारी रहेको पाइन्छ । देश, समाज तथा परिवार विषम राजनीतिक, आर्थिक र सामाजिक स्थितिबाट गुज्रिरहेको र नैतिक पतनतर्फ उन्मुख भएकाले त्यसलाई हराउन सामाजिक सन्दर्भ, युगबोध र आदर्शलाई अघि सारी उनले आफ्नो सुधारवादी चिन्तन र आवाज देखाएका यो कृति निकै जागरुक छ । सामाजिक रुढी, विकृति र विसंगतिप्रति व्यंग्य कसेको र पुनर्जागरण तथा युगानूकुल शिक्षा, सामाजिक मूल्य मान्यता र राजनीतिक तहमा सुधार ल्याउन उक्साइएको पाइन्छ । सत्यकलि संवादमा सत्य कविको प्रतिनिधि पात्रका रूपमा देखा पर्दछ भने कलि त्यसको विरोधी ।

कवि भन्छन्, ‘विज्ञानको चमत्कारले उल्टो रूप लिँदा, परिवर्तन र सुधारको नाउँमा अनैतिकताले ठाउँ लिँँदा सत्य युगको ठाउँमा कलियुगले प्रवेश ग¥यो र युग अभिशप्त युगमा परिणत भयो । हिंसा, द्धेष, परस्परमा भेदभाव, राग तृष्णा, अहंकार बढ्दै गयो । विभिन्न अनैतिक धार्मिक संगठनहरू मैलाउँदै गए । वैज्ञानिक आविष्कारहरूको महŒवलाई मानिसहरूले गलत अर्थमा बुभ्mन थाले । यस्ता अनैतिक क्रियाकलाप मन पराउने व्यक्तिहरू हावी भए । राम्रा र नैतिकवान्मानिसहरूको केही जोड चलेन, तिनीहरू अल्पमतमा परेर पानी बाहिरका माछा जस्तै भए ।’

सत्यकलि संवादको प्रथम चरणमा सत्य युगको विशेषतामा त्यस युगमा लोभ पापरहित उच्च विचारका इमानदार व्यक्तिहरूको वर्चस्व र ऋषिमुनिहरूको प्रभावकारी अगुवाइ, उपस्थिति, सादा जीवन अँगालेर बसुधैव कुटुम्बकम्को मान मर्यादामा बसेका सामान्य जनहरू, आपसी प्रेम र सद्भावबाट सिञ्चित समाज आदिको वर्णनलाई प्रधानता दिएको पाइन्छ भने दोस्रो चरणमा हिंसा, हत्या, द्वेष, घृणा वैमनस्यता र वैज्ञानिक आविष्कार भएर पनि आविष्कारहरूलाई गलत अर्थमा लगाएका, तेस्रो चरणमा श्री ३ चन्द्र शमशेरको उदयमा नेपाली जातिले धार्मिक स्थिति, मठमन्दिर देवालयमा सुचारु रूपले व्यवस्थापन गरेको र चौथो चरणमा सत्य र कलि दाजुभाइ कुरा गर्दै जाँदा समय धेरै बितेको र वासस्थानमा पुग्न समय पर्याप्त नभएको जनाँउदा कविले वासस्थानको निमित्त चिन्ता लिन नपर्ने जनाई नेपालको उच्च महिमा देखाउन–

यै उच्च दिव्य तुहिना क्चल देखिपारी । कोल्टा महाँ मुलुक त्यो छ पवित्र भारी ।

हेर्नू हवस यसमाथि चढी हजूर । गुहेश्वरी पशुपति प्रभुको गजूर ।।

भन्दै नेपाल वासस्थानका लागि उत्तम भएको वर्णन पाइन्छ ।

लेख्नाथको सत्यकलि संवादको प्रसंगमा अर्काे रमाइलो पक्ष के छ भने यही विषयवस्तुमा आधारित भएर महाकवि देवकोटाले ‘नयाँ सत्यकलि संवाद’ रचना गरे । तर, यसले लेखनाथको ठीकविपरीत कलि युगको पक्षमा वहस पैरवी गर्दछ । अर्थात् कलियुग नवीनताको समर्थन गर्दछ । पुरातन विचार, चिन्तन र शैलीको विरोध गर्दछ । नयाँ सत्यकलि संवादको  सुरुवातमै  यस्तो छ–

लाएर चन्दर पुरातन तीन धर्के । बोके समान अति बुज्रुक सत्य फर्के ।।

आफ्ना गुफातिर जसै, बहुतै निराश । भेट्दा भए कलि समुज्जल उत्प्रकाश ।।

अग्रगामी समाजको परिकल्पना अग्रगामी सोचबिना हुन सक्तैन । मात्र, जप, गरेर र पौराणिक ग्रन्थहरू च्यापेर हिँड्ने हो भने समाज झन्झन् रुढी ग्रस्त बन्दै जान्छ र अकर्मण्यता पूर्ण क्रियाकलापहरू तर्फ धकेलिन्छ । यसतर्फ बेलैमा सचेत हुँदै नवीन विचार र दृष्टिकोणलाई अँगाल्न पर्दछ । तब मात्र समाज र राष्ट्रले निकास पाउँछ र जमेको पानीको पीडा भोग्नुपर्दैन । देवकोटाको नयाँ सत्यकलि संवादले यस्तै नवीन दृष्टिकोण प्रस्तुत गर्दछ । पुराना पाखण्डी विचार क्रियाकलापहरूको निन्दा र आधुनिक युगका विचार र कार्यहरूको स्वागत गर्दछ । तर, यो लेखनाथको जस्तो सरल र सरसपूर्ण भने छैन ।

अब पुनः लेखनाथमा नै फर्कदा आफ्ना कृति कविता जस्तै लेखनाथको शारीरिक आकृति मुहार निकै आकर्षण युक्त थियो । चन्दन र रातो टीका लगाइएको चौडा निधार, सफासँग कोरिएको लामो सेतो दारी, कपाल, मसिनो फ्रेम भएको चस्मा, हातमा लठ्ठी, प्रायः लामो शेरमानी (कोट) मा सजिएको हँसिलो अनुहार उनको परिचय थियो । अब कौतहूल तथा जिज्ञासा उठ्दछ– लेखनाथले किन र कहिलेदेखि दारी पालेका होलान् त ? लेखनाथलाई गुरु मान्ने राष्ट्र कवि माधवप्रसाद घिमिरेको भनाइमा लेखनाथले दारी पालेको कसैले सन्काइदिएर हो । भारतका प्रसिद्ध कवि रवीन्द्रनाथ ठाकुरका कृति ‘गीताञ्जली’ निकै उत्कृष्ट हुँदा विश्व विख्यात नोबल पुरस्कार पाएको उक्त कृति र अन्य भारतीय पत्रिकाहरू नेपालमा पनि पढ्न पाउँदा रवीन्द्रनाथले लामो दारी र कपाल पालेका तस्बिरहरू किताब पत्रिकाहरूमा देखिइँदा उनको विशेष चर्चा र मान्यता काठमाडौंमा हुँदा कुनै रसिकले उताका रवीन्द्रनाथ र यताका लेखनाथ बराबर नै हुन् भनी तुलना गरिदिँदाका कारण लेखनाथले दारी पालेको अनुमानको उल्लेख पाइन्छ र यस अनुमानलाई अन्यथा लिन मिल्दैन । यसको अतिरिक्त प्रमुख कारण चाहिँ लेखनाथमा आध्यात्मिक, वेदान्तिक, निष्ठाकर्म धेरै हुँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘लक्ष्मी निबन्ध संग्रह’ मा लेखनाथलाई ‘दुब्लादुब्ला, अग्लाअग्ला र पोसाकभन्दा आध्यात्मिक विषयमा ज्यादा ध्यान राख्ने प्राचीनका स्पष्ट तथा पुजारी, धोती र भोटोको साथ पूर्वको झ्यालनेर बिच्छयाएको लम्पटमा बसेका र साधापन तडक झडक रवाफभन्दा स्थितिसँगै गरेको घरजम बेस हुन्छ भन्ने जस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो,’ आदि शब्द वाक्यांशहरूबाट लेख्नाथले आफ्नै घरको पूर्वतर्फको झ्यालनेर बिच्छयाएको लम्पटमा बसेका दृश्यलाई देवकोटाले पूर्वीय दर्शनको प्रतिनिधि पात्रको लाक्षणिक अर्थमा लेखनाथको आध्यात्मिक दर्शनको पक्षघरका रूपमा चित्रण गरे । अध्यात्मवादलाई समर्थन गर्ने पूर्वीय ऋषिमुनिहरू दारी पालेर नै आफ्नो निष्ठा जनाउँथे । ऋषिहरूको जस्तो प्रभाव र आस्था लेखनाथमा हुँदा उनले पनि दारी पालेका हुन् भन्ने देवकोटाको भनाइ विश्वसनीय र बलियो तर्कको आधार हो भन्न ठोकुवा गर्न सकिन्छ ।

प्रतिभाशाली व्यक्तिले नै अर्काे प्रतिभा बुभ्mन र कदर गर्न सक्छन् भन्ने कुराको यो प्रमाण हो । कुनै एकपटक उनै देवकोटाले कविहरूको बखान गर्न ‘छोइ दिल्लगी’ शीर्षकमा लेखनाथ, सम, सिद्धिचरण श्रेष्ठ, भिक्षु आदिको स्वभाव, प्रवृत्ति र शारीरिक अवस्थालाई छुने किसिमले आफ्नो भावना व्यक्त गर्दा लेखनाथलाई यसरी उभ्याएका थिए–

लठ्ठी लिईकन ठमाठम चालवाला । बूढा भएर दहरा तपसी उज्याला ।। त्यै ता भन्या बुभ्mनु भेनमुठी –प्रवन्धि । छन मिष्ट इष्ट उपदेश कला सुगन्धि ।।

मुख्यतः लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, श्यामदास वैष्णव समेतको बुझाइमा वैदिक परम्परा र सच्चरित्र अँगालेका आध्यात्मिक शोच, निष्ठा, सात्विक चरित्रका प्रतिविम्ब नै देखिने लेखनाथको दारु, जुँगा, कपालको रहस्य ऋषिमुनिहरूको प्रभाव हो भन्नेमा विश्वस्त थिए । त्यसमा थोरै फरक भनाइ चाहिँ वसन्तकुमार शर्माको पाइन्छ । सजिएर हिँड्ने सोखमा पहिला पहिला लामो कपालमा टोपी लगाउने र पछि बिनाटोपी पनि हिँडेका, दौरा सुरुवाल कोट पहिरिँदा कोटमा काँगियो कैँचीसमेत राखेका र उनको मोटरसाइकलमा सवारी सुविधा (लिफ्ट) लिँदा सवारीसाधन रोकिएको ठाउँमा लेखनाथ कैंची काँगियोले दारी जुँगा मिलाउँथे भन्ने शर्माको भनाइ पाइन्छ । कुनै बखत शर्मा लेखनाथको आलोचन भएर भीम शमशेरकी रानीलाई पढाउने गुरु हुँदा रसिक भावना देखाउने कारणले दारी पालेका हुन भन्ने बेग्लै लेखनाथको साहित्यिक कद हिमालझंैउँचो रहेकोमा गर्व गर्छन् ।

अब यस लेखलाई यसरी बिट मारौं, लेखनाथलाई साहित्यका कुँवेर भनेर चिन्नै पर्छ । राणाकालीन जमानामा धेरै साहित्यकारले आप्रवासी जीवन र कसैले जेल जीवन नै बिताउन र कसैले जेलमा नै मृत्यु वरण गर्न प¥यो, मृत्युवरण गर्नेमा लेखक सुब्बा कृष्णलाल अधिकारीको ‘मकैको खेती’ शीर्षक कृतिमा अधिकारीका विरोधी तथा छुल्याहाहरूले राणाहरूको गाथगादि ताक्ने बोली लेखिएको छ भनी पोल लगाइदिँदा अधिकारीले जेलमा नै बस्दा मृत्यु वरण गरेको उल्लेख पाइन्छ । लेखनाथले पनि राणा शासनलाई तिखो व्यंग्य कसेर ‘पिँजडाको सुगा’ कृतिमा सुगालाई देशवासीको प्रतिनिधि पात्र बनाई ‘गुणको वैरी मानुष जाति, शुष्क गराई गुणीको छाति÷प्राण पखेरु नलिए सम्म, खुस किन हुन्थ्यो हाय अचम्म’ लेखेर तत्कालीन शासकप्रति व्यंग्य कसेकै हुन् ।